स्वस्थानी व्रतकथासँगै एक महिनासम्म चल्ने माधवनारायण पर्व पौष शुक्ल पूर्णिमामा शुरु भएर माघ शुल्क पूर्णिमा अन्त्य हुन्छ । माधवनारायण पर्व श्री स्वस्थानी ब्रत कथा सँग मेल खाए पनि मनाइने तरिका फरक छ । यो पर्व भगवान माधवनारायण वा भगवान विष्णुमा समर्पित हुन्छ । मानिसहरु मन्दिरमा ३० दिनसम्म व्रत बसेर हिन्दू त्रिदेब मध्ये एक माधवनारायणको पूजा गर्ने गर्दछन् । यो पर्व विशेषगरी काठमाडौं उपत्यकाका साँखु र भक्तपुरमा मनाइन्छ ।
भक्तपुर र साँखुमा व्रत बस्ने महिलाले नदीमा नुहाएर उदाउँदो सूर्यलाई अर्घ दिएर आराधना गर्छन् । उपवास बसेका मानिसहरु आधा नाङ्गो शरीरमा माधवनारायणको जप गर्दै या त लडेर वा दण्डवत गरेर बाटोमा हिँड्छन् । साँखुको एउटा मन्दिर बाहिर साली नदी नामक नदी छ जहाँ भगवान शिवकी पत्नी पार्वतीले यस महिनामा स्वस्थानीको लामो व्रत बसी नुहाउनुहुन्थ्यो भन्ने गरिन्छ।
माधवनारायणको पर्वमा मानिसहरु जम्मा भएर स्वस्थानी ब्रतकथा सुनेर महिनाभर व्रत बस्ने गर्दछन् । नारायण भगवान विष्णुको विभिन्न रूप मध्ये एक हो। विष्णुको विभिन्न १२ महिनामा विभिन्न नामले पूजा गरिन्छ। माधव नारायण भनेको माघ महिनामा भगवान विष्णुलाई पुकार्ने र पुज्ने नाम हो। त्यसैले यो पर्वलाई माधवनारायण पर्व भनिन्छ । “विष्णु पुराण“ मा उल्लेख गरिए अनुसार, भगवान विष्णु र देवी बज्रयोगिनी दुबैको वर्षको बाह्र महिनाका लागि १२ नामहरू छन्। नेपाली दशौं महिना माघको लागि उनीहरुको नाम क्रमशः माधवनारायण र श्री स्वस्थानी भएकाले माधवनारायण र स्वस्थानी दुवै उही महिनामा सँगै पूजा गरिन्छ ।
विष्णु पुराणमा भनिएको छ कि ब्रह्माण्डको सृष्टि गरेपछि ब्रह्माण्डको रचयिता र संरक्षक भगवान विष्णु शक्तिहीन भएका थिए। शक्ति पुनः प्राप्त गर्न उनी काठमाडौंको साँखु आएका थिए । त्यहाँ उनले तीस दिनसम्म व्रत बसी देबि स्वस्थानी को रुपमा बजयोगिनीको पूजा गर्न थाले । उनले गरेको यो पवित्र कार्यले उनलाई ब्रह्माण्डको सर्वज्ञ शक्तिको रूपमा पुनस्र्थापित गर्न मद्दत ग¥यो। अर्को भनाइ अनुसार माधव नारायण दैत्य मायासुरको बधगर्ने शक्ति प्राप्त गर्न स्वस्थानी देवीको व्रत बस्न साँखुमा आएका थिए । यसका कारण अहिले भक्तजनहरु ‘माधव, माधव’ भन्दै एक महिनासम्म व्रत बसेर भगवान माधवनारायणको पूजा गर्ने गर्छन् ।
दोलखामा माधवनारायण पर्ब अलि फरक तरिकाले मनाइन्छ । पौष शुक्ल पूर्णिमाको शुरुवातको दिनदेखि नै केही भक्तजनहरू बिहान सबेरै राइती भनिने ऐतिहासिक ढुङ्गाको धारामा गएर मुख धोएर गणेश मन्दिर अगाडि भेला हुने गर्दछन् । त्यहाँबाट माधव नारायण, शिव र पार्वतीलाई समर्पित भक्ति गीतहरु गाउँदै बाजा बजाएर अगाडी बढ्छन र भीमेश्वर मन्दिर पुगेर समाप्त हुन्छ । यसलाई माधब गाउने भनिन्छ ।
कसै–कसैले माधवनारायण, शिव र पार्वती लगायतका विभिन्न देवताका चित्र कोरिएका प्लेकार्ड बोकेका हुन्छन। यो राइती निरको महादेव मन्दिर र रास्नी जस्ता कतिपय ठाउँमा एक जनाले तीन पटक चर्को स्वरले ‘श्री भगवान महादेव की, श्री देवी पार्वती की, श्री माधव नारायण की’ भनेर भट्याउछ र अरूले चर्को स्वरले ‘जय’ भन्छन् । नजिकै ड्वाकुलुङ टोलमा रहेको देवी सरस्वतीको आराधना गर्न रास्नीमा चर्को स्वरमा भट्याउने गरिएको हो भनिन्छ ।
प्रत्यक दिन भजन गायन नगरको पश्चिममा रहेको गणेश मन्दिरबाट सुरु भई तल्लोटोल, टसिचा, माथिल्लो टोलको शिम्भुथान हुँदै शहरको उत्तर– पूर्वको सानु पहाडमा रहेको भीमेश्वर मन्दिरमा पुगेर समापन हुन्छ । तर सरस्वती पूजाको दिन गायन समूह टसिचा टोलबाट ड्वाकुलुङ्गा टोलमा प्रवेश गर्छ, त्यहाँ माधवनारायणको गीत गाउँदै सरस्वती मन्दिरको परिक्रमा गर्छ र एकजनाले ‘श्री सरस्वत माता की’ भन्दै भट्याउंछ र अरुले ‘जय’ भन्दै जवाफ दिन्छन्। ड्वाकुलुङ्गा टोल बाट सिधै माथिल्लो टोलको सिम्बुथान हुँदै भीमेश्वर मन्दिर पुग्छन् र समाप्त हुन्छ । यो एक महिनासम्म प्रत्येक दिन जारी रहन्छ र स्वस्थानी कथा वाचनको अन्तिम दिन माघ शुक्ल पूर्णिमाको दिन समाप्त हुन्छ ।
स्वस्थानी कथा वाचनको अन्तिम दिन माघ शुक्ल पूर्णिमाको दिन भक्तजनहरू त्रिपुरासुन्दरी मन्दिरको पछाडि ‘कालरवन’ नामक जङ्गलको तल्लो भागमा अवस्थित दोलखाको पवित्र स्थान मानिने वाराणसी जान्छन् । स्वस्थानी ब्रतकथामा भनिएको छ कि सतीदेवीको शव बोकेर शिवजी वाराणसी पुग्दा टाउको (शिर) तल खसेको थियो जसबाट विश्वेश्वर महादेवको उत्पत्ति भएको थियो।
सहस्राधारा बोक्न तयार भएका दस–बाह्रजना केटाहरू त्यहाँका ढुंगे धाराहरुमा नुहाउने गर्छन् । ब्राह्मणले पहिले संकल्प नामको अनुष्ठान गर्छन्, त्यसपछि केटाहरूले त्यहाँको धाराबाट पवित्र पानी पालैपालो कलशमा (माटोको पानीको भाँडो) थापेर बाँसको फ्रेममा राखेर टाउकोमा बोकेकोझैँ गरेर सहरतिर लैजान्छन्। । कलशमा धेरै स–साना प्वालहरू हुन्छन जहाँबाट जोडले पानी निस्कन्छ जसलाई ’सहस्र धारा’ भनिन्छ। निक्की थापा र राजीव गुरुङ भन्छन्– “ सहस्र धारा कलशको शाब्दिक अर्थ “हजारौं पराल भएको पानीको भाँडो हो।
प्रत्येक कलशको घाँटीमा माधव नारायणको चित्र कोरिएको हुन्छ। कलशको शरीरमा धेरै स–साना प्वालहरू छन्, प्रत्येकमा एक फुट लामो गहुँको परालले पानीको प्वालको रूपमा काम गर्न घुसाइएको हुन्छ। यो डिजाइन टाउकोको माथि रहेको १००८ वटा पात भएको कमल, चक्रको प्रतीक हो। कलश दुई खुट्टा बाँसको फ्रेममा सेट गरिएको हुन्छ जुन केटाहरूले बोक्छन्। कलशमा रहेको पानीलाई संसारका सबै पवित्र नदी र महासागरको स्रोत मानिन्छ ।”
सहस्त्रधारा बोकेका केटाहरू र अरू केही अतिरिक्त केटाहरूलाई विभिन्न देवताको रूपमा सजाइएको हुन्छ । उनीहरूले सहस्रधारा बोक्ने फ्रेमहरू पनि विभिन्न देवता र फूलहरूको चित्रहरूले सजाइएको हुन्छ। ‘सहस्रधारा’ भनेर चिनिने यो जात्रा एक प्रकारको जलयात्रा हो। स्थानीयले देवीकोट भन्ने गरेको त्रिपुरासुन्दरी मन्दिरको परिक्रमा गरेर यो यात्रा सहर तिर अगाडि बढ्छ । जुलुसको मार्ग अन्य धार्मिक जात्राको मार्ग जस्तै हो ।
जात्रा विशेष प्रकारको शास्त्रीय संगीत बजाउँदै र मानिसहरूको समूहले शास्त्रीय भजन गाउँदै जारी रहन्छ। स्वस्थानी ब्रतकथामा महादेवले सतीदेवीको शव बोकेर देवीकोट पुगेपछि देब्रे घुँडा खसेर मातेश्वर महादेव उत्पन्न भए भन्ने उल्लेख छ । वाराणसीबाट सुरु भएको सहस्र धारा यात्रा डुङ्गल, पिङ्गल, नक्छे, ड्वाकुलुङ्गा, गणेश टोल र माथिल्लो टोलको सिम्बुथानसम्म तिर लाग्छ ।
विगतमा जस्तो नभई अचेल महिलाहरुले पनि माधव नारायण गाउन र भजन गाएर सहस्राधारा यात्रामा भाग लिन्छ।
स्वस्थानी पर्वको अन्तिम दिन व्रत बस्ने महिला तथा अन्य भक्तजनहरूले सडकको छेउमा उभिएर सहस्रधारा यात्राको स्वागत गर्दै कलश बोकेका केटाहरूलाई रोटी, फलफूल र भेटी (पैसा) चढाएर पूजा गरी केटाहरुको कलशमा निलोखु (चोखो पानी) हाल्छन् र माधव नारायणको आशीर्वादको लागि आफ्नो मनोकामना पूरा होस् भनेर प्रार्थना गर्छन।
अन्ततः भीमेश्वर मन्दिर पुगेपछि यस वर्षको यो पर्वको समापन हुन्छ । यो पर्व आयोजना गर्न र मनाउन गुठीको ब्यबस्था छैन । रहर गर्नेहरू स्वइछयाले जात्रामा सहभागी हुन्छन। कलश बोक्ने केटाहरूले सहस्रधारा बनाउनको लागि आवश्यक सबै सामग्रीहरू आफ्नै खर्चमा जम्मा गरेर बनाउँछन्।
एउटै केटाहरूले लगातार दुई वा तीन वर्षसम्म सहस्रधारा बोक्ने काम गर्छन।अत ः यो जात्रा लाई लोप हुन् बाट बचाउन सानो नै भए पनि अक्षय कोषको ब्यबस्था गर्नु जरुरि देखिन्छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij