Oct 01 2026 | २०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

दसैंमा नयाँ नोट साट्ने चलनदेखि एटिएमसम्म : बदलिँदै नगद व्यवस्थापनको शैली

दसैंमा नयाँ नोट साट्ने चलनदेखि एटिएमसम्म : बदलिँदै नगद व्यवस्थापनको शैली

नेपाल सम्वत् ११४६, यंलागाः ४, चौथी (१४ असोज २०८३, ३० सेप्टेम्वर, २०२६) बुधबार बाँपिझ्याला । दसैं–तिहारमा नयाँ नोट साट्न अब विगतमा जस्तो निश्चित मिति कुर्नुपर्ने छैन। नेपाल राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणलाई आवश्यकता अनुसार निरन्तर नयाँ तथा सुकिला नोट सटहीको सुविधा दिने भएका छन्।

राष्ट्र बैंकका अनुसार यस वर्ष नयाँ नोटको मौज्दात पर्याप्त रहेकाले सर्वसाधारणले आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखाबाट आवश्यकता अनुसार एक–दुई सेटसम्म नयाँ नोट साट्न सक्नेछन्। राष्ट्र बैंकको थापाथलीस्थित कार्यालयबाट समेत नोट सटही गर्न सकिनेछ।

विगतमा दसैंअघि राष्ट्र बैंकले निश्चित मिति तोकेर नयाँ नोट वितरण गर्दै आएको थियो। नयाँ नोट लिन सर्वसाधारणको लामो लाइन लाग्ने र बैंक तथा वित्तीय संस्थाका शाखामा समेत भीड बढ्ने गरेको थियो। तर यस वर्ष त्यस्तो विशेष कार्यक्रम नराखी आवश्यकता अनुसार निरन्तर सटही सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको छ।

दसैंमा नयाँ नोट साट्ने चलन कसरी सुरु भयो ?

दसैंमा नयाँ नोट साट्ने परम्परा आजको मात्रै होइन। यसको इतिहास झन्डै आठ दशकअघिसम्म पुग्छ। नेपालमा नेपाली मुद्राको प्रचलन विस्तार गर्ने राज्यको तत्कालीन नीतिसँग यो परम्परा जोडिएको पाइन्छ।

राणा प्रधानमन्त्री जुद्धशमशेरले २००२ असोज १ गते अध्यादेश जारी गरेपछि सदर मुलुकी खानाबाट नेपाली नोट जारी गर्ने व्यवस्था भएको थियो। त्यसपछि ५, १० र १०० रुपैयाँका नेपाली नोट छापिएर चलनचल्तीमा आएका थिए।

तर त्यतिबेला नेपाली नोटको प्रयोग काठमाडौं उपत्यका र केही पहाडी जिल्लामा मात्र सीमित थियो। दैनिक कारोबारदेखि सरकारी कामकाजसम्म भारतीय मुद्रा बढी प्रचलनमा थियो। नेपाली मुद्राको प्रयोग विस्तार गर्ने उद्देश्यले २०१३ साल वैशाखमा नेपाल राष्ट्र बैंक स्थापना भएपछि मुद्रा व्यवस्थापनले नयाँ गति लियो।

नेपाल राष्ट्र बैंकले २०१६ फागुन ७ गते पहिलो पटक १, ५, १० र १०० रुपैयाँका नोट जारी गरेको थियो। त्यसपछि सरकारले २०१७ साल जेठदेखि मुलुकभित्रको कारोबारमा नेपाली मुद्राको प्रयोगलाई प्राथमिकता दिने निर्णय गर्‍यो। यही समयदेखि दसैंमा नयाँ नोट साट्ने अभ्यासले पनि निरन्तरता पाउँदै गएको मानिन्छ।

दसैंमै किन नयाँ नोट ?

दसैं–तिहारमा आर्थिक कारोबार र उपभोग बढ्ने भएकाले यो समयमा नयाँ नेपाली मुद्रा सर्वसाधारणको हातमा पुर्‍याउँदा मुलुकभित्र नेपाली मुद्राको प्रयोग विस्तार हुने अपेक्षा गरिएको थियो।

समयसँगै दसैंमा टीका लगाउँदा दक्षिणा दिने तथा परिवार र आफन्तबीच पैसा साटासाट गर्ने संस्कारसँग नयाँ नोटको प्रयोग जोडिँदै गयो। त्यसपछि नयाँ नोट साट्ने परम्परा आर्थिक व्यवस्थापनको विषयबाट विस्तारै दसैंको सांस्कृतिक अभ्यासकै रूपमा स्थापित भयो।

चाडपर्वमा नोटको आयु किन छोटिन्छ ?

दसैं–तिहारमा नगद कारोबार र पैसाको प्रत्यक्ष आदानप्रदान बढ्ने भएकाले नोट चाँडै मैलिने, च्यातिने र प्रयोग गर्न अयोग्य हुने गर्छन्। विशेषगरी साना दरका नोटको प्रयोग बढी हुने भएकाले तिनको आयु तुलनात्मक रूपमा छोटो हुन्छ।

राष्ट्र बैंकले चलनचल्तीका लागि अयोग्य भएका नोटलाई नष्ट गर्दै आएको छ। पछिल्लो समय पुराना नोटबाट ब्रिकेटसमेत बनाएर प्रयोग गर्ने अभ्यास अघि बढाइएको छ।

राष्ट्र बैंकका अनुसार ५ र १० रुपैयाँका नोटको औसत आयु करिब तीन वर्ष रहने गरेको छ भने ५०० र १ हजार रुपैयाँका नोटको आयु तुलनात्मक रूपमा करिब पाँच वर्षसम्म रहने गरेको छ।

नोटको संरक्षणका लागि राष्ट्र बैंकले नोट नच्यात्न, नकोर्न र नजलाउन आग्रह गर्दै आएको छ। नोट बिगारेमा कानुनअनुसार कारबाहीको व्यवस्थासमेत रहेको छ।

अब ‘नयाँ नोट’ भन्दा ‘सुकिला नोट’मा जोड

पछिल्ला वर्षहरूमा राष्ट्र बैंकले दसैंमा ठूलो परिमाणमा नयाँ नोट वितरण गर्नुको सट्टा सुकिला तथा चलनचल्ती योग्य नोटको प्रयोगलाई समेत प्राथमिकता दिन थालेको छ।

यस वर्ष पनि यही नीतिअनुसार आवश्यकता अनुसार नयाँ तथा सुकिला नोट साट्ने व्यवस्था गरिएको हो। यसले राष्ट्र बैंक तथा बैंकका शाखामा हुने अनावश्यक भीड व्यवस्थापन गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अर्कोतर्फ, यस वर्ष १०० रुपैयाँ दरका नोट एटिएमबाटै निकाल्न सकिने व्यवस्था विस्तार गर्ने तयारी गरिएको छ। हाल अधिकांश एटिएममा ५०० र १ हजार रुपैयाँका नोट उपलब्ध हुने गरेकामा १०० रुपैयाँका नोटसमेत एटिएमबाट निकाल्न सकिने भएपछि दसैंमा साना दरका नोटको माग व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ।

चलन उही, तर तरिका बदलिँदै

दसैंमा नयाँ नोट साट्ने परम्परा हराएको छैन, तर सर्वसाधारणसम्म नयाँ तथा सुकिला नोट पुर्‍याउने तरिका भने समयसँगै परिवर्तन हुँदै गएको छ।

पहिले राष्ट्र बैंकले निश्चित समय तोकेर ठूलो संख्यामा नयाँ नोट वितरण गर्ने गर्थ्यो। त्यसपछि सुकिला नोटको प्रयोगलाई प्राथमिकता दिन थालियो। अहिले बैंकका शाखासँगै एटिएमबाट समेत साना दरका नोट उपलब्ध गराउने तयारी भइरहेको छ।

यसरी दसैंमा नयाँ नोट साट्ने परम्परा केवल चाडपर्वको रहर मात्र नभई नेपाली मुद्राको इतिहास, नगदको माग, बैंकिङ प्रणालीको व्यवस्थापन र नेपाली समाजको सांस्कृतिक अभ्याससँग जोडिएको लामो परम्परा बनेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार