प्राचिन शहर दोलखामा गणेश चौठी विशेष रुपमा मनाइन्छ । यहा आजको दिनमा विशेष गरि चोर देवता (खुदेउ)को रुपमा पूजा गर्ने गरिए पनि स्थानीय रुपमा तथ्यपरक लोकोक्तिबारे जानकारी प्राप्त नभएको कारणले सामुदायिक रुपमा यस दिनमा गणेश भगवानलाई साक्षी राखेर आफूले जीवनमा कहिले पनि चोरी चकारी र लुटपात नगरेको र गरिने पनि छैन भन्ने उद्देश्यले ईन्द्रलाई सम्झेर गणेशको पूजा गरिने कुरा स्थानीय पूर्वजहरुले बताएका थिए ।
यो दिनको अर्को रोचक कुरा चाहिँ दोलखाली नेवार जातीमा यस चाडलाई दशैंको प्रतीकात्मक सूचनाको रुपमा लिने गरिन्छ । आजको दिनमा जति हर्षित भएर खानामा मासुको विशेष परिकार बनाएर खान जुरेमा वा जुराएमा दशैं उत्तिकै उल्लासमय हुनेछ र मन प्रसन्न रहनेछ भन्ने जन विश्वास रहेको छ । यदि आजको दिनमा कुनै कारणवस मासु खान वा लत्ता कपडा किन्न सकिएन भने आउने दशैं कुनै न कुनै भवितव्य परेर ती कुरा नजुर्ने कथन छ । सायद विगतमा अर्थात् कसैको जीवनमा यस्तो भवितव्य परेर यस्तो कथन बनाइएको पनि हुनसक्छ ।
यो दिन विशेष गरेर गणेश भगवानलाई मानवका लागि रक्षकको रुपमा पूज्न, अन्नका गेडागुडी (गहुँ, भटमास, मकै, बुटी, केराउ) भुटेर छ्यासमिस गरेर गणेश, ईन्द्र देवलाई अर्पण गरेर आफूले प्रसादको रुपमा ग्रहण गर्ने चलन छ । यस अन्न गेडागुडी मिसिएको प्रसादलाई स्थानीय भाषामा ’छुस्येमुस्ये’ भनिन्छ । काठमाडौं उपत्यकाका नेवारहरुले “छुस्यामुस्या” भन्दछन् ।
संध्याकालीन समयमा घरको कोठामा पूर्वतिर फर्केर केर या सालको पात विछ्याएर काँक्रो, नास्पाती, स्याउ र निबुवा जस्तो फलफूल राखेर एउटा फलामको हतियार सहित पूजा गर्ने चलन छ । यस प्रकारको संस्कृतिलाई तथ्य रुपमा भन्नुपर्दा जतिबेला संध्याकालीन समयमा यो पूजा गरिन्थ्यो । त्यतिबेला नै बिना पूर्व सूचना नै कुकुरले लखेट्ने र भुक्ने गथ्यौ । तर केलाई लखेटेको भनेर पत्तो नहुनुको कारण सोद्धा बुढापाकाले ’त्यही चोर देवतालाई लखेटेको नि... अब तिमीहरू बाहिर ननिस्कनु, यदि निस्कन नै परेमा तुनामा अकबरे खुर्सानी बाँधेर निस्कनु’ भन्ने गर्दथे । त्यो कुकुरले चोर देवतालाई लखेटेको भन्ने परिदृश्य देख्ने हामी स्वयं छौं ।
थाँछें टोलको गल्लीबाट कुकुरको फौजले लखे्दै ल्याएर श्यामसुन्दर टोल सामुन्नेको पंचायत घरको उत्तर–पश्चिममा रहेको ठूलो अजंगको ढुंगा सामु पुगेपछि कुकुर त्यतै हेरेर एकनासले भुकिरहेको देखेर हाम्रा ठूला हजुर बा (ड्वाक्बाजे बीर बहादुर) ले...’ गयो गयो छैन चूपलाग, भनेपछि ती कुकुरका समुह आआफ्नो बाटो लागेको हामीले देखेका छौं । तर के कस्तो रुपको देवता हो या भूत हो त्यो चाहिँ अदृश्य गर्भमै थियो । त्यसैले ती पौराणिक आकस्मिकताको घटनालाई नै किंवदन्ती मानेर संस्कारको मर्यादालाई हामीले निरन्तरता दिनलाई कंजुस्याईँ गर्नु हुन्न ।
गणेश चतुर्थीका अवसरमा आज नेवार समुदायले जीवनमा चोर दोष नलागोस् भन्ने कामनासाथ आउँदो दशैँ भित्र्याउन चथाः गणेश र चन्द्रमाको पूजा गरी चथाःपर्व मनाउँदै छन् ।
भगवान् गणेशको जन्मदिन मानिएको चतुर्थीका दिन नेवार समुदायले बिहानै घरलाई चोख्याएर बेलुका पूजा गर्न चथाः गणेशको तस्वीरसहित पूजामा चाहिने सामग्री भित्र्याउने गर्छन् । गणेश चतुर्थीलाई नेवार समुदायले दशैँ भित्र्याउने चाडका रूपमा समेत लिने भएकाले यस दिनलाई दशैँको प्रारम्भ पर्वका रूपमा लिइन्छ । यस दिन विशेष गरी घरघरमा मासु भित्र्याउने चलन छ ।
नेवार समुदायमा चथाः पर्व राम्रो भए दशैँ पनि राम्रो हुने धार्मिक मान्यता र विश्वास रहेको पाइन्छ । आजकै दिन भक्तपुरका किसानले आ–आफ्ना अदुवाखेतीको पूजा गरी नयाँ अदुवा निकाल्ने प्रचलनसमेत छ । यस दिन राति नेवार समुदायले कौशी वा घरको आँगनमा चथाः गणेश र चन्द्रमाको विधिवत पूजा गर्ने गर्छन् ।
पूजामा कमलको फूलको पातमा चथा गणेशको तस्वीर राखेर, नैवेद्य, पञ्चपकवान, अनार, केरा, अम्बा, नासपाती, काँक्रा, सुन्तला, काँचो भिजाएको केराउ, कमलको फूल, नयाँ अदुवाको बोट तथा मकै, भटमास, गहुँ, बदाम, मुगी, केराउ, चना, बकुल्लासमेत आठ प्रकारका भुटेका गेडागुडी चढाइन्छ । साथै पूजामा घ्यूमा भुटेको आरुको बियाँ, दुबो, कालो तिलको लड्डु, मुला खाइसी (भोगटेजस्तो एक प्रकारको फल) चढाउँछन् ।
चथा गणेशको पूजा सकेपछि आकाशतिर हेरेर चन्द्रमाको पूजा गरिन्छ । पूजामा घरपरिवारका सबै सदस्य बस्नुपर्ने परम्परा छ । पूजा सकेपछि घरका सबै बसेर चथा गणेशलाई चढाएको पञ्चपकाव, काँक्रा, फलफूल र भुटेका गेडागुडी प्रसादका रूपमा खाने चलन छ । प्रसाद खाइसकेपछि दहीको सगुनसहित भोज खाइन्छ ।
यस दिन चथा गणेशको पूजा गरेमा खुशी मिल्ने, जीवनमा चिताएको मनोकांक्षा पूरा हुनाका साथै दशैँ राम्रोसँग मनाउन पाउने लोक मान्यता छ । चन्द्रमालाई विधिपूर्वक पूजा गरे जीवनमा अनाहकमा चोर दोष नलाग्ने जनविश्वास रहेको छ । नेवार समुदायमा चथाको दिन गणेश र चन्द्रमाको पूजा घरका सबै सदस्य जम्मा भएर चन्द्रमाको प्रतिक्षामा बस्ने र चन्द्रमा देखापरेपछि मात्र पूजा गरी प्रसाद खाएर घरभित्र जाने प्रचलन छ ।
राति चन्द्रमाको पूजा गर्नुको अर्थ कुनै पनि व्यक्तिको रुपरङ्ग अस्थायी र गौण हुने तथा उसका राम्रो पक्ष भनेको उसको काम हो भन्ने सन्देश समेत दिने गरेको संस्कृतिविद् तथा इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो । पौराणिक लोककथनअनुसार सत्ययुगमा एक दिन स्वर्गमा देवसभा भएको समयमा चन्द्रमाले गणेशलाई हात्तीका टाउके मुख भएको भनी ठूलो हेला र अपमान गरेपछि गणेशले सहन नसकेर रिसाएर चन्द्रमालाई तिम्रो मुख हेर्ने जोकोहीलाई चोर दोष लागोस् भनेर श्राप दिएछन् ।
गणेशको श्रापको प्रभावले त्यस दिनदेखि चन्द्रमाको मुख हेर्ने सबैलाई चोर दोष लाग्न थाल्यो । त्यसपछि देवीदेवतासमेतले चन्द्रमाको मुख हेर्न छाडिदिए । यसले गर्दा चन्द्रमाको ठूलो बेइज्जत भयो र चन्द्रमा बाहिर आउन, हिँडडुल गर्नसमेत नसक्ने अवस्थामा पुगे । त्यसपछि चन्द्रमा महादेवको शरणमा गए र उनै महादेवको सहयोगले गणेशलाई दुबो, लड्डु र मुला चढाइ क्षमायाचना गरे । चन्द्रमाको क्षमायाचनाबाट प्रभावित भएर गणेशले अबदेखि भाद्र शुक्ल चौथीको एक दिनबाहेक अरु दिनमा चन्द्रमाको मुख हेरे चोर दोष नलाग्ने वरदान दिए ।
साथै गणेशले राति विधिपूर्वक चन्द्रमाको पूजा गरे सो दिनमा चन्द्रमा दर्शन गरे पनि चोर दोष नलाग्ने वरदानसमेत दिएकाले गणेश चतुर्थीको दिन राति चन्द्रमाको पूजा गर्ने परम्परा बसेको लोककथन पाइन्छ । आजै इन्द्रजात्राको लागि भक्तपुरबाट काठमाडौँको वसन्तपुरसम्म लिङ्गो लैजाने परम्परासमेत छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij