नेपाल सम्वत् ११४६, दिल्लागाः ८ अष्ठमी (२१ साउन, २०८३, ६ अगष्ठ २०२६) बिहीबार, बाँपिझ्याला । अभिनेत्री प्रियंका कार्की अभिनीत फिल्म **‘मास्टर्नी’**को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत फिल्मको ट्रेलर सार्वजनिक गरेको हो।
सार्वजनिक ट्रेलरले पारिवारिक सम्बन्ध, अपराध र रहस्यलाई केन्द्रमा राखेर निर्माण गरिएको कथावस्तुलाई रोमाञ्चक ढंगले प्रस्तुत गरेको छ। ट्रेलरमा एउटी आमाले आफ्नी छोरीको सुरक्षाका लागि गर्ने संघर्ष, रहस्यमय घटनाक्रम, एक नेताकी छोरी बेपत्ता भएपछि विकसित हुने परिस्थिति तथा प्रहरी अनुसन्धानलाई मुख्य रूपमा देखाइएको छ। विभिन्न पात्रबीचको शंकास्पद सम्बन्धले फिल्मलाई क्राइम थ्रिलर र मर्डर मिस्ट्री शैलीमा अघि बढाएको संकेत ट्रेलरले दिएको छ।
फिल्ममा प्रियंका कार्की र सिम्रन खड्का आमाछोरीको मुख्य भूमिकामा छन्। साथै आर्यन सिग्देल, अनुपविक्रम शाही, प्रमोद अग्रहरी, सरोज खनाल, गौरी मल्ल, ऋचा शर्मा, रक्षा थापा, सन्दीप क्षेत्रीलगायत कलाकारको अभिनय रहेको छ।
ट्रेलरमा दीपकराज गिरी र जितु नेपाल पनि देखिएका छन्। उनीहरूको भूमिका अतिथि कलाकारका रूपमा रहेको अनुमान गरिएको छ।
सुभेन्दु घोष को निर्देशन रहेको फिल्मको कथा स्वयं प्रियंका कार्कीले लेखेकी हुन्। पटकथा शान बस्न्यातले तयार पारेका हुन् भने संवाद लेखनमा प्रियंका र शानको सहकार्य रहेको छ।
आयंका फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्की हुन्। कार्यकारी निर्मातामा सुरक्षा सिंह मल्होत्रा र सिमोस सुनुवार रहेका छन्। छायांकन युवराज इन्दोरियाले गरेका हुन् भने सम्पादन राजा सिंह सिदुले गरेका छन्।
फिल्म ‘मास्टर्नी’ आगामी भदौ ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको निर्माण टिमले जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij