
मलाई चुलबुले चुलबुले बनायो सपना देखायो हो अल्लाले जोवनले
मेरै होसै उडायो भोक प्यासै हरायो हो अल्लारे जोवनले …
नेपाल सम्वत् ११४५, चिल्लाथ्वः १२ द्वादसी, (२७ फागुण, २०८१, ११ मार्च, २०२५) मंगलबार, बाँपीझ्याला । जे हुन्छ, जसो हुन्छ अल्लारे जोवन,यौवन र बैंसमा हुन्छ । यति बेला मन चुलबुल चुलबुल हुन्छ, चञ्चले हुन्छ, चकचके हुन्छ, छुकछुके हुन्छ । आँफू कहाँ छु ? के गर्दैछु ? के सोच्दैछु केहि पत्तो हुदैन । अल्लारे जोवनले होस उडाउँछ, भोजनको भोकप्यास हराए पनि यौवनको भोकप्यास बल्झाउँछ, कोमल अङ्ग, अङ्गमा विभिन्न रङ्गहरुको संयोजन हुन्छ जुन रङ्ग उन्मादक हुन्छ । त्यो उन्मादले मन ठेगानमा रहदैन, त्यहि उन्मादले छमछम नचाउँछ पनि शरदमा पनि पानीले रुझाउँछ ।
अल्लारे जोवनमा सपना पनि रङ्गिन देखिन्छ । मनको एउटा साथी सपनीमै झल्झली देखिन्छ अनि विपनीमा आउने साथी कस्तो होला ? कहाँ होला ? कहिले भेटिएला भन्ने खुल्दुली मन भरि संगालिन्छ । अल्लारे जोवनले हसाउँछ पनि, रुवाउँछ पनि एकोहोरो टोलाउने पनि बनाउँछ ।
अल्लारे जोवनको बेला आउने उथलपुथल, चुलबुलपन अनि यो बेला मनले संगाल्ने विभिन्न भावहरु समेटेर लेखिएको गीत ‘अल्लारे’ भर्खरै सार्वजनिक भएको छ । चर्चित एवं कालजयी गीत ‘म तिम्रो शहर छोडी टाढा टाढा जादैछु …देखि बत्ती बालि खोजूँ म कहाँ, झरेको फूल नटिप, कति चञ्चल, बबिना भट्टराईको स्वर तथा संगीतमा ’माया आँफै हुन्छ, लाउन पर्दैन’ सम्मका गीत लेख्ने बरिष्ठ गीतकार बि.बि. थापाले लेखेका हुन् । गीतमा बबिना भट्टराईको स्वर तथा संगीत रहेको छ भने गीतको एरेन्ज रुविन कुमार श्रेष्ठले गरेका छन् । अनामनगर स्थित म्युजिक नेपालको स्टुडियोमा नकुल कार्कीले रेकर्ड गरेका उक्त गीतको मिक्सिङ तथा मास्टरिङ प्रकाश खरेलले गरेका छन् । गीतको भिडियोमा बीना राउतले अल्लारे जोवन छल्कने गरि अभिनय गरेकी छिन् । राजिव करनको कोरियोग्राफी रहेको भिडियोको निर्देशन रोशन पुरीले गरेका छन् ।
भर्सटाइल गायिका तथा संगीतकार बबिना भट्टराईले ‘अल्लारे’ गीत सार्वजनिक भएको खुसी साट्दै भन्छिन् ‘मेरो गायनमा अहिले सम्मको फरक गीत हो यो, अरु धेरै किसिमका गीत, गजल, चारु तथा भजनमा स्वर तथा संगीत दिए पनि दर्शक श्रोताहरुलाई छमछमी नचाउने गीत नआइरहेको सन्दर्भमा दर्शक, श्रोताको माग अनुसार अल्लारे गीत मा मैले स्वर तथा संगीत दिएकी हुँ, मलाई विश्वास छ फागू पूर्णिमाको पूर्व सन्ध्यामा सार्वजनिक भएको ‘अल्लारे’ गीतमा मेरा दर्शक, श्रोताहरु छमछमी नाच्नु हुनेछ, रमाउनु हुनेछ, गीतलाई माया गरिदिनु हुनेछ । गीत सुनेर तथा हेरेर गीतको बारेमा आफ्नो अमुल्य सल्लाह,सुझाव दिन पनि मेरा दर्शक तथा श्रोताहरुलाई अनुरोध गर्दछु साथै यस गीतको श्रृजनामा जोडिने सम्पूर्ण टिम प्रति आभार व्यक्त गर्दछु ।’
‘हसाउँछौ तिम्रै मर्जी, रुवाउँछौ तिम्रै मर्जी….’ बोलको अविनाश थापाको शब्द तथा दिपक शर्माको संगीतमा पहिलो गीत गाएकी बबिनाकोे १६ वर्ष भन्दा बढिको संगीत यात्रामा विभिन्न गीत तथा भजनहरुमा स्वर तथा संगीत दिएर उनले नेपाली श्रोता, दर्शकको अपार माया पाएकी छिन् । सुगम संगीत तथा भक्ति संगीत पारखी दर्शक तथा स्रोताको मुटुको ढुकढुकी बनेकी छिन् । संगीत क्षेत्रबाट चरमचुलीमा पुग्ने जीवनको अभिष्ट लिएर संगीतयात्रामा यात्रारत् बबिनाका भगवान श्री कृष्णका भजनहरु काले काले कृष्ण, मधुराष्टकम्, महामन्त्रको रुपमा जपिने हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ..हरे राम हरे राम राम राम हरे हरे, अच्युतम् केशवम् रामानारायणम्, श्री कृष्ण गोविन्द हरे मुरारे, अच्युताष्टकम लगायत भगवान श्री राम, महादेव, हनुमान चालिसा, दुर्गा भजन, गायत्री मन्त्र लगायतका विभिन्न भजनहरु बीणा भक्ति युट्व च्यानलमा संग्रहित रहेका छन् । उनका व्यवसायिक गीतहरु उनको आफ्नै ‘बबिना भट्टराई’ युट्व च्यानल मार्फत सार्वजानिक हुदै आएका छन् भने महाशिवरात्रीको अवसरमा ‘जय जय शम्भु’ भजन सहित उनले आफ्नै भजन च्यानल ‘श्री भजन्स्’को सुरुवात गरेकी छिन् ।
नेपाली संगीत क्षेत्रको इतिहासमा नै लमजुङका चारुकार लक्ष्मी प्रसाद मिश्रको शब्द रहेको पहिलो ‘चारु’ मा संगीत तथा स्वर दिएर उनले नेपाली चारु गायन तथा संगीतमा आँफूलाई पहिलो ‘चारु’ गायिका तथा संगीतकारको रुपमा स्थापित गरेकी छिन् ।
नौलो डिजिटल युट्व च्यानल मार्फत ‘अल्लारे’ गीतको प्रिमियर भइरहदा उनी म्युजिक नेपालको स्टुडियोमा कुमार महाराज, विकास सुनार र रत्नका साथमा उनको नयाँ एवं फरक गीत ‘अपराजिता’ मा बाजाको तालमेल मिलाउदै थिइन् । भर्खरै ‘अल्लारे’ गीत बजारमा आउँदा उनी समाजसेवी एवं बालचिकित्सक अपराजिता अधिकारीको स्मृतिमा हरिराम पौडेलले लेखेका मार्मिक शब्दहरुमा आफ्नो संगीत सहित स्वर भर्दै थिइन् । यसर्थ गायिका तथा संगीतकार अल्लारे र चञ्चल गजल जस्तो छमछम नचाउने गीत, गजल, अपराजिता जस्तो स्मृति समेटिएको गीत, पिरतीको गीत जस्तो प्रेमिल गीत, के हुन्छ होला जस्तो जीवन दर्शनको गीत, तिमी नमर्नु है जस्तो सन्देशमुलक गीत र बालबालिकाको जिव्रोमा झुण्डिने दर्जनौ बालगीत गाउन सक्ने, त्यस्ता भावका गीतमा संगीत भर्न सक्ने खुवी भएकी भर्खटाइल गायिका हुन् भन्ने पुष्टि गरेको छ ।
गीत अल्लारे….
मलाई चुलबुले चुलबुले बनायो सपना देखायो हो अल्लाले जोवनले
मेरै होसै उडायो भोक प्यासै हरायो हो अल्लारे जोवनले …
लाली गुराँसको रंग सर्यो मेरो कोमल अंग अंगमा
सरमैले ढाक छोप गरि मन बस्यो सिन्दुरी रंगमा
मलाई छमछम नचायो मलाइ पानीमा रुझायो हो अल्लारे जोवनले !
सपनामा एउटा साथी देख्दैछु झल्झली झल्झली
कस्तो होला कहाँ होला मच्चिन्छ खुल्दुली खुल्दुली
मलाई हसायो रुवायो मलाई टोलाउने गरायो अल्लारे जोवनले !
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij