यसपालि पहिलो पटक चाँदीको मोहर निकाल्ने राजाका रूपमा मानिएका इन्द्रसिंहदेवको प्राचीन सहर दोलखामा अवस्थित भीमेश्वरको दर्शन गर्ने साइत जु¥यो । भीमेश्वर मन्दिरबाट तल ओर्लदै थिएँ, एउटा नचिताएको दृश्य देख्न पुगें । तलतिरबाट महिलाहरूमहादेव र पार्वतीको तस्बिर अंकित ब्यानर, झण्डा बोकेर ठूलो स्वरमा बाजा बजाई एक महिने माधवनारायणको भजन गाएर मन्दिरतिर आइरहेका थिए । महिलाको अन्तिममा मात्र केही पुरुषदेखिन्थे । मैले कौतूहलताबस दोलखाली संस्कृतिका विविध पक्षमा निरन्तर कलम चलाइरहनुभएका प्राध्यापक डा. श्याम जोशीसँग जिज्ञासा राखें–‘यहाँ महिलाहरूले माधव गाउने चलन अगाडिदेखि नै थियो कि अहिले मात्र गाउन थालेका हुन् ?’

उहाँले मलाई जानकारी दिन थाल्नुभयो ।
‘पहिला–पहिला दोलखामा महिलाले नाचगानमा भाग लिए भने बहुलाही हुन्छे भन्ने जनधारणा थियो र नाचगान तथा परम्परागत दाफा भजन गाउनमा महिलालाई बन्देज थियो । सोही कारण २०३० सालमा मैले दोलखा नेवारी भाषामा ‘मिसामी’ नाटक लेखेर मञ्चन गराएँ । यसमा नायिका र नायिकाकी सासूलगायत सबै महिला चरित्रमा पुरुषले नै अभिनय गरेका थिए । यसरी उतिबेला महिलाले नाचगान गर्न नहुने, भजन कीर्तन गर्न नहुने, विवाहमा जन्त जान नहुने, मलामी जान नहुने, शिक्षा दिन नहुने कुरामा बन्देज थियो । महिला साक्षरता बढेसँगै विस्तारै महिलाघरबाहिरका काममा सहभागी हुन थाले र स्कुलतिरका नाचगानका कार्यक्रममा सहभागी हुनथाले ।’

एक महिना लामो स्वस्थानी ब्रतकथा पौष शुक्ल पूर्णिमामा आरम्भ हुन्छ र माघ शुक्ल पूर्णिमाका दिनमा अन्त्य हुन्छ । अहिले स्वस्थानी ब्रतकथा हुने बेला माधव गाउने काममा धेरैजसो महिलाकै सहभागिता देखिन्छ । पहिला यो कार्य पुरुषहरूले मात्र गर्थे र महिला बिल्कुलै हुँदैनथे ।
पौष शुक्ल पूर्णिमाको सुरुवातदेखि नै केही भक्तजनबिहान सबेरै राइती भनिने ऐतिहासिक ढुङ्गाको तीन धारामा गएर मुख धोई गणेश मन्दिरअगाडि भेला हुने गर्छन् । त्यहाँबाट हार्मोनियम, तबला र शंख बजाएर शिव र पार्वतीलाई समर्पित माधव भनिने भक्ति गीतगाउँदै अगाडि बढ्छन् र भीमेश्वर मन्दिर पुग्छन् । कसै–कसैले माधवनारायण, शिव, पार्वती एवं विभिन्न देवीदेवताका चित्र कोरिएका प्लेकार्ड बोकेका हुन्छन्। यो एक महिनासम्म प्रत्येक दिन जारी रहन्छ र स्वस्थानी कथा वाचनको अन्तिम दिन माघ शुक्ल पूर्णिमाका दिन समाप्त हुन्छ ।

स्वस्थानी कथा वाचनको अन्तिम दिन माघ शुक्ल पूर्णिमामा भक्तजनहरू त्रिपुरासुन्दरी मन्दिरको पछाडि ‘काँलरवन’ को तल्लो भागमा अवस्थित दोलखाको पवित्र स्थान मानिने वाराणसी जान्छन् । सहस्रधारा भनेर चिनिने यो जात्रा एक प्रकारको जलयात्रा हो। सहस्रधारा बोक्न तयार भएका दस–बाह्र जना केटा त्यहाँका ढुंगेधाराहरूमा नुहाउँछन् । ब्राह्मणले पहिले संकल्प नामको अनुष्ठान गर्छन्, त्यसपछि केटाहरूले त्यहाँको धाराबाट पवित्र पानी पालैपालो कलशमा (माटोको पानीको भाँडो) थापेर बाँसको फ्रेममा राखी टाउकामा बोकेर सहरतिर बढ्छन् । कलशमा धेरै स–साना प्वालहुन्छन्, जहाँबाट जोडले पानी निस्कन्छ । यसैलाई ‘सहस्रधारा’ भनिन्छ।



विशेष प्रकारको शास्त्रीय भजन, संगीतका साथमा वाराणसीबाट सुरु भएको सहस्रधारा यात्रा सहरका विभिन्न भाग हुँदै माथिल्लो टोलको सिम्बुथानतिर लाग्छ । अन्ततः भीमेश्वर मन्दिर पुगेपछि यस वर्षको यो पर्वको समापन हुन्छ । विगतमा यो काम पनि पूर्णतः पुरुषहरूले मात्र गर्थे । अहिले पनि सहस्रधारा बोक्ने कार्य केटाले मात्र गरे पनि महिलासमेत भजन टोलीमा मिसिएर सहस्रधारा यात्रामा सहभागी हुन्छन् ।
समाचार सम्प्रेशनको लागि नारी डटकममा प्रकाशित यस लेख । दोलखावासीको तर्फबाट हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछौं आदरणिय नुरुजा राजभण्डारीज्यूलाई । जय दोलखा भीमेश्वर ।
बाँपीझ्याला डटकम परिवार, दोलखा ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij