१८ पुष, बाँपीझ्याला, काठमाण्डौं । हत्या गरिएका जनरल कासिम सुलेमानीको वार्षिक स्मृतिमा आयोजित भीडमा लगातार दुई वटा विस्फोट हुँदा इरानमा बुधबार कम्तीमा ७३ जनाको ज्यान गएको सरकारी मिडियाले बताएको छ । सरकारी टेलिभिजनले उक्त विस्फोटलाई ‘आतंकवादी हमला’ भनेको छ ।

इरानको सहयोगी हमासका दुई नम्बरका नेता सालेह अल–अरुरी बेरुतमा ड्रोन हमलामा मारिएको एक दिनपछि इरानमा उक्त विस्फोट भएको हो । लेबनानी अधिकारीहरूले बेरुतमा भएको ड्रोन हमला इजरायलले गरेको दोष दिएका छन् । सुलेमानीको दक्षिणी गृहनगर केरमानमा साहेब अल–जमान मस्जिद नजिकै विस्फोट भएको हो । उक्त मस्जिदमा उनलाई गाडिएको छ । बगदाद विमानस्थलको ठिक बाहिर अमेरिकी ड्रोन हमलामा भएको उनको हत्याको चौथो वार्षिकी मनाउन मस्जिदमा मानिसहरू जम्मा भएका थिए ।

केरमानका उप गभर्नरले विस्फोटलाई ‘आतंकवादी हमला’ भनेका छन् । सरकारी मिडियाले बम विस्फोटमा कम्तीमा एक सय ७० जना घाइते भएको बताएको छ । इरानको तस्निम समाचार एजेन्सीले जानकार स्रोतहरूलाई उद्धृत गर्दै भनेको छ, 'बमले भरिएका दुई ब्यागमा विस्फोट भयो, यो घटनाका अपराधीहरूले रिमोट कन्ट्रोलमार्फत बम विस्फोट गराएको देखिन्छ ।'
आइएसएनए समाचार एजेन्सीले केरमानका मेयर सइद तबरिजीलाई उद्धृत गर्दै १० मिनेटको अन्तरालमा बम विस्फोट भएको बताएको छ । अनलाइन फुटेजमा सुरक्षाकर्मीहरूले विस्फोट भएको क्षेत्रलाई घेराबन्दी गर्दा भीडहरू भाग्न खोजेको देखिन्छ । सरकारी टेलिभिजनका तस्बिरहरूमा उक्त क्षेत्रमा धेरै एम्बुलेन्स र उद्धारकर्मी देखाइएको छ ।

सुलेमानीले इरानको इस्लामिक रिभोल्युसनरी गाड्र्स कोर्प्सको विदेशी अपरेसन शाखा कुद्स फोर्सको नेतृत्व गरेका थिए । उक्त शाखाले मध्यपूर्वमा सैन्य कारबाहीहरूको निरीक्षण गर्थ्यो । जीवित रहँदै इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीद्वारा ‘जीवित सहिद’ घोषणा गरिएका सुलेमानीलाई इराक र सिरिया दुवैमा इस्लामिक स्टेट जिहादी समूहलाई हराउन उनको भूमिकाका लागि व्यापकरूपमा नायकका रूपमा लिइन्छ ।

धेरै इरानीको नजरमा उनको सैन्य र रणनीतिक क्षमता अफगानिस्तानका साथै सिरिया र इराकजस्ता छिमेकी मुलुकका बहुजातीय विघटनलाई रोक्न सहायक थियो । लामो समयदेखि अमेरिका र उसका सहयोगीहरूले घातक शत्रुका रूपमा हेरिएका सुलेमानी सिरिया, इराक र यमनमा इरानको राजनीतिक र सैन्य एजेन्डा सेट गर्दै यस क्षेत्रको सबैभन्दा महत्त्वपूर्ण शक्ति दलालहरूमध्येको एक हुनुहुन्थ्यो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij