
१५ माघ, बाँपीझ्याला, काठमाण्डौं । धनकुटाको छथर जोरपाटी गाउँपालिका एकमा रहेको श्रीकृष्ण कृषि सहकारी संस्थाले नेपाल सरकार स्वामित्वकाे दुग्ध विकास संस्थानबाट रकम भुक्तानी नपाएको पाँच महिना भयो । साउन १५ गतेसम्मको भुक्तानी पाएको संस्थाले त्यसयता एक रुपियाँ पनि पाएको छैन । सो संस्थाले दुग्ध विकास संस्थानबाट एक लाख पचास हजार लिटरको करिब ८० लाख रुपियाँभन्दा बढी रकम लिन बाँकी छ ।

सहकारीले दुग्ध विकास संस्थानबाट रकम नपाएपछि कृषकलाई पाँच महिनाको अवधिमा एक रुपियाँ पनि भुक्तानी दिन सकेको छैन । आफूले पाउने रकम माग्दासमेत संस्थानले आनाकानी गर्ने गरेको संस्थाका अध्यक्ष भरत कार्की बताउनुहुन्छ । “हामी भुक्तानी मागको लागि विराटगरसम्म पुग्यौं तर नबिकेको घिउ देखाएर बिक्री भएपछि पैसा दिने भनेर पठायो ” कार्की भन्नु हुन्छ । पैसा समयमै भुक्तानी नपाउँदा कृषक यो पेसाबाटै पलायन हुने अवस्थामा पुग्नुको साथै सहकारीसमेत बन्द हुने अवस्थामा पुगेका कार्कीको गुनासो छ ।
धनकुटा नगरपालिका वडानम्बर १ हिलेस्थित श्री चञ्चलादेवी बहुउद्देश्यीय दुग्ध उत्पादक सहकारी संस्थाको पनि अवस्था उस्तै छ । लामो समयदेखि भुक्तानी राेकिएपछि कृषकलाई पैसा कसरी खुवाउने भन्ने चिन्ता सहकारीलाई छ । पैसा नआएको पाँच महिना भयो, कृषकलाई कसरी भुक्तानी दिने भन्ने चिन्ता छ व्यवस्थापक भीम मल्ले भन्नुभयो । लामो समयदेखि पैसा नदिएको भनेर कृषक आक्रोशित हुन थालेका छन् मल्ल थप्नुहुन्छ ।

दुध उत्पादक कृषकको लागि दुध बिक्री एक मात्र मुख्य आम्दानीको स्रोत हो । उसले आफ्नो सबै खर्च दूध बेचेरै आएको आम्दानीले गर्ने गरेको हुन्छ । तर दुध खरिद गर्ने सरकारीसहित निजी कम्पनीले लामो समयदेखि दुधको रकम निकासी नगरिदिँदा किसानहरु समस्यामा परेका छन् । पाँच महिनादेखि रकम नपाउँदा आफूहरु समस्यामा परेको कृषकको गुनासो छ । धनकुटाका धेरै कृषकको मुख्य आम्दानीको स्रोत नै दुध हो ।व्यावसायिक पशुपालनमा लागेको कृषक अहिले व्यवसायबाटै पलायन हुने अवस्थामा पुगेको धनकुटा मारेकटहरेका कृषक नारद कटुवाल बताउनुहुन्छ । “हामीले साउनको १५ यता पैसा पाएको छैनौं अहिले घाँसदेखि दानापानी सबैको लागि पैसा चाहिन्छ । दुधको पैसै आउँदैन यो पेसामा टिक्ने अवस्थै रहेन” कटुवाल भन्नुहुन्छ ।
लामो समयदेखि दुग्धजन्य परिकारहरु बिक्री वितरण नभई गोदाममै थन्किएकाले भुक्तानी दिन नसकिएको दुग्ध विकास संस्थान विराटनगरले जनाएको छ । दुग्ध उत्पादन बढी सङ्कलन हुन थालेको तर उत्पादित परिकारको बिक्री भने क्रमशः घट्न थालेकाले भुक्तानी रोकीएको दुग्ध विकास संस्थान विराटनगरका प्रमुख प्रमेश्वर चौधरी बताउनुहुन्छ ।
“निजी संस्थाहरुले भन्दा हामीले राम्रो मूल्य दिएका छौं त्यस्तैले अहिले दुग्ध सङ्कलन बढी हुन्छ तर उत्पादनको बिक्री निक्कै कम छ, हामी केही दिनभित्र साउन महिनाको भुक्तानी दिन्छौँ बाँकी भन्न सक्ने अवस्था छैन” प्रमुख चौधरी भन्नुहुन्छ । धनकुटा जिल्लाको मात्र १३ लाख ५५ हजार १ सय ५६ लिटर दुधको नौ करोड ७० लाख रुपियाँ भुक्तानी दिन बाँकी रहेको दुग्ध विकास संस्थान विराटनगरले जनाएको छ ।
उता जिल्लाबाट दुध लाने निजी डेरी उद्याेगको पनि अवस्था उस्तै छ । निजी डेरीहरुले समेत समयमा दुधको रकम भुक्तानी गर्न सकेका छैनन् । सुरु सुरुमा रामै भुक्तानी दिएर दुध लैजाने गरेका संस्थान तथा निजी डेरीले गत वर्षबाट भने नियमित भुक्तानी दिन छोडेका हुन् । तर यो वर्ष भने अनियमित मात्र हैन पाँच महिना बित्दासमेत एक पैसा भुक्तानी दिन सकेका छैनन् । धनकुटामा दैनिक करिब ३० हजार लिटर दुध सङ्कलन हुने गरेको छ । जसमध्ये ७० प्रतिशत दुध जिल्ला बाहिर दुग्ध विकास संस्थान र निजी डेरीमार्फत निकासी हुने गरेको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij