नेपाल सम्वत् ११४५ तछलागाः ६ (असार ३, २०८२ ) जून १७, २०२५ ,मंगलबार, बाँपीझ्याला । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार एक हजार बढीमा डेंगु संक्रमण पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत कीटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार पुसयता ७३ जिल्लामा एक हजार ३६० जनामा डेंगु पुष्टि भएको हो। डेंगु संक्रमण सबै भन्दा बढी बागमती, कोशी र गण्डकी प्रदेशमा सबै भन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको छ। तथ्यांक अनुसार बागमतीमा प्रदेशमा ३४८, कोशी प्रदेशमा २८२, गण्डकी प्रदेशमा २३५ जनामा डेंगु पुष्टि भएको छ।
त्यसैगरी, लुम्बिनी प्रदेशमा २१५, सुदूरपश्चिम प्रदेशमा १७४, कर्णाली प्रदेशमा ३२ र मधेश प्रदेशमा १८ जनामा डेंगु पुष्टि भएको डा. दाहालले जानकारी दिनुभयो। जिल्ला अन्तर्गत काठमाडौँमा सबै भन्दा बढी डेंगु पुष्टि भएको छ। काठमाडौँमा १४०, कास्कीमा ९२, सुनसरीमा ८७, झापामा ८०, चितवनमा ६२, पाल्पामा ६० जनामा डेंगु पुष्टि भएको छ। त्यसैगरी, रुपन्देहीमा ५१, कञ्चनपुरमा ३७, दाङमा ३६, भक्तपुरमा ३० जनामा डेंगु पुष्टि भएको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले विस्तारै डेंगुको सङ्क्रमण बढ्दै जाने बताउनुहुन्छ। लामखुट्टे देखिन सुरु भइसकेकोले केही दिनमै जोखिम ह्वातै बढ्न सक्ने डा. पुनको भनाइ छ। उहाँले डेंगु कुनै पनि समयमा कुनै पनि स्थानमा तीव्र गतिमा फैलने सक्ने बताउनुहुन्छ। डेंगु हुनबाट बच्ने एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने हो। चिकित्सकका अनुसार डेङ्गु रोग एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ। एडिज जातका लामखुट्टे सफा पानी जम्मा भएको जुनसुकै भाँडोमा हुर्कन सक्दछ। डा. पुनका अनुसार असाध्यै शरीर दुख्ने, खाना मन नलाग्ने, पखाला लाग्ने डेंगुका प्रमुख लक्षण हुन्। त्यो बाहेक आँखाका उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी, आँखाको गेडी, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा वान्ता हुने डेंगुका लक्षण हुन्।
गिजाबाट रगत बग्ने, तारन्तार वान्ता हुने, बान्तामा रगत देखिने, चिडचिडापन वा छटपटी हुने वा रिङ्गाटा लाग्ने, अत्याधिक पेट दुख्ने, लगातार डाइरिया हुने जस्ता गम्भिर लक्षण देखिन्छन्। डेंगु सङ्क्रमणको उपचार लक्षणका आधारमा गरिन्छ। चिकित्सकअनुसार प्राय डेंगु सङ्क्रमणका लक्षण आफै हराएर जान्छन्।
थोरै केसमा मात्र अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था आउने चिकित्सकको भनाइ छ। डेंगु रोग घरमानै बसेर उपचार गर्न सकिन्छ। सङ्क्रमितले घरमा नै बसेर उपचार गर्दा चिकित्सकको सल्लाह बमोजिम दुखाइ कम गर्ने र ज्वरो घटाउन प्यारासिटामोल खाना चिकित्सकको सुझाव छ। डेंगु सङ्क्रण भएको समयमा बु्रफिन र एन्टिवायोटिन नखान चिकित्सकको सुझाव छ। यदि बिरामीमा गम्भीर लक्षण देखिएमा तुरुन्त अस्पतालमा लैजान डा. पुनको आग्रह छ। रोग प्रतिरोधात्मक क्षमता कम भएका, दीर्घ रोगी, पाँच वर्ष मुनिका बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती यसको जोखिममा हुने गर्छन्। यति जोखिम समूहका मानिसमा डेंगु सङ्क्रमण भएमा गम्भीर लक्षण देखिने चिकित्सक बताउछन्।
डेङ्गुबाट बच्न के गर्ने ?
लामखुट्टेको टोकाइबाट जोगिन र व्यक्तिगत सुरक्षाका उपाय अपनाउन चिकित्सकको सुझाव छ। लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगुको सङ्क्रमणबाट बच्ने एक मात्र उपाय हो। लामखुट्टेको टोकाइबाट बच्न पुरै शरीर ढाक्ने लुगा लगाउने, धूप बाल्ने, मलम लगाउन पुनको सुझाव छ। उहाँ भन्नुहुन्छ, ‘लामखुट्टे नियन्त्रण गर्न लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घर, विद्यालय, कार्यलय वरपरका पानी जम्ने सबै ठाउँ सफा गर्ने, पानी राख्ने भाडाँ बेलाबेलासफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्नुपर्छ।’
डेंगु नियन्त्रण गर्न सरकार के गर्दै छ
यो वर्ष डेङ्गु सङ्क्रमणले महामारीको रुप नलियोस भनेर स्वास्थ्य मन्त्रालय काम अगाडि बढाएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो। उहाँका अनुसार सरकारले डेंगु नियन्त्रण गर्न ८० करोड बजेट विनियोजन गरेको छ। यदि डेंगु फैलिहालेमा स्वास्थ्य संस्थामा फोकल प्वाइन्ट तोक्ने र डेंगुको उपचारमा चाहिने सामग्री तयारी अवस्थामा राखेको डा. बुढाथोकीको दाबी छ।
साथै उहाँले डेंगु नियन्त्रण गर्न व्यक्ति स्वयम जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो। उहाँ भन्नुहुन्छ, “डेङ्गु नियन्त्रण गर्न घरबाट नै काम सुरु गर्नुपर्छ। जबसम्म डेंगु सङ्क्रमणले मलाई पनि समस्या पार्न सक्छ भनेर आत्मबोध गर्न सकिर्दैन तब सम्म यो सङ्क्रमणलाई निर्मुल पार्न गाह्रो हुन्छ।”
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij