
नेपाल सम्वत् ११४४ दिल्लाथ्वः ७, (२९ असार, २०८१) शनिबार, बाँपिझ्याला । माया, प्रेममा ठुला ठुला आशा राखिन्न, मनको माया नै सबैभन्दा ठुलो हुन्छ अरु सबै कुरा गौण हुन्छन् । एउटा सानो घर चाहे त्यो झुपडी नै किन नहोस्, त्यहि घरमा फक्रन्छ माया अनि त्यहि घरमा नै मौलाउँछ पिरती । एकअर्काको भर, एकअर्का प्रतिको विश्वास, एकअर्का प्रतिको समर्पणभाव यी सबै कुरा त्यहि सानो घर भित्र अटाउँछन् ।
जानेर या नजानेर लगाएको त्यो माया, सानो घर भित्र झांगिएको त्यो मायाको यात्रा जीवनभरिलाई एउटै रथमा एकनासले अघि बढ्नेछ । त्यहाँ कतैबाट विरोधाभास आउने छैन, कतैबाट असन्तुलन आउने छैन, कतैबाट अवरोध आउने छैन, एकअर्का प्रतिको प्रेमिल भावले सदावहार रहनेछ युग युग सम्म । त्यहि सानो घर भित्र अट्नेछ मायाको सानो संसार, दुई मुटुको धड्कन एक हुनेछ, तिनै दुई मुटुको भरमा फक्रनेछ, फुल्नेछ प्रेम ।

जीवभरि तिर्खा मेट्ने पानी उनकै हातले पाउने चाह छ मन भरि । पानीको प्यास अनि मायाको तिर्सना दुवै मेट्न काफी छ उनको साथ । बर्खे भेल सरि मन भरि उर्लेको माया सम्हाल्न पनि कठिन छ उनलाई, उनको साथको चाह मन भरि संगालिएको अनि मन भरि उर्लेको माया एक्लै सम्हाल्न पनि कठिन छ, उनको साथको खाँचो छ यतिबेला । प्रेमिल मन यस्तरी पग्लन्छ त्यति सायद हिमनदी पनि पग्लदैन । मनबाट पग्लेको त्यो प्रीतले यति ठुलो रुप लिन्छ त्यति सायद बर्खाको खहरे पनि उर्लदैन । यसरी उर्लेको मायाको भेल उनले एक्लै कसरी छेक्न सक्नु ? कसरी रोक्न सक्नु ? त्यसैले यो उर्लेको मायाको भेलमा उनले प्रेमिल साथ खोजेकी छिन् एउटा सानो घर भित्र ।
गीतकार नुतन भुसालले लेखेकी प्रेमिल भावको गीत ‘एउटा सानो घर’ पछिल्लो समय विभिन्न सुमधुर गीत, गजल, भजन सहित पहिलो नेपाली चारु गाएर नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बबिना भट्टराईको स्वरमा सार्वजनिक भएको छ । उक्त गीतमा संगीत सुनिल मास्केको रहेको छ ।
नुतन भुसालको को अफिसियल युटुव च्यानल नुतन म्युजिक मार्फत सार्वजनिक गरिएको उक्त म्युजिक भिडियो गोदावरीको सुन्दर पृष्ठभूमिमा छायाकंन गरिएको छ ।

गीतको एरेन्ज संजिव बराइलीले गरेका छन् भने मिक्सिङ र मास्टरिङ किशोर थापाको रहेको छ । ए वान म्युजिशियनको स्टुडियोमा राजेश श्रेष्ठले रेकर्ड गरेका उक्त गीतको भिडियो जस्केलो क्रियशनद्धारा निर्माण गरिएको हो । गीतको भिडियोमा बबिना आफै फिचर्ड छिन् । भिडियोमा यमुना पाण्डेको श्रृङ्गार कलाले सजिदै बबिनाले नुतन भुसालका शब्दका भावहरु भिडियोमा सर्लक्क उतारेकी छिन् ।
यति प्रेमिल गीत कहिले र कसरी लेखियो भन्ने सन्दर्भमा इमेज एफ.एम. ९७.९ मा हरिराम पौडेल संगको एक अन्तर्वार्तामा गीतकार नुतन भुसाल भन्छिन् ‘यो गीत दुई, चार वर्ष अघि नै लेखेकी हुँ, गीत मैले आफ्नै कल्पना र सपनामा लेखेकी थिएँ । गीत रेकर्डको चाँजोपाजो मिलाउने क्रममा सुनिल मास्केको संगीतमा चर्चित गायिका बबिना भट्टराईको स्वरमा रेकर्ड गर्ने योजना बन्यो । योजना अनुसार बबिना जी को स्वरमा गीत रेकर्ड भयो र अहिले जस्केलो क्रियशन संगको सहकार्यमा बबिना जी ले भिडियो तयार गरेर मेरो आफ्नै च्यानलबाट सार्वजानिक भएको छ ।
बबिना जीको स्वरमा गीत निकै मीठो सुनिएको छ भने भिडियो पनि उस्तै राम्रो बनेको छ, बबिना जी को मेहनतको म खुलेर तारिफ गर्छु र आगामी दिनमा बबिना भट्टराईको स्वर र संगीतमा एउटा नारी प्रधान गीत रेकर्ड गर्ने पनि योजना बनाएकी छु, विश्वास छ उक्त गीत पनि दर्शक, श्रोताहरुले मन पराउनु हुनेछ ।’
नुतन भुसालको प्रेमिल भाव रहेको सुन्दर शब्द तथा नेपाली संगीतमा आँफूलाई स्थापित गर्नु भएका संगीतकार सुनिल मास्को संगीतमा पहिलो सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै गायिका बबिना भट्टराई नुतन भुसालका सरल, सरस एवं मीठासयुक्त प्रेमिल भाव बोकेको एउटा सानो घर बोलको गीत गाउँदा आँफू पनि शब्दहरु संगै बहेको, प्रेमिल शब्दहरुले मनको भित्री कुना कुनामा प्रेमिल भाव झंक्रित भएको अनुभव संगाल्न पाएको बताउँछिन् । साथै आगामी दिनहरुमा पनि नुतन भुसालका शब्दहरुमा सहकार्य गर्ने अवसर पाउने विश्वास व्यक्त गरेकी छिन् ।

‘नुतन म्युजिक’ युट्व च्यानलमा ‘एउटा सानो घर’ हेरेर तथा सुनेर कवि तथा गीतकार एवं गजलकार उत्तम विचार लेख्छन् ‘गीत संगीतका फाँटमा एकछत्र राज रचाउन सफल चर्चित गायिका तथा सफल संगीतकार बबिना भट्टराई ज्यूलाई यति सुन्दर मायामा समर्पित गीत पस्किनु भएकोमा साथै सुमधुर शब्द सिर्जना गर्नुहुने नुतन म्यामलाई पनि त्यत्तिकै बधाई एवं शुभकामना ।
नुतन म्युजिक’ युट्व च्यानलमा ‘एउटा सानो घर’ हेरेर तथा सुनेर उत्तम विचार लगायत धेरैले गीतका शब्द, संगीत र स्वर एवं भिडियो हेरेर समग्रमा गीत तथा गीतको भिडियो राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।
‘हसाउँछौ तिम्रै मर्जी, रुवाउँछौ तिम्रै मर्जी….’ बोलको अविनाश थापाको शब्द तथा दिपक शर्माको संगीतमा पहिलो गीत गाएकी बबिनाकोे १६ वर्ष भन्दा बढिको संगीत यात्रामा विभिन्न गीत तथा भजनहरुमा स्वर तथा संगीत दिएर उनले नेपाली श्रोता, दर्शकको अपार माया पाएकी छिन् । सुगम संगीत तथा भक्ति संगीत पारखी दर्शक तथा स्रोताको मुटुको ढुकढुकी बनेकी छिन् ।

संगीत क्षेत्रबाट चरमचुलीमा पुग्ने जीवनको अभिष्ट लिएर संगीतयात्रामा यात्रारत् बबिनाका भगवान श्री कृष्णका भजनहरु काले काले कृष्ण, मधुराष्टकम्, महामन्त्रको रुपमा जपिने हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ..हरे राम हरे राम राम राम हरे हरे, अच्युतम् केशवम् रामानारायणम्, श्री कृष्ण गोविन्द हरे मुरारे, अच्युताष्टकम लगायत भगवान श्री राम, महादेव, हनुमान चालिसा, दुर्गा भजन, गायत्री मन्त्र लगायतका विभिन्न भजनहरु बीणा भक्ति युट्व च्यानलमा संग्रहित रहेका छन् भने उनका व्यवसायिक गीतहरु उनको आफ्नै ‘बबिना भट्टराई’ युट्व च्यानल मार्फत सार्वजानिक हुदै आएका छन् ।
भर्खरै नेपाली संगीत क्षेत्रको इतिहासमा नै लमजुङका चारुकार लक्ष्मी प्रसाद मिश्रको शब्द रहेको पहिलो ‘चारु’ मा संगीत तथा स्वर दिएर उनले नेपाली चारु गायन तथा संगीतमा आँफूलाई पहिलो ‘चारु’ गायिका तथा संगीतकारको रुपमा स्थापित गरेकी छिन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij