प्रा.डा.श्याम जोशी
अहिले बेला बेलामा याद आउँछ – बाल्यकालमा म गीत गुनगुनाउंदै खाना खान पिर्कामा बसेको देखेर मुमा भन्नु हुन्थ्यो – “ यो केटा ठुलो भएपछि गाइने पो हुन्छ कि के? खाना खाने बेला पनि गीत गाउँछ “।
हो, मलाई सानु बेला देखिने गीत गाउने शोख थियो । गीत गाउनमा बाल्यकाल देखि नै माहिर थिएँ । छ/ सात वर्षतिर नै मैले आफ्नो घरको पेटीमा बसेर पुर्व तिरको बजार तिर हेरेर ठूलो ठूलो स्वरले गीत गाइरहने र सो सुनेर केही शिक्षकले मलाई माथिल्लो स्कूलको कार्यक्रममा गाउन लग्दा कहिले पनि घरबाट बाहिर नगएकोले आत्तिएर मैले गाउन नसकेर त्यतिकै फर्काएर ल्याएको कुरा मलाई स्मरण हुन्छ ।
पिकनिक, बिबाह, शैक्षिक भ्रमण आदिमा गीत गाएर मानिसहरूलाई लट्ठ पार्ने गर्थें । मैले त्रि.वि. कीर्तिपुर क्याम्पस विद्यार्थी युनियनले २०२९ सालको त्रि.बि दिवसको अवसरमा आयोजना गरेको साँस्कृतिक कार्यक्रममा उसबेलाका चर्चित गायक रमेश ताम्राकार संग त्रि.विको हलमा र २०३१ सालको चैत्र दसैंमा बागलुङको एक पुस्तकालयको सहयोगको लागि आयोजना गरेको ‘सरोज गोपाल नाईट’ मा उसबेलाका अर्को चर्चित गायक सरोज गोपाल संग बागलुङको एक हलमा गीत गाउने अवसर पाएको थिएँ ।
दोलखामा छायाँ परिवारले प्रदर्शन गरेको मिसामी नाटकका चार गीत मध्य तीन गीत मैले नै गाएको थिएँ । लय हिन्दी गीतबाट प्रभावित देखिए पनि शब्दहरू नाटकको कथावस्तु संग मिलाएर आफैले रचेको थिएँ । विद्यार्थीहरु लाई भारतको शैक्षिक भ्रमण लागेको बेला २०३३ सालमा दिल्ली बाट बनारस जाने बेला रेलको एउटा कम्पार्टमेन्टमा संयोगले हामी र दिल्लीमा फुटबल प्रतियोगिता बाट फर्केका नेपाली विद्यार्थीहरु मात्र थियौ । उनीहरु र हाम्रा विद्यार्थीहरु बीच गीत युद्ध चल्न थाल्यो, म चुपचाप सुनिरहेको थिए ।
हाम्रा विद्यार्थीले “जोशी सर पनि गाउनु हुन्छ भने पछि उनीहरुले चिच्याई चिच्याई – “ जोशी सर, जोशी सर, जोशी सर वान्टेड “ भनेको अहिले पनि मेरो कानमा गुन्जीरहन्छ । त्यसपछि मेरो पनि गीत शुरु भयो , हामी कुन बेला बनारस पुग्यौ पत्तै भएन । त्यसपछि त भारत भ्रमणमा जाने योजना गरे कि मलाइ पनि साथ जान अनुरोध गर्ने गरेका थिए भ्रमण मन्त्रि जस्तो ।
क्याम्पसको पिकनिकमा विद्यार्थीहरुले जोशी सर लाइ नलगेमा पिकनिक नै खल्लो हुन्छ जस्तो गर्थे र मलाइ आमन्त्रण गर्न छुटाउँदैनथे । एकपटक पकनाजोलको केशव मानन्धरको बिहे भोजमा मैले गीत गाएको सुनेर मन्त्रि हरिबहादुर बस्नेत उफ्री उफ्री नाचेका थिए र एउटा गीत “यो ल्याउने र उ ल्याउने थाहा छैन, एउटी स्वास्नी नल्याईनि भाछैन, सल्लईहो, लाने कल्लाई हो ?” त पंचायतका सूर्य बहादुर थापा लगायत नेताहरु खाना खान मुग्लिन बस्दा मैले नै रचेको हो, पछि कुमार बस्नेतले गायका हुन् भनेका थिए ।
अर्को एउटा घटना चै २०३५ सालको हो । म पोखरामा एक महिने अर्थशास्त्रको वर्कसपमा थिए जगन्नाथ राजभण्डारी मामाको बिहेमा जन्त जानु पर्ने भयो । भाइ लोक दर्शन श्रेष्ठ पनि आएका थिए काठमाण्डौको जन्ती टोलीमा । खाना खाए पछि गाउने, नाच्ने कार्यक्रम शुरु भयो । मैले पनि ३÷४ वटा गीत गाउनु परेको थियो एक पछि अर्को फर्मायस आएकोले। राति हामी दुईजना त द्वाल्खा ट्राभल्सको भ्यानमा नै सुतेका थियौं । त्यो कार्यक्रममा दुलहीको तर्फका डीआइजी इन्द्र बहादुर शेरचन पनि थिए। भोलिपल्ट उहाँले मलाई देख्नासाथ भन्नु भएको थियो – “ हैन तपैत कस्तो महिला आवाज जस्तो मिठो स्वरमा गीत गाउनु हुँदो रहेछ “।
यसरी जता सुकै प्रसंशा कमाएर धेरै गीत गाएँ । मेरो मिठो स्वर सुनेर मेरा मित्र त्यसबेला रेडियो नेपालमा कार्यरत प्रवीन गिरीले “ तिमीले रेडियोमा गाउनु पर्छ, त्यसको लागि स्वर टेस्ट गर्नुपर्छ, म गराई दिउंला” भनेका थिए तर “ गाइने भइयो भने पढाई बिग्रन्छ र बुवाको सपना चकनाचुर हुन्छ भन्ने सोचेर त्यता तिरको धुन नै परित्याग गरेको थिएँ । अहिले जो कोहीले पैसा खर्चेर एल्बम निकालेको देख्दा कहिलेकाहीं त् सुर चल्छ मलाई पनि, गीत गाउँ कि भन्ने । तर बुढेसकालको स्वर ...... ?
गीत गाउने सिलसिलामा भएका दुइ अविस्मरणीय घटना मलाइ सँधै याद आइरहन्छन्
पहिलो, मेजर साहेब सङ्ग गायन युद्ध :
२०३० साल तिर म छेत्रपाटी, ढल्कोमा बस्थे। एक दिन त्यहाँको साथी दीपक पाण्डेको बिहे भोजको निमन्त्रणामा साथी बिशाल राणा र म गयौ। आमन्त्रितहरु आ–आफ्नो समूह मिलेर कोठामै बसेका थिए । हामी विशालजीको चिनेको समूह बसेको कोठामा पसेउ। कोठामा दुलही सहित १०÷१२ जना धोबिचौरका युवतीहरु र २÷३ जना केटाहरु थिए। ती मध्य एक ब्याडमिन्टन खेलाडी बिकास राणा थिए जो पछि सेनामा मेजर भएका थिए। उनी ती युबतिहरु बिच गायकको रुपमा निकै लोकप्रिय रहेछन। उनले युवतीहरु लाई गीत गाएर मक्ख पारिराखेका थिय। त्यस्तैमा बिशालजी ले मेरो परिचय दिदै “उहाँ पनि राम्रो गाउनु हुन्छ” भने । सबै युवतीहरु सुनौन त भनेर कर गर्न थाले। बिकाशले ‘अमर प्रेम’ सिनेमा जस्ताका उस्बेलाका लोकप्रिय वियोगान्त हिन्दी गीतहरु गाइरहेका थिए। त्यसैले मैले भने –“ तपाईंहरु लाई वियोगान्त गीत मन पर्ने रहेछ, म त लोक गीत मात्र गाउछु।“ केटीहरुले हुन्छ हुन्छ गाउनुस् भने।
पहिला मैले डराएको जस्तो गरेर स्वर बिगारेर गाएं। युवतीहरु गलल व्यंग्यात्मक हाँसो हाँस्न थाले’ दिल वाली ........’ सिनेमामा काजोलले शाहरुख लाई गिज्याएको जस्तो । त्यसपछि वास्तविक स्वर निकालेर गाएं, सब स्तब्ध भए। अनि त बिकास र मैले पालै पालो उनले हिन्दी, मैले नेपाली गीत गाउन थालेउ। मैल्रे एक पछि अर्को गीत गाउन थालेपछि एकजना केटाले ले सोधेका थिए – तपाईं पढन छोडेर खाली गीत कण्ठ गरेर बस्नु हुन्छ कि के हो? युवतीहरु बिकासको भन्दा मेरो गीतमा रुचि राख्न थालेका थिए। करिब दुई घन्टा पछि पहिला बिकासको र पछि मेरो स्टक करिब करिब सकियो। खानाको लागि बोलाए । युवतीहरुको प्रसंशाले म हौसिएको थिएँ । ल अब बिदा हौ भनेर जुरुक्क उठेर अभिनय गर्दै अन्तिम गीत गाएं–
“ सिसा कलम के भनी बोलाउं, जाने बेला सबै लाई छ सलाम“
दोस्रो, झन्डै अश्लिल भनेर कुटाइ खाएकोः
२०३१ मा क्याम्पसमा पढाउन नेवारको बाहुल्य भएको बागलुङ बजार पुग्दा म भर्खर २२ बर्ष टेकेको नेवार केटो प्रोफेसर भएर आएकोले म त्यहाँ चर्चाको बिषय बनेको थिएं। पिकनिकमा लोकगीत गाए देखि म गायकको रुपमा पनि परिचित थिएँ क्याम्पसको साथै बजारमा पनि। चैत दशैमा उसबेलाका चर्चित गायक सरोज गोपाल नाइट हुने भयो पुस्तकालयको सहयोगार्थ । आयोजक मध्य एक मेरो विद्यार्थी राजेन्द्र थिए। उनले मेरो पनि गाउनेमा नाम समाबेश गरेछ । बागलुङ बजारमा लोकप्रिय हुने मौका हो भन्ने ठानेर मैले हुन्छ भने।
गीत गाएं ः“ पहाड को कुनामा, बहिनी तिम्रो तुनामा, मुटु मेरो गाँठो परेछ लै लै“ । यो गीत मैले काठमाडौंमा रमेश ताम्राकारले गाएको सुनेको थिएं। तर याद नभएकोले अन्तरा सबै आफैले रचना गरेको थिएं।गाउन सकिए पछि तालीको गड्गडाहट भयो, दङ्ग परे । तर केही आयोजक आएर मलाई भने – ‘सर अहिले घर नजानुस्, बाहिर मण्डलेहरू “प्रोफेसर भएर अश्लिल गीत गाउने’ भनेर पिट्ने भनेर बसेका छन्”। कार्यक्रम सकिए पछि स्कर्टिङ गरेर मलाई कोठामा पुर्याय। बाटोमा त कोहि थिएन, र त्यस्तो नराम्रो केही भएन । रुममेट साथी स्व. महेन्द्र भुषण काठमाण्डौ गएका थिए, रातभरी निन्दा लागेन।भोलिपल्ट बिहानै पुस्तकालयमा धन्यवाद दिने कार्यक्रम थियो गायकहरू लाई। म पनि सहभागी भएँ तर त्यो दिन र पछि पनि केही नराम्रो भने भएन। खाली तर्साएका मात्र रहेछन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij