
नेपाल सम्वत् ११४५ प्वहेलाथ्वः १५( २९ पुष , २०८१) जनवरी १३, २०२५ , सोमबार, बाँपीझ्याला ।गण्डकी प्रदेशमा १० देखि १४ वर्ष उमेर समूहका एक लाख १८ हजार सात सय ७४ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाइने भएको छ । खोप अभियानअन्तर्गत प्रदेशका ११ वटै जिल्लाका तोकिएको उमेर समूहका किशोरीलाई आगामी माघ २२ गतेदेखि फागुन ६ गतेसम्म खोप प्रदान गरिने भएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले खोप अभियान सञ्चालनका लागि अहिले जिल्ला र स्थानीय तहमा पूर्वतयारीका काम भइहेको जानकारी दिए । “खोप प्रदान गर्ने स्वाथ्यकर्मीसहित अन्य सरोकार भएका पक्षलाई अहिले अभिमुखीकरण कार्यक्रम सञ्चालन भइहेको छ”, उनले भने, “उक्त खोपबाट १० देखि १४ वर्षसम्मका किशोरीहरू वञ्चित हुनु नपरोस् भनेर अहिले समुदायस्तरमा प्रचार प्रसार र सचेतनाका कार्यक्रम पनि गरिरहेका छौँ ।”

संघ सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘एचपिभी’ खोपलाई राष्ट्रिय खोप तालिकामा समावेश गरेर यो खोपलाई नियमित खोप सेवाको रूपमा प्रदान गर्ने नीति लिए बमोजिम कक्षा ६ देखि १० सम्मका छात्राहरु र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाई लक्षित गरी खोप प्रदान गर्न लागिएको हो । भविष्यमा पाठेघरको मुखको क्यान्सर हुनबाट किशोरीहरुलाई सुरक्षित गर्ने लक्ष्यसहित देशव्यापी रुपमा ‘एचपिभी’ खोप अभियान सञ्चालन हुन लागेको महानिर्देशक खड्काले बताए ।
यो अभियान सम्पन्न भएपछि कक्षा ६ का छात्राहरु र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरुलाई नियमित खोपका रुपमा यो खोप प्रदान गर्ने सरकारको नीति रहेको उनको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालय, बागलुङका प्रमुख घनश्याम सापकोटाले स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीलाई खोप अभियान सञ्चालनसम्बन्धी दुई दिनको अभिमुखीकरण तालिम प्रदान गरिएको बताए । उनका अनुसार बागलुङमा ११ हजार पाँच सय ५५ जना किशोरीहरुलाई खोप प्रदान गर्ने लक्ष्य छ । नेपालमा पाठेघरको मुखको क्यान्सरका बिरामी र मृत्यु हुनेको सङ्ख्या हरेक वर्ष उच्च रहेकाले उक्त रोग निवारणमा खोप अभियानले योगदान पुर्याउने प्रमुख सापकोटाले बताए । धवलागिरि अस्पतालका स्त्री रोग विशेषज्ञ डा विजय ओझाले ‘एचपिभी’ खोपले पाठेघरको मुखको क्यान्सर हुने जोखिमलाई ९८ प्रतिशतले घटाउने बताए ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij