Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

भीमपुस्तकालयको अवको बाटो

भीमपुस्तकालयको अवको बाटो

प्रा.डा. श्याम जोशी, दोलखा

वि.सं. २०७२ को भूकम्प पछि म दोलखा जाँदा सबैलाई राहतको पैसा लिएर घर बनाउने चटारो तर पुस्तकालय बेवारिसे देखेर “ओझेलमा परेको दोलखाको भीम पुस्तकालय” शीर्षकमा मैले फेसबुक वालमा  लेखेको थिए   “भुकम्प पीडितहरुले पाउने अनुदानको म्याद छोप्ने चटारोले सबैले हतारोले आ–आफ्नो घर बनाए। दोलखाको रुप फेरियो। दोलखाका पुराना झिर्न मन्दिरहरूले नयाँ जीवन पाए। भीम माध्यमिक र राजकुलेस्वर आधारभूत विद्यालयले नयाँ जुनी पाए”।

“दोलखाका समाजसेवीहरुले दोलखा स्थित पुरानो पुस्तकालय लाई पुनर्जीवन दिने तिर पनि अलिकति ध्यान दिने हो कि ? दोलखाको भिम पुस्तकालय लाई पुनर्जीवित गर्न र यसको गरिमा कायम राख्न नितान्त जरुरी छ। यसको लागि कसैले नेतृत्व लियो भने अहिले सहयोग गर्नेहरूको कमि नभएको त केही कार्यक्रमका लागि चन्दा ओइरिनु ले नै पुष्टि गर्छ”।

एद्घाटनताका  मैले “मेरो झ्याल बाट  भीम पुस्तलकालय” (२६ पुष २०८१, बापिझ्याला डटकम) मा खुशी व्यक्त गर्दै लेखेको थिएं – “दोलखाका समाजसेवी श्री आत्मा कृष्ण श्रेष्ठले रुपा फाउन्डेसन मार्फत भीम पुस्तकालय भवन  निर्माण गरि दिनुभएको सुखद  खबर प्राप्त भएकोछ ।...दोलखाको भीम पुस्तकालय लाई पुनर्जीवित गर्नमा अमूल्य योगदान गर्नु भएकोमा समाजसेवी श्री आत्मा कृष्ण श्रेष्ठ लाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु” । 

वि.सं. २०८२ बैशाख ६ गते पुस्तकालयको भ्रमण पछि मैले फेरी फेसबुक वालमा लेखेको थिए (भीम पुस्तकालयको भ्रमण ) – “करिब करिब लोप हुन् लागेको र स्थानीय वासिन्दाले बिर्सन लागेको प्राचिन शहर दोलखाको भीम पुस्तकालय लाई रुपा फाउण्डेशनको आर्थिक सहयोगमा यस शहरका एक मात्र अविश्रान्त विकासका चिन्तक श्री आत्मा कृष्ण श्रेष्ठले नयाँ भवन निर्माण गरी नयाँ जीवन प्रदान गर्नु भएको छ । हामी नगरवासीहरू उहाँप्रति अत्यन्त आभारी छौं र भगवान भीमेश्वर संग उहाँको दीर्घायुको लागि प्रार्थना गर्दछौं।”

“हामी लाई थाहा छ कि पुस्तकालय ज्ञानको स्रोत हो। तर यसलाई साँच्चै ज्ञानको स्रोत बनाउन हामीले यसलाई विविध विषयका सामग्रीहरू द्वारा समृद्ध पार्नु आवश्यक छ। त्यसैले, हामी सबैले यसलाई समृद्ध बनाउन सक्दो योगदान गर्न आवश्यक छ। अन्यथा, जीवन बिनाको कंकाल तयार पार्नु भनेको त्यसलाई जीवित राख्ने निरर्थक प्रयास मात्र हुनेछ।”
  
त्यसपछि अहिले सबैको, अमेरिका, बेलायत, अस्ट्रेलिया बस्ने लगायत उत्साहपूर्ण सहभागिता र सहयोग बढ्दै गएको र आजीवन सदस्य मात्र ६५ जना पुगी सकेको र दोलखाली दाताहरुले दिल खोलेर आर्थिक सहयोग गरिरहेको खबरले अत्यन्त खुशी लागेको छ।  कुनै मानिसले निस्वार्थ भावले सामाजिक हितमा साझा स्वार्थको लागि काम गर्छ भने त्यसमा आफ्नो पनि सहभागिता देखाउन दोलखाली दाजुभाई, दिदीबहीनीहरु पछि पर्दैनन् भन्ने यो ज्वलन्त उदाहरण भीमपुस्तकालय पुनः निर्माण भएको छ । 

बैशाखमा म मिसामी नाटकको वृतचित्र निर्माण गर्ने सिलसिलामा पुस्तकालयको पनि छायांकन गर्नु परेकोले त्यहाँ पस्दा भर्खरै खुलेकोले अलि अलि फर्निचर, अलि अलि पुस्तक देखें । मैले आफैले लेखेको ५४ वटा अर्थशास्त्र  पुस्तक अनि मेरो संग्रहका पुस्तकहरु पनि पठाई दिउंला भनी रत्नजी संग कुरा गरें । तर अहिले सम्म मैले पठाएको छैन । किनकि अहिले त्यहाँ आर्थिक सहयोग मात्र नभएर पुस्तक दिनेहरुको समेत लर्को लागिरहेकोले मैले यहाँ बाट पठाएको पुस्तक त्यहा एउटा कुनामा टुहुरो बन्ने निश्चित छ । म पढन्ते र लेखन्ते मानिस, पुस्तक मेरो अत्यन्त प्यारो चिज हो जस्लाई  म उपेक्षा गरेको देख्न सक्दिन । 

मेरो भनाइ हो अव पुस्तकालय लाई बिस्तार गर्नु, यसलाई दोलखाका धार्मिक, सांस्कृतिक र एतिहासिक सम्पदा सम्बन्धि अनुसन्धान स्थल र संग्रहालयको रुपमा बिस्तार गर्दै लानु जरुरी छ जसको लागि विविध क्षेत्रका लिखित सामाग्रीहरु र दस्तावेजहरु संकलन गर्दै जानु पर्छ । त्यसैले पुस्तकालयको भवन बिस्तार गर्नु अत्यन्त आवश्यक छ। मलाई लाग्छ जग्गा भयो भने बनाई दिने को अभाव हुने छैन । त्यसैले पुस्तकालय पूर्वका जग्गा प्राप्त गर्न सरोकारवालाहरु संग कुरा गर्न दोलखाका सामाजिक संस्थाहरु अग्रसर हुनुपर्छ । उहाँहरुले नमान्ने  कुरै छैन, उहाँहरु पनि समाजसेवाको भावना  भएकै हुनुहुन्छ ।  तर शिलापत्र बनाएर चिरकाल सम्म जग्गा दाताहरुको नाम रहने भने सुनिश्चित गर्न जरुरी छ । मेरो बिचारमा कुराको गाँठी यहाँ नै छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार