नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः १२, द्वादसी (८ भाद्र २०८३, २४ अगष्ठ २०२६) सोमबार, बाँपिझ्याला । अभिनेत्री तथा निर्देशक रेखा थापा निर्देशित फिल्म **‘माया भनेकै यस्तो होला’**मा समावेश तीज गीत ‘नक्कल पारी’ सार्वजनिक भएको छ। सोमबार बुढासुब्बा डिजिटलको युट्युबमार्फत गीत सार्वजनिक गरिएको हो।
शान्तिश्री परियार र प्रशान्त शिवाकोटीको स्वर रहेको गीतमा प्रशान्त शिवाकोटीको संगीत तथा सुष्मा सिग्देलको शब्द रहेको छ। तीजलाई लक्षित गरी सार्वजनिक गरिएको लोकफ्लेभरको गीतले पछिल्लो समय तीज संस्कृति मनाउनेभन्दा देखाउने माध्यम बन्दै गएको प्रवृत्तिलाई व्यंग्यात्मक रूपमा प्रस्तुत गरेको छ।
विशेषगरी अरूको देखासिकी गर्दै महँगा लुगा तथा गहना लगाउने र त्यसका लागि श्रीमान्सँग माग गर्ने प्रवृत्तिलाई गीतमा चित्रण गरिएको छ। नृत्यप्रधान बिटमा तयार पारिएको गीतमा श्रीमतीका माग पूरा गर्ने श्रीमान्को वाचासमेत समेटिएको छ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकारसँगै दर्जनौँ कोरस कलाकारको सहभागिता रहेको छ। भिडियोको कोरियोग्राफी गम्भीर विष्टले गरेका हुन्। भिडियोमा दिल श्रेष्ठ, पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाह तथा अभिनेत्री खुसी कार्कीले नृत्य गरेका छन्।
‘दिया एन्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भएको फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाहलगायत कलाकारको अभिनय रहेको छ। लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेललगायत कलाकार पनि फिल्ममा देखिनेछन्।
हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ फिल्मका निर्माता हुन्। ध्रुव लम्सालको पटकथा रहेको फिल्मले प्रेमकथामार्फत सामाजिक भावना र नेपाली समाजको परिवेशलाई प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ।
सुदीप बरालको छायांकन तथा बनिश शाहको सम्पादन रहेको फिल्म **‘माया भनेकै यस्तो होला’**मार्फत रेखा थापा करिब आठ वर्षपछि निर्देशनमा फर्किएकी हुन्। फिल्म भदौ २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij