Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

भक्तपुर राँगो दौडाउने जात्राको तयारी सुरु

भक्तपुर राँगो दौडाउने जात्राको तयारी सुरु

नेपाल सम्वत् ११४४, गुंलाथ्वः ३ (२३ साउन, २०८१) बुधबार, बाँपीझ्याला । भक्तपुरको परम्परागत ऐतिहासिक तथा सांस्कृतिक खःमेय् (राँगो दौडाउने) जात्राको तयारी सुरु गरिएको छ । खःमेय् जात्रा प्रत्येक वर्ष बडादसैँको महानवमीको साँझ मनाउने परम्परा रहिआएको छ ।

जात्राका लागि आवश्यक खःमेय् अर्थात राँगोलाई नालाबाट ल्याई नवदुर्गा मन्दिरमा राखिएको छ । नवदुर्गा भवानीलाई चढाइने खःमेय्को टाउकोमा दुई चक्रसहित शरीरमा सातवटा चक्र भएको, निख्खर कालो, पुच्छर घुँडाभन्दा तलसम्म आएको, सिङ अगाडि फर्केको, कानमा कुनै खोट नभएको, शरीरभर कुनै घाउचोट नलागेको, कम्तीमा पनि १०० धार्नी तौल भएको मोटोघाटो राँगो चाहिन्छ ।

उक्त राँगोलाई करिब दुई महिना नवदुर्गा मन्दिरमा राखेपछि महानवमीको साँझ दौडाएर नवदुर्गा गणले बलि दिने परपम्परा रहेको नवदुर्गा मन्दिरका रेखदेख गर्दै आउनुभएका शिवभक्त बनमालाले बताए ।

धार्मिक, सांस्कृतिक र ऐतिहासिक रुपले महत्वपूर्ण मानिने खःमेय्लाई महिषासुर दैत्यको प्रतीकका रुपमा लिइ भक्तपुरमा उक्त जात्रा मनाइदैं आएको छ । महानवमीका दिन त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानीका रुपमा परिणत हुने हुँदा त्यसअवसरमा महिषासुरको बध गर्ने धार्मिक मान्यताअनुसार खःमेय्को बलिसहितको तान्त्रिक पूजा गरेर जात्रा मनाउने गरिएको संस्कृतिविद्हरुको भनाइ छ ।

बध गरिएको खःमेय्को स–साना मासुका टुक्रा प्रसादका रुपमा घर लगेर सुकुटी बनाउने र त्यसलाई धुलो पारेर घ्यूमा मुछी धुप बनाइन्छ । उक्त धुप लक्ष्मीपूजाका दिनमा बाल्ने चलन रहेको छ । त्यस दिन धुप बाल्दा घरमा भूतप्रेत भाग्ने, शत्रु नाश हुने र लक्ष्मीले बास गर्ने जनविश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार