नेपाल सम्वत् ११४६, यंलागाः ४, चौथी (१४ असोज २०८३, ३० सेप्टेम्वर, २०२६) बुधबार बाँपिझ्याला । पाँच दिनसम्म लगातार परेको वर्षा रोकिएर मंगलबारदेखि घाम लाग्न थालेसँगै मौसमविद्हरूले फेरि वर्षाको सम्भावना रहेको बताएका छन्। मौसमविद्का अनुसार आगामी आइतबारदेखि केही स्थानमा वर्षा हुनसक्ने भए पनि यसपटक पछिल्लो समयजस्तो लगातार र भारी वर्षा हुने सम्भावना भने देखिएको छैन।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार मनसुन पूर्ण रूपमा बाहिरिन बाँकी रहेको अवस्थामा सामान्य वर्षा हुनु स्वाभाविक हो। आगामी आइतबारदेखि हुने वर्षा कुनै ठूलो मौसमी प्रणालीका कारण नभई स्थानीय वायुको प्रभावबाट हुने सम्भावना रहेको उनले बताए।
उनका अनुसार स्थानीय वायुको प्रभावले विशेषगरी पहाडी भूभागमा छिटपुटदेखि हल्का वर्षा हुनसक्छ। केही मौसमी मोडलले मध्यम वर्षाको सम्भावनासमेत देखाए पनि तराई क्षेत्रमा वर्षाको सम्भावना निकै कम रहेको उनको भनाइ छ।
‘स्थानीय वायुको प्रभावले मुख्यगरी पहाडी भूभागमा हल्का वर्षा हुने देखिएको छ। पछिल्लो पटकजस्तो लगातार र भारी वर्षा गराउने ठूलो मौसमी प्रणाली अहिले छैन,’ मौसमविद् अर्यालले बताए।
वर्षाको सम्भावना रहे पनि धान भित्र्याउने तयारीमा रहेका किसानहरूले तत्कालै ठूलो चिन्ता लिनुपर्ने अवस्था नरहेको उनले बताएका छन्।
नेपालबाट सामान्यतया अक्टोबर २ आसपास मनसुन बाहिरिने मानिन्छ। यद्यपि हरेक वर्ष यही मितिमा मनसुन बाहिरिन्छ भन्ने निश्चित हुँदैन। मौसमको अवस्था अनुसार केही दिन अगाडि वा पछाडि मनसुन बाहिरिन सक्छ।
यस वर्ष पनि मनसुन बाहिरिने आधारहरू क्रमशः तयार हुँदै गएको मौसमविद् अर्यालले बताएका छन्। अहिले पश्चिमबाट आउने वायु क्रमशः बलियो बन्दै गएको छ। यसले नेपालमा प्रभाव पारिरहेको पूर्वबाट आउने मनसुनी वायुलाई कमजोर बनाउँदै लैजाने भएकाले मनसुन बाहिरिने प्रक्रिया अघि बढिरहेको उनको भनाइ छ।
उच्च वायुमण्डलमा करिब १५–१६ किलोमिटर माथि बहने ‘जेट स्ट्रिम’ पनि मनसुन बाहिरिने प्रक्रियामा महत्वपूर्ण हुन्छ। अहिले जेट स्ट्रिम क्रमशः दक्षिणतर्फ सर्दै नेपालतर्फ आउने क्रममा रहेकाले पश्चिमी वायु थप प्रभावशाली बन्न थालेको मौसमविद्हरूले बताएका छन्।
मौसमविद् अर्यालका अनुसार असोज १६–१७ गतेतिर केही स्थानीय न्यूनचापीय प्रणाली विकास हुनसक्ने भएकाले पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुनसक्छ।
त्यस अवधिमा पश्चिमी वायु केही समय कमजोर भए पनि त्यसपछि पुनः बलियो हुने संकेत देखिएको छ। असोज १७–१८ गतेपछि पश्चिमी वायु बलियो हुँदै जाँदा मनसुन बाहिरिने प्रक्रिया थप तीव्र हुने उनको भनाइ छ।
उनका अनुसार अबको पाँचदेखि १० दिनभित्र नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिने सम्भावना छ।
मनसुन बाहिरिएपछि पनि वर्षा पूर्ण रूपमा रोकिने भने होइन। स्थानीय मौसमी प्रणाली तथा पश्चिमी वायुको प्रभावले विशेषगरी पहाडी क्षेत्रमा कतैकतै बादल लाग्ने र छिटपुट वर्षा हुनसक्छ। तर अहिले देखिएको अवस्था पछिल्लो पटकजस्तो ठूलो र व्यापक वर्षा गराउने प्रणाली भने नभएको मौसमविद्हरूको भनाइ छ।
दसैंका बेला मौसम कस्तो होला भन्ने चासो बढिरहेका बेला मौसमविद् अर्यालले हालसम्मको मौसमी अवस्थाअनुसार यसपालिको दसैंमा पछिल्लो समयजस्तो ठूलो वर्षा हुने संकेत नदेखिएको बताएका छन्।
यद्यपि दसैं आउन अझै केही समय बाँकी रहेकाले मौसमको अवस्था निरन्तर अध्ययन गरेर थप पूर्वानुमान गरिने उनले बताए। सामान्यतया तीन–चार दिनअघिको मौसम पूर्वानुमान बढी भरपर्दो हुने भएकाले दसैंका लागि पनि नजिकिँदै जाँदा विशेष पूर्वानुमान तथा आवश्यक सूचना जारी गरिनेछ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलका अनुसार पनि आइतबारदेखि करिब चार–पाँच दिनसम्म हल्का वर्षाको सम्भावना छ। उनका अनुसार वर्षा देशभर एकैपटक र समान रूपमा हुने छैन। पूर्वी नेपालदेखि काठमाडौंसम्म वर्षाको सम्भावना तुलनात्मक रूपमा बढी भए पनि पश्चिमी क्षेत्रमा भने कम सम्भावना देखिएको छ।
यसले आगामी दिनमा केही स्थानमा हल्का वर्षा भए पनि तत्कालै अर्को ठूलो वर्षाको चक्र सुरु हुने अवस्था नरहेको संकेत गरेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij