नेपाल सम्वत् ११४६, कछलाथ्वः १४, चर्तुदशी (१८ कार्तिक, २०८२, ४ नोभेम्वर, २०२५) मंगलबार, बाँपिझ्याला । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड दुई महिनासम्म एकतर्फी रूपमा सञ्चालन हुने भएको छ। नारायणघाट–बुटवल सडक विस्तार गर्नुका साथै उक्त खण्डमा कल्भर्ट निर्माण गर्नुपर्ने भएकाले एकतर्फी रूपमा सञ्चालन गर्न लागिएको हो।
सडक विभागअन्तर्गतको आयोजना निर्देशनालयले सोमबार सूचना जारी गर्दै दाउन्ने खण्डमा कल्भर्ट निर्माण गर्नुपर्ने भएकाले सो कार्य सम्पन्न नहुञ्जेलसम्मका लागि एकतर्फी सडक बन्द गर्न लागिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए। उनका अनुसार यस खण्डमा कल्भर्ट निर्माण तीव्र गतिमा भइरहेको छ।
दाउन्नेमा विगत केही दिनदेखि यातायात सञ्चालनमा समस्या हुँदै आएको छ । केही दिनअघिको झरीका कारण सडक चिप्लो र हिलो हुँदा उकालोमा सवारी उक्लिन नसकेर यातायात सञ्चालनमा समस्या हुँदै आएको प्रहरी उपरीक्षक खड्काले बताए।
अझै पनि उक्त खण्डमा सहज रूपमा यातायात सञ्चालनमा समस्या हुँदै आएको भन्दै उनले आगामी दिनमा पानी पर्ने बित्तिकै समस्या सिर्जना हुने अवस्था रहेकाले आयोजनाले कल्भर्ट निर्माण अवधिसम्म एकतर्फी सडक सञ्चालन गर्ने उहाँले जानकारी दिए।
दाउन्ने खण्ड प्रयोग गर्दा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरी उपरीक्षक खड्काले सबैलाई अनुरोध गरे । सडकको अवस्था बुझेर अवरोध भएका खण्डमा वैकल्पिक बाटो प्रयोग गर्न उनले यात्रुलाई अनुरोध गरे। दाउन्ने खण्डमा सधैँ जसो सवारीको जाम लाग्ने गरेकामा एकतर्फी हुँदा थप समस्या हुने यात्रुको गुनासो छ। यथाशीघ्र काम सम्पन्न गरी सडक सहज बनाउन लाग्नुपर्ने यात्रुको सुझाव छ।
सडक अवरोध भएको अवस्थामा सवारीसाधन नारायणगढ–मुग्लिङ–पोखरा–स्याङ्जा–पाल्पा–बुटवल वा गैँडाकोट कालीगण्डकी चोक–रामपुर–पीपलडाँडा–पाल्पा–बुटवल तथा मोटरसाइकल तथा साना चारपाङ्ग्रे सवारीले दुम्किबास–डाँडाजोर–डमार हुँदै भुताहाको मार्ग प्रयोग गर्न सक्ने प्रहरी उपरीक्षक खड्काले जानकारी दिए।
नारायणगढ–बुटवल सडक विस्तारको काम सुरु भएदेखि दाउन्ने खण्डको यात्रा कष्टकर हुँदै आएको छ। अन्य क्षेत्रमा सडक विस्तारको काममा प्रगति भए पनि दाउन्ने क्षेत्रमा पहाड काट्ने, नाला तथा कल्भर्ट निर्माणमा ढिलासुस्ती हुँदा आवागमन समस्या हुनुका साथै यात्रुले सास्ती खेप्दै आएका छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij