Oct 11 2026 | २०८३, आश्विन २५ गते

Oct 11 2026 | २०८३, आश्विन २५ गते

दसैँमा जुनसुकै कम्पनीका ग्यास सिलिन्डर साट्न पाइने, अतिरिक्त शुल्क नलाग्ने

दसैँमा जुनसुकै कम्पनीका ग्यास सिलिन्डर साट्न पाइने, अतिरिक्त शुल्क नलाग्ने

नेपाल सम्वत् ११४६, यंलागाः १५, औसी (२४ असोज २०८३, १० अक्टोबार, २०२६) शनिवार, बाँपिझ्याला ।  दसैँमा खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न उपभोक्ताले जुनसुकै कम्पनीका ग्यास सिलिन्डर साट्न पाउने भएका छन्। नेपाल एलपी ग्यास उद्योग सङ्घले घटस्थापनादेखि फूलपातीसम्म काठमाडौं उपत्यकाका विभिन्न छ स्थानबाट फरक–फरक कम्पनीका सिलिन्डर साट्न सकिने व्यवस्था गर्न लागेको हो।

सङ्घका अनुसार फरक कम्पनीको सिलिन्डर साट्दा उपभोक्ताले कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन। नेपाल आयल निगमको समन्वय तथा ग्यास विक्रेता महासङ्घको सहकार्यमा सञ्चालन हुने यो सेवा बिहान ९:३० बजेदेखि बेलुका ४ बजेसम्म उपलब्ध हुनेछ।

उपत्यकाका छ स्थानबाट सिलिन्डर साट्न सकिने

नेपाल एलपी ग्यास उद्योग सङ्घका अनुसार काठमाडौं र ललितपुरका विभिन्न स्थानमा रहेका ग्यास उद्योग तथा गोदामबाट उपभोक्ताले सिलिन्डर साट्न सक्नेछन्।

सिलिन्डर साट्न सकिने स्थानहरूमा बालाजुस्थित नेपाल ग्यासको उद्योग, पेप्सिकोलास्थित सगर ग्यासको गोदाम, सुकेधारास्थित बाबा ग्यासको डिपो, सिफलस्थित एभरेस्ट तथा सुगम ग्यासको केन्द्र, कलङ्कीस्थित साईबाबा र श्रीकृष्ण ग्यासको गोदाम तथा ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यासको गोदाम रहेका छन्।

यी केन्द्रबाट उपभोक्ताले आफूसँग भएको एउटा कम्पनीको सिलिन्डर अर्को कम्पनीको सिलिन्डरसँग साट्न सक्नेछन्। यसका लागि थप शुल्क नलाग्ने सङ्घले जनाएको छ।

५८ ब्रान्डका सिलिन्डर बजारमा

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दले चाडपर्वका बेला उपभोक्तालाई ग्यासको अभाव हुन नदिन तथा सिलिन्डर साट्न सहज बनाउन यस्तो व्यवस्था गर्न लागिएको जानकारी दिनुभएको छ।

अहिले बजारमा ५८ वटा ग्यास उद्योगका ५८ ब्रान्डका सिलिन्डर प्रचलनमा छन्। फरक–फरक कम्पनीका सिलिन्डर प्रयोग भइरहेका कारण उपभोक्ताले आफूले प्रयोग गरिरहेको सिलिन्डर साट्न समस्या भोग्दै आएका छन्। कतिपय अवस्थामा एउटा कम्पनीको सिलिन्डर अर्को कम्पनीको सिलिन्डरसँग साट्न उपभोक्ताले तीन सय रुपैयाँसम्म अतिरिक्त शुल्क तिर्नुपर्ने अवस्था रहेको बताइएको छ।

यही समस्यालाई सम्बोधन गर्दै चाडपर्वको समयमा उपभोक्तालाई राहत दिन सिलिन्डर साट्ने व्यवस्था गर्न लागिएको हो। नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले ग्यास उद्योगीहरूसँग छलफल गरी यस्तो सुविधा उपलब्ध गराउने तयारी गरिएको बताउनुभएको छ।

वास्तविक उपभोक्तालाई मात्र सुविधा

सिलिन्डर साट्ने व्यवस्थाको दुरुपयोग रोक्न तथा वास्तविक उपभोक्ताले मात्रै सुविधा पाउने सुनिश्चित गर्न सेवा लिन आउने व्यक्तिको पहिचान खुल्ने विवरण र मोबाइल नम्बर अभिलेखमा राखिने सङ्घले जनाएको छ।

यस व्यवस्थाले डिलर वा अन्य व्यापारीले अनावश्यक रूपमा सिलिन्डर साट्ने तथा सुविधाको दुरुपयोग गर्ने सम्भावना नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

दसैँका बेला ग्यासको माग बढ्ने र उपभोक्ताले विभिन्न कम्पनीका सिलिन्डर प्रयोग गर्ने भएकाले यस्तो व्यवस्थाले खाना पकाउने ग्यासको उपलब्धता तथा वितरणलाई सहज बनाउने अपेक्षा गरिएको छ। अतिरिक्त शुल्कबिना सिलिन्डर साट्न पाउने सुविधाले उपभोक्तालाई आर्थिक भार कम गर्नसमेत सहयोग पुग्नेछ।

नेपाल आयल निगम, ग्यास उद्योगी तथा विक्रेता महासङ्घको सहकार्यमा सञ्चालन हुने यो व्यवस्थाबाट दसैँको समयमा उपत्यकाका उपभोक्तालाई ग्यासको आपूर्ति र सिलिन्डर साटफेरमा सहजता हुने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार