आज गठेमंगल (घण्टाकर्ण)
गाठामा डुइरी
गठामुँग चह्रे
परम्परा एक किम्बदन्ती अनेक
नेपालका नेवार समुदायले मनाउने महत्वपूर्ण सांस्कृतिक पर्वमध्ये गठेमंगल (गाठामा डुईरी) अर्थात् घण्टाकर्ण चतुर्दशी विशेष महत्वको पर्व हो। श्रावण कृष्ण पक्षको चतुर्दशीका दिन मनाइने यो पर्व अशुभ शक्ति, भूतप्रेत तथा नकारात्मक प्रभावलाई बिदाइ गर्दै घर–परिवार र समाजमा सुख, शान्ति तथा समृद्धिको कामना गर्ने परम्परासँग जोडिएको छ।
तर ठाउँअनुसार यसको नाम, विधि र सांस्कृतिक स्वरूप भने फरक–फरक छ। प्राचिन शहर भीमेश्वर नगर –२ दोलखामा ‘गाठामा डुये नखत’का रूपमा मनाइने यो पर्वको आफ्नै मौलिक परम्परा छ। त्यसपछि काठमाडौं, ललितपुर र भक्तपुरका नेवार बस्ती हुँदै बनेपा, पनौती, कीर्तिपुर, साँखु, फर्पिङ, हेटौंडा, बन्दीपुर, पोखरा, टिस्टुङ, पालुङ, चित्लाङ, चौतारा, रामेछापलगायत नेपालका विभिन्न स्थानमा फरक शैलीमा गठेमंगल मनाइन्छ।
ऐतिहासिक दोलखामा गठेमंगललाई ‘गाठामा डुये नखत’ भनिन्छ। यहाँको गठेमंगल अन्य ठाउँको भन्दा मौलिक र विशिष्ट मानिन्छ।
दोलखा शहरभित्र करिब ६२ वटा टोल रहे पनि घण्टाकर्णको प्रतिमूर्ति तयार गर्ने परम्परा विशेष रूपमा राजकुलेश्वर तलेजु मन्दिरअगाडिको दोबाटोमा केन्द्रित छ।
अन्य नेवार बस्तीमा नर्कट, निगालो, बाँस वा छ्वालीबाट घण्टाकर्णको पुत्ला बनाइने भए पनि दोलखामा भने गाँजाको बोटबाट घण्टाकर्णको शारीरिक आकृति तयार गर्ने परम्परा रहेको छ।
नाङ्लो वा चाल्नी जस्तो गोलाकार संरचना बनाएर त्यसमा घण्टाकर्णको मकुण्डो अर्थात् टाउकोको आकृति राखिन्छ। यसरी तयार पारिएको प्रतिमूर्तिलाई साँझपख विधिपूर्वक पूजा गरिन्छ।
दोलखामा यो पूजा विशेष गुठी परम्परासँग जोडिएको छ। एकै गुठीयार पुजारीको खलकको तर्फबाट आनन्दमान प्रधानले पूजा गर्ने चलन रहँदै आएको छ।
पूजापछि घण्टाकर्णलाई दही–चिउरा खुवाएर शिवभक्ती परिवारले ढाल्ने परम्परा रही आएको छ । त्यसपछि स्थानीय बासिन्दा तथा शिवभक्ती परिवारलगायतको सहभागितामा प्रतिमूर्तिलाई विसर्जनका लागि लगिन्छ।
दोलखामा घण्टाकर्णको प्रतिमूर्ति दोलखा बजारको पश्चिमतर्फ रहेको खिङल्चा भन्ने स्थानमा लगेर खोल्सामा सेलाउने परम्परा छ।
यो यात्रा पनि आफैंमा सांस्कृतिक महत्वको छ। दोलखाको बाजागाजाका साथ घण्टाकर्णलाई विसर्जनस्थलतर्फ लैजाँदा परम्परा रही आएको छ ।
घण्टाकर्ण सेलाएर फर्किने बेलाको धुन अझ मर्मस्पर्शी र कर्णप्रिय रहेको छ । यो मौलिक बाजा र धुनले दोलखाको सांगीतिक तथा सांस्कृतिक पहिचानलाई पुस्तौँदेखि जीवित राखेको छ।
यसरी दोलखाको गठेमंगलमा घण्टाकर्णको प्रतिमूर्ति बनाउनेदेखि पूजा, बाजागाजा, सामुदायिक सहभागिता र विसर्जनसम्मका प्रत्येक चरणमा स्थानीय संस्कृति र परम्परा जोडिएको छ।
दोलखाको गठेमंगलसँग लाखे नाचको पनि गहिरो सम्बन्ध छ।
औँसीदेखि जनैपूर्णिमाको अघिल्लो दिनसम्म विभिन्न अवसरमा दिउँसो र साँझ लाखे नाच प्रदर्शन गर्ने परम्परा रहेको छ। दिउँसो र साँझ नचाइने लाखेको स्वरूप तथा स्थानीय नाममा समेत भिन्नता पाइन्छ। यसरी दिउँसो नचाईने लाखे नाचलाई जो डाकस, साँझ–बेलुका नचाईने लाखेनाचलाई नेपाल डाकस भनीन्छ । जनैपूर्णीमाको दिन नचाईने लाखेलाई ड्वाकु डाकस (ठुलो लाखे) र चौठी पञ्चमीमा नचाईने लाखे नाचलाई माझिपा डाकस भन्ने गरिन्छ । जसको आफ्नौ छुट्टै मौलिकता र महत्व रहेको छ ।
गठेमंगललाई एउटा दिनमा सीमित पर्वभन्दा पनि दोलखाको लामो सांस्कृतिक उत्सवको महत्वपूर्ण सुरुवातका रूपमा स्थापित गरेको छ। जुन आजदेखि विधीवत रुपमा जात्रा पर्व शुरु भएको स्थानिय वासिन्दाको भनाई रहेको छ ।
घण्टाकर्णबारे नेपालका विभिन्न ठाउँमा अनेक किंवदन्ती पाइन्छन्।
प्रचलित कथाअनुसार परापूर्वकालमा एउटा अत्यन्त क्रूर राक्षस थियो। उसलाई देवीदेवता, धर्मकर्म र आध्यात्मिक कुरा मन पर्दैनथ्यो। धार्मिक कुरा गर्ने मानिसलाई दुःख दिने, बाटो हिँड्ने मानिससँग जगात अर्थात् कर माग्ने र नदिएमा सजाय दिने गरेको कथन छ।
देवताको नाम तथा धर्मकर्मका कुरा आफ्नो कानमा नपरोस् भनेर उसले दुवै कानमा ठूला घण्टा झुन्ड्यायो। कानमा घण्टा झुन्ड्याएकै कारण उसको नाम घण्टाकर्ण रहन गएको विश्वास गरिन्छ।
अन्ततः एक तान्त्रिकले भ्यागुतोको रूप धारण गरेर घण्टाकर्णलाई दलदलतर्फ लैजाँदा राक्षस त्यहीँ फसेको र गाउँलेहरूले उसको अन्त्य गरेको कथा प्रचलित छ।
कुनैकुनै ठाउँमा भने भ्यागुतोले घण्टाकर्णलाई कुवामा खसाएर मारेको कथा पनि सुनिन्छ।
यही राक्षसको अन्त्यको सम्झनामा गठेमंगल मनाउने परम्परा बसेको मानिन्छ।
दोलखाको मौलिक परम्परापछि गठेमंगलको अर्को महत्वपूर्ण साँस्कृतीक शहर हो काठमाडौं उपत्यका।
काठमाडौं, ललितपुर र भक्तपुरका नेवार समुदायले यो पर्वलाई विभिन्न स्थानीय नाम र शैलीमा मनाउँछन्। कतै गठेमंगल, कतै गठांमुगः चःह्रे तथा कतै स्थानीय नेवारी उच्चारणअनुसार फरक नामले यसलाई चिनिन्छ।
काठमाडौंका विभिन्न नेवार बस्तीमा गठेमंगलका दिन नर्कट, निगालो, छ्वाली र पराल प्रयोग गरेर तीनखुट्टे राक्षसको आकृति बनाउने गरिन्छ।
टोल–टोलमा तयार पारिएको घण्टाकर्णको प्रतीकलाई दोबाटो वा चौबाटोमा राखिन्छ। बालबालिकाले बाटोमा डोरी वा तघारो तेस्र्याएर ‘घण्टाकर्णको जगात’ माग्ने चलन पनि छ।
साँझपख राक्षसको पुत्लालाई पूजा गरी दही–चिउरा खुवाइन्छ। त्यसपछि पुत्लालाई घिसार्दै नजिकको खोला वा खोल्सातर्फ लगेर जलाउने वा सेलाउने गरिन्छ।
यसलाई मानिसलाई दुःख दिने घण्टाकर्ण राक्षसको सामूहिक रूपमा अन्त्य र दाहसंस्कार गरेको प्रतीकका रूपमा लिइन्छ।
ललितपुरका पुराना नेवार बस्तीमा पनि गठेमंगल धार्मिक तथा सांस्कृतिक विधिसहित मनाउने परम्परा छ।
यहाँका विभिन्न टोलमा स्थानीय गुठी तथा समुदायको सहभागितामा पर्व मनाइन्छ। घर–आँगन सफा गर्ने, पूजा गर्ने, अशुभ शक्ति भगाउने तथा घण्टाकर्णको प्रतीक विसर्जन गर्ने परम्परा यसको मुख्य पक्ष हो।
ललितपुरको गठेमंगलमा पनि स्थानीय टोल, गुठी र सामुदायिक सहभागिताले पर्वलाई जीवन्त बनाउँदै आएको छ।
भक्तपुरमा मनाइने गठेमंगलको आफ्नै विशेष आकर्षण छ।
टोल–टोलमा नर्कट, छ्वाली, नाङ्लो र हाँडी प्रयोग गरेर मानवरूपी तीनखुट्टे गठांमुगःको पुत्ला बनाइन्छ।
अघिल्लो दिन साँझदेखि नै नर्कटमा छ्वाली बेरेर शरीर तयार पारिन्छ। हाँडीमा नाक, मुख र कानको आकृति बनाइन्छ।
भोलिपल्ट टोलवासीहरू मिलेर पुत्लालाई नजिकको दोबाटो वा चोकमा लगेर जलाउँछन्।
भक्तपुरमा यसलाई चोक तथा दोबाटोमा बसेर मानिसलाई आतंकित बनाउने घण्टाकर्णलाई समुदायले मिलेर मारेको र दाहसंस्कार गरेको स्मृतिका रूपमा मनाउने गरिन्छ।
काठमाडौं जिल्लाकै साँखुमा पनि गठेमंगलको छुट्टै सांस्कृतिक परम्परा छ।
यहाँ विभिन्न टोलमा घण्टाकर्णको प्रतिमूर्ति तयार पारेर पूजा गर्ने र त्यसलाई विसर्जन गर्ने गरिन्छ। टोलवासीको सामूहिक सहभागिताले पर्वलाई अझ जीवन्त बनाउँछ।
गठेमंगल काठमाडौं उपत्यकामा मात्र सीमित छैन।
नेवार समुदायको बसोबास रहेका बनेपा, पनौती, कीर्तिपुर, फर्पिङ, हेटौंडा, बन्दीपुर, पोखरा, टिस्टुङ, पालुङ, चित्लाङ, चौतारा, रामेछापको चिसापानी लगायतका क्षेत्रमा पनि यो पर्व मनाइन्छ।
सिन्धुपाल्चोकको तौथली र लिस्ती तथा काभ्रेपलाञ्चोकको दूतिमा समेत स्थानीय परम्परा र भाषिक नामअनुसार गठेमंगल मनाउने गरिएको पाइन्छ।
नेपालबाहिर पनि नेवार समुदाय रहेका सिक्किमको गान्तोक, दार्जिलिङ लगायतका क्षेत्रमा यो पर्वको सांस्कृतिक निरन्तरता देखिन्छ।
अक्षय तृतीयादेखि गठेमंगलसम्म
गठेमंगलको सम्बन्ध केवल घण्टाकर्णको किंवदन्तीसँग मात्र छैन। यसको सम्बन्ध कृषि जीवनसँग पनि जोडिएको छ।
पुरानो समयमा जनशक्तिको अभावका कारण किसानलाई समयमा खेतीपातीको काम सम्पन्न गर्न कठिन हुन्थ्यो। ठूलो खेतमा धान रोप्न धेरै दिन लाग्थ्यो।
यही क्रममा एउटा शक्तिशाली किसान वा जमिनदारको खेतमा असाधारण गतिमा काम सम्पन्न हुने गरेको कथा पाइन्छ। रातारात खेतमा पानी भरिनु, थोरै गोरुले ठूलो खेत जोत्नु तथा थोरै मानिसका लागि तयार गरिएको खाजा धेरैलाई पुग्नुजस्ता घटनाले गाउँलेहरूमा आश्चर्य उत्पन्न गरेको कथन छ।
पछि खेती हेर्ने व्यक्ति सामान्य किसान नभई तान्त्रिक शक्ति भएको रहस्य खुलेको बताइन्छ।
अक्षय तृतीयाका दिन तान्त्रिक शक्तिको आह्वान गरी खेतीपातीमा सहयोग लिने र गठेमंगलका दिन ती शक्तिलाई विधिपूर्वक बिदाइ गर्ने लोकविश्वाससँग यो पर्व जोडिएको पाइन्छ।
गठेमंगलको मूल उद्देश्य अशुभ शक्तिलाई बिदाइ गर्नु हो।
यस दिन घर–आँगन सफा गर्ने, स्नान गर्ने, पूजा गर्ने र भूतप्रेत तथा नकारात्मक शक्तिलाई भगाउने परम्परा छ।
कतिपय ठाउँमा राँको बालेर धुवाँ निकाल्ने गरिन्छ। घरको दैलोमा फलामको तीनखुट्टे वा पाँचखुट्टे किला ठोक्ने तथा फलाम, पित्तल वा तामाका औँठी प्रयोग गर्ने चलन पनि पाइन्छ।
भक्तपुरका पुराना बस्तीमा दोबाटो तथा चौबाटोमा हाँडीमा दही–चिउरा, समयबजीलगायतका परिकार राखेर भूतप्रेत मन्छाउने परम्परा छ।
दोलखामा गाँजाको बोटबाट घण्टाकर्णको प्रतिमूर्ति बनाएर खिङल्चामा सेलाउने, काठमाडौंमा नर्कट र छ्वालीको पुत्ला बनाएर विसर्जन गर्ने, भक्तपुरमा तीनखुट्टे गठांमुगः जलाउने, ललितपुरमा गुठी तथा टोल परम्पराअनुसार पूजा गर्ने र अन्य नेवार बस्तीमा स्थानीय सामग्री तथा संस्कारअनुसार पर्व मनाउने गरिन्छ।
तर सबैको मूल भाव एउटै छ-अशुभताको अन्त्य, भूतप्रेत तथा नकारात्मक शक्तिको बिदाइ, घर–परिवारको सुरक्षा र समाजमा सुख–शान्तिको कामना।
त्यसैले गठेमंगल एउटा राक्षसको पुत्ला जलाउने पर्व मात्र होइन। यो नेवार समुदायको लोकविश्वास, कृषि जीवन, गुठी परम्परा, सामुदायिक एकता, स्थानीय कला, संगीत र सांस्कृतिक स्मृतिको जीवन्त अभिव्यक्ति हो।
विशेषगरी दोलखाको ‘गाठामा डुये नखत’ले यस पर्वको मौलिकता अझ गहिरो रूपमा प्रस्तुत गर्छ। गाँजाको बोटबाट तयार हुने घण्टाकर्णको प्रतिमूर्ति, राजकुलेश्वर मन्दिरअगाडिको पूजा, दही–चिउराको प्रसाद, स्थानीय बाजागाजासहित खिङल्चातर्फको यात्रा र मौलिक धुनसँगै हुने विसर्जनले दोलखाको सांस्कृतिक पहिचानलाई अलगै उचाइ दिएको छ।
काठमाडौं, ललितपुर, भक्तपुरदेखि देशका विभिन्न नेवार बस्तीमा गठेमंगलका विधि फरक देखिए पनि ती सबै परम्परा एउटै सांस्कृतिक भावनाले जोडिएका छन्।
घण्टाकर्णको बिदाइसँगै अशुभताको अन्त्य र सुख–शान्तिको कामना गर्ने यो पर्व वास्तवमा नेपालका नेवार समुदायको जीवित सांस्कृतिक इतिहास हो-परम्परा एउटै, किंवदन्ती अनेक, तर पहिचान आफ्नै।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij