
११ जेष्ठ, बाँपिझ्याला, काठमाण्डौं । नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’को अर्थपूर्ण र मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे विस्तृत उल्लेख गर्छ ।
ट्रेलर बाबुछोराको स्नेही सम्बन्धको दृश्यबाट सुरु हुन्छ । भोजपुरको राई परिवारको खुसी त्यतिबेला संकटमा पर्छ, जतिबेला गाउँमा मोटर आइपुग्छ । मोटरसँगै आउने लाहुरे, उनीहरुले ल्याउने उपहार र त्यसले यो आदिवासी परिवारमा आउने उतारचढावको कथा ट्रेलरले पेश गर्छ ।

छोरा बिन्द्रे (प्रसन राई) र उसको बाबु माइला (दयाहाङ) वरपर कथा घुम्छ । सडकसँगै आउने स्मार्टफोन, सनग्लास, टेलिभिजन, हिपहप संगीतले गाउँको मानवीय सम्बन्ध र सोचाइमा ल्याउने परिवर्तनको कथा यसमा छ ।
ट्रेलरमा दयाहाङ र छोराको भूमिकामा देखिएका प्रसनको अभिनय अब्बल महसुस हुन्छ । पशुपति राई दयाहाङकी पत्नीको रोलमा छिन् । पत्रकार सम्मेलनमा निर्देशक सुब्बाले दयाहाङ राई सुरुमा आफूहरुको छनोट नरहेको बताए ।

‘उहाँको स्टारडम देखेर हामीले नन–एक्टर लिएर काम गर्ने सोच बनाएका थियौं । तर यो भूमिका गर्न उहाँको पनि इच्छा र राई समुदायकै एक्टर भएकाले पनि उहाँलाई कास्ट गरेका हौं,’ सुब्बाले भने ।
दयाहाङले फेस्टिभल सर्किटबाट प्राप्त प्रतिक्रियाले आफूहरुलाई उत्साहित बनाएको बताए । राई समुदायको कथावस्तुमा बनेको यो पहिलो फिल्मलाई दयाहाङले करिअरकै उत्कृष्टमध्येको फिल्मको रुपमा बताउँदै आएका छन् ।
यो फिल्मलाई आमोद राईले निर्माण गरेका हुन् । रामबाबु गुरुङको बाँसुरी फिल्म्स र निर्देशक सुब्बाको मेन्छायम पिक्चर्सको ब्यानरमा बनेको यो फिल्म जेठ २५ गते विश्वभर रिलिज तयारीमा छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij