Sep 17 2026 | २०८३, आश्विन १ गते

Sep 17 2026 | २०८३, आश्विन १ गते

‘झिंगे दाउ २’को तीज गीत सार्वजनिक, केकी र आँचलको जेठानी–देउरानी झगडा

‘झिंगे दाउ २’को तीज गीत सार्वजनिक, केकी र आँचलको जेठानी–देउरानी झगडा

नेपाल सम्वत् ११४६, गुंल्लागाः ०९, नवमी (२० भाद्र २०८३, ०५, सेप्टेम्वर, २०२६) शनिवार, बाँपिझ्याला । असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली फिल्म **‘झिंगे दाउ २’**को तीज गीत सार्वजनिक गरिएको छ। शुक्रबार ‘धागो छिन्यो चर्खाको’ बोलको गीत ओएसआर डिजिटलको युट्युबमार्फत सार्वजनिक गरिएको हो।

तीजको परिवेशमा तयार पारिएको करिब सात मिनेट लामो गीतको भिडियोमा फिल्मका मुख्य कलाकार केकी अधिकारी र आँचल शर्माबीचको जेठानी–देउरानीको सम्बन्ध र झगडालाई रमाइलो शैलीमा प्रस्तुत गरिएको छ। फिल्ममा केकी जेठानी र आँचल देउरानीको भूमिकामा छन्।

गीतमा केकीका लागि एलिना चौहान र आँचलका लागि रचना रिमालले स्वर दिएका छन्। बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतमा जेठानी–देउरानीबीचको भनाभन र दोहोरीलाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरिएको छ। भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।

केकी र आँचलले गीतले दर्शकको राम्रो साथ पाउने विश्वास व्यक्त गरेका छन्। केही दिनअघि नै गीत सार्वजनिक गर्ने तयारी भए पनि नेपालमा आएको विनाशकारी बाढी र त्यसपछि उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै निर्माण टिमले रिलिज स्थगित गरेको थियो। परिस्थितिप्रति सम्मान जनाउँदै स्थगित गरिएको गीत अहिले सार्वजनिक गरिएको हो।

‘झिंगे दाउ २’ कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा निर्माण भएको हो। फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका छन् भने सुलभ प्रतीक देउजा र समीक्षा देउजा निर्माता तथा रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माता रहेका छन्।

विष्णु घिमिरे ‘कल्पित’को छायांकन, मित्र डी गुरुङको सम्पादन तथा परिच्छेद सेनको पटकथा र संवाद रहेको फिल्ममा केकी र आँचलसँगै महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंहलगायत कलाकारको अभिनय छ।

फिल्मको टिजर यसअघि नै सार्वजनिक भइसकेको छ भने ट्रेलर केही दिनमा सार्वजनिक गर्ने निर्माण टिमले जनाएको छ। यसअघि प्रदर्शनमा आएको ‘झिंगे दाउ’ बक्सअफिसमा सफल भएको थियो। दोस्रो श्रृंखला प्रदर्शनको तयारीमा रहँदा पहिलो फिल्म भने युट्युबमा समेत उपलब्ध छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार