Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

समाजसेवी कृष्ण प्रसाद मास्के र प्राचिन शहर दोलखाको त्यो पलाचुटी

समाजसेवी कृष्ण प्रसाद मास्के र प्राचिन शहर दोलखाको त्यो पलाचुटी

कृष्ण प्रसाद मास्के, समाजसेवी

दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नं. २ (तत्कालीन दोलखा गाउँपञ्चायत वडा नं. ७) पलाचुटी टोलमा वि.सं. १९९६ सालमा बुबा लगनबहादुर मास्के र आमा भक्तिकुमारी मास्केको कोखबाट चौथो सन्तानको रूपमा जन्म लिनुभएका कृष्णप्रसाद मास्के हुन् । जेठी दिदी दुर्गादेवी मास्के श्रेष्ठ (डोक्छेँ टोलमा विवाह भएकी) माईली दिदी अम्बिका मास्के कसजु (पिङ्गल टोल) र दाजु नारायणप्रसाद मास्केको जन्मपछि वहाँको जन्म भएको हो ।

यसरी पिता लगनबहादुर मास्के र माता भक्तिकुमारी मास्केका कान्छो छोरा कृष्णप्रसाद मास्केको जीवन कहानीलाई सर्सर्ती धेरै नै दुखाइ र पीडाबोधले ग्रस्त महशुस हुन्छ आपूm चार महिनाको अबोध बालक हुँदा आमाको देहान्त भएको अनि दिदीहरूले बाख्राको दूध पिलाएर हुर्काएको, अनि जीवन गुजारा र पढाइको लागि कहिले चौतारा, कहिले भैरहवा र कहिले दोलखा गरेर बाल्यावस्था बितेको कुराले कसको मन पो नरोला र !

सिन्धुपाल्चोक जिल्लाको बलेफीबाट उकालो पैदल मार्ग भएर सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा जाने बाटोमा पर्ने घोर्सुमा भएको घरको ठुलीआमा र दाइको प्रताडनाले विचलित भएर दोलखा फर्केको कथा चलचित्र बनेर आँखामा घुमेको आभास हुन्छ ।

वि.सं. २००४/०५ मा भीमेश्वर नगरपालिका वडा नं. २ स्थित माथिल्लो टोल स्थित बतासे पाटी भएको ख्याती प्राप्त स्थानमा संचालित गुरुकुल पाठशालाबाट आफ्नो पढाई शुरू गर्नु भएको धर्म र सामाजिक कर्मप्रति अत्यन्तै लगाव भएको जेष्ठ नागरिक कृष्ण प्रसाद मास्केज्यूले कक्षा ८ देखी वि.सं. २००८ सालमा स्थापना भएको तत्कालीन भीम पब्लिक हाईस्कुल हालको भीम माध्यमिक विद्यालयमा अध्ययन पुरा गरी कक्षा ८ पश्चात् काठमाण्डौं स्थित दर्बार हाइस्कुलबाट एस.एल.सी. उतीर्ण गरी त्रिचन्द्रमा आई. कम र पाटन संयुक्त क्याम्पसबाट व्यवस्थापन विषयमा स्नातक पास गर्नु भएको हो ।

कृष्ण प्रसाद मास्के धर्मपत्नी जाम्बवतिको साथमा

जीवन संघर्ष त हुँदै हो भेटिन्छन्, छुटिन्छन् प्रकृतिको शाश्वत सत्यलाई स्विकार्नुको अर्को विकल्प पनि के रहेछ र ? आखिर जीवनमा त अनेक उतारचढाव त आईरहन्छ गईरहन्छ । मैले पनि जीवनका अनेक उतारचढावलाई बोध गर्दै जीवनको उतराद्र्धतिरको समय संग पौठेजोरी खेलिरहेको छु । मेरी सखी, जीवन संगिनी जाम्बवतीले हाम्रो जीवनमा भौतिक रूपमा उपस्थिति नभए पनि अनेकौं सम्झनाका बिम्बहरू म र मेरो परिवारलाई छोडेर गएकी छिन् । तिनले दिएको सुन्दर उपहार छोराछोरीहरूको मेहनत, कर्म, लगनशीलता र उपलब्धीबाट मनमा आत्मसन्तुष्टि लिएको छु । जाम्बवतीलाई हरेक क्षण स्मरण पनि गरिरहन्छु । मलाई आध्यामिक, र्धाामक र सामाजिक सेवाको क्षेत्रमा लाग्ने मुख्य प्रेरणाको श्रोत प्राचीन शहर दोलखाकै वस्तुस्थिति हो । यसै गरी मेरो बाल्यकाल दोलखाको हावापानी, वन, पहाड, मनोहर जङ्गल छहरा, टोलटोलमा मठ मन्दिरहरू सफा बाटाघाटा, हाम्रा पूर्वज, हाम्रा बर्तमान सन्ततिहरू मेरा प्रेरणाका स्रोत हुन । – कृष्णप्रसाद मास्के

बिबुसिंंहदेखि कृष्णप्रसाद मास्केसम्म आईपुग्दा पालचुटीको त्यो सेरोफेरो…..

कृष्णप्रसाद मास्के एक त्यस्तो व्यक्ति हो जो न दुःखबाट आत्तिएर टाढा भाग्ने, न त यथेष्ट सम्पत्ति छ भनेर मात्तिएर कुनै गैह्र जिम्मेवारका काम गर्ने, जो कोहीले देखे पनि सुनेपनि अहिलेसम्म औँला ठ¥याएर वैरपनको भावले गाली गलौज गर्न दोष र अपजसको शब्द नै भेट्टिन कठिन छ । जहाँ कृष्णप्रसाद मास्के उभिन्छ त्यहाँको संस्कृति धरहरा भै चुलिन्छ भन्दा फरक नपर्ला ।

आज हाम्रो पानामा उनकै बिम्ब र प्रतिबिम्बलाई ओल्टाइ पल्टाई हेरेर यहाँहरूको आँखाको आगनमा बिस्कुन सुकाएर त्यो हेर्न तपाईँहरूलाई गोठालो बनाउने प्रयास गर्दैछौँ । हाम्रा अक्षरहरूलाई मकैका दाना सम्झेर एक उक गरेर केलाएर हेरिदिनु होला । कतै कतै गल्तीले फोस्रा मकै जस्तो मिसिएको पनि हुनसक्ला, कुनै कुनै ठाउँमा ती मकैरूपी अक्षरहरू गुन्द्री सुकुल जस्तो पानामा नपुग पनि होला, कतै कतै आवश्यक्ता भन्दा बढी खाँदिन पनि सक्ला । ती सबैलाई केलाउने, हटाउने, निकाल्ने र पैmलाएने जिम्मा तपाईँहरूमा ।

प्राग ऐतिहासिक कालीन सभ्यताको मानवीय बस्ती जङ्गल, ओढार, गुफा, छाप्रो, गोठ, टहरो, कटेरो, घर हुँदै महलसम्म आईपुग्दा मानवले अनेकौँ परिवर्तित जीवन व्यतित गरेका छन्, मानवले मानवकै विकासकै क्रममा अन्जानमा कति ज्यानको आहुति दिए, कति अनाहकमा ज्यान फाले, कतिले कतिलाई नचाहेरै बलि दिए, कति आफ्नालागि लडे, कति अकौको लागि लडेर मरे त्यसैले अतीतका ती कुरालाई इतिहास भनिएका होलान् । अर्थात ‘इति’ भनेको धेरै पुरानो र ‘हास’ वा ‘ह्रास’ भनेको थुप्रो वा धेरै, प्रशस्त सम्झना लायकका कथा व्यथाले भरिएको अतीतका नालीबेलीलाई नै हामीले इतिहास भनेर परिभाषित गर्ने गरेका छौँ ।

प्राचीन शहर दोलखा नेवार बस्ती भनेर व्याख्या गरिएको छ । तसर्थ प्राचिन शहर दोलखा शहरमा स्वागत छ’ भनेर एउटा ठूलो प्रतीक पाटी (साइन बोर्ड) नै बनाएर चरिकोट र दोलखालाई जोड्ने पुल जसलाई हामी खिँगौ (खिङौ)झोरको पुलपारी दोलखा तर्पm राखदिने प्रबन्ध मिलाएको भए अझ सुनमा सुगन्ध हुने थियो होला ।

दोलखा शहरको त्यो बेलाको जात्रामात्रा जति स्मरण अहिले यो मस्तिष्कमा घुमिरहेको छ । त्यो जात्रामात्रा अहिले कतै पूर्वजन्ममा त देखेको थिइन जस्तो आभास हुन थालेको छ । त्यो हरेक जात्राको बेलामा दोलखाको आँगनमा प्रतिष्ठित व्यक्तित्वहरू माधवमणि राजभण्डारी, विष्णुमान सिं, केदारमान सिं, द्वारिकामान सिं, बैकुण्ठनारायण प्रधान, लवकुश प्रधान, नहेन्द्र प्रधान, कृष्णप्रसाद मास्केलाई देखिंदा यी मनहरू अति हर्षित हुन्थ्यो । दोलखाले यति सम्मानित र बौद्धिक व्यक्तित्व पैदा गरेकोमा गर्वले हर्षको आँसु बग्थ्यो ।

दोलखाको परम्परामा कुनै पनि अवरोध नआवस् कहिल्यै ती संस्कार र परम्परालाई थाती नरहोस् भनेर विशेषतः कृष्णप्रसाद मास्के, द्वारिकामान सिं प्रधान, बैकुण्ठ नारायण प्रधान, नहेन्द्र प्रधान र लक्ष्मण श्रेष्ठ (पुरान्छेँ) त्यतिबेलाको जलजले, धारेढुङ्गा, बोचबाट पैदल नै हिँडेर काठमाडौं दोलखा गरिरहन्थे । आज ती हस्तीहरूमध्येको समाजसेवी कृष्ण प्रसाद मास्केको बारेमा अतितदेखि वर्तमानसम्म केही पाना पल्टाउने हामीले प्रयास गरेका छौँ ।

जसले हालैमात्र आफ्नै जीवनमा आधारित स्मरणका पानाहरूलाई समेटेर ‘कर्मयोग र साधना’ नामक पुस्तक लेखेर दोलखाली आँगनमा मात्र नभएर संसारभरमै दोलाखाली कलमजीवीको पहिचान थपिदिएको छ । यसैभित्र रुमल्लिंदै उहाँका अतीत र वर्तमानको केही समीक्षागत टिप्पणी उठाउन गैरहेका छौँ ।

दोलखा शहरको एउटा पुराना टोल हो पलाचुटी टोल । यहाँरहेका अन्य टोलको बारेमा कुनै न कुनै प्राकृतिक स्थल र वस्तुसंग कुनै धर्म र देवदेवीको नामसँग जोडिएर टोलको नामाकरण भएपनि यो ‘पालचुटी’ या ‘पलाचुटी’ टोल नामले दोलखाको मौलिकतामा एउटा विशेष खालको पहिचान छ । जसको व्युत्पत्ति शब्द खोज्न निकै नै कसरत नै गर्न आवश्यक छ जस्तो लाग्छ । दोलखाको इतिहासको परम्परामा उपकर्ण गुठी छ । जुन गुठीले हरेक वर्षको साउन शुक्ल पूर्णिमाको दिन अर्थात् हिन्दू संस्कार अनुसार जनै पूर्णिमाको रूपमा मानिन्छ भने उपत्यकाको नेवारी परम्परामा ‘क्वाँटी पुन्ही’को रूपमा मनाउने गर्छन् । तराइ प्रदेशतिर ‘रक्षा बन्धन’को रूपमा मनाउँछन् । तर दोलखामा ‘गुन्ला पुन्हिस’को रूपमा मानिन्छ ।

दोलखामा यही दिन एउटा अलग्गै खालको यज्ञ गर्ने प्रचलन छ । यो कस्तो खालको यज्ञ हो भन्ने कुरा उनीद्वारा लिखित पुस्तक ‘कर्मयोग र साधाना’मा उल्लेख भएकोले यहाँ राख्न उपयुक्त ठानिएन । यो उपकारमय गुठी भएकोले नै यसलाई ‘उपकर्ण यज्ञ गुठी’ मानिएको हो । दोलखाको परम्परामा यो गुठी अलिक फरक खालको पहिलोचोटी भएकोले र बिबु सिंह थरका सन्तान रामलाल सिंह थरलाई पहिलोचोटी मास्के थरले पहिचान दिलाएकोले पनि ‘पहिलोचोटी’ शब्दलाई यही टोललाई इङ्गित गरेको हुनाले ‘पहिलोचोटीको टोल’ भन्दा भन्दै ‘पालचुटी’ टोल हुन गएको त होइन ?

यही पालचुटी टोलको मास्के परिवारको पुर्खा विबुसिंह थिए भनेर कृष्णप्रसाद मास्केले आफ्नो पुस्तक ‘कर्मयोग र साधनामा लेखिएको देखिन्छ । तर छैटौँ पुस्तामा आएर सिंह थर मास्केमा परिणत कसरी भयो भन्ने विषयमा उनले स्पष्ट खुलाएको देखिन्न । यो मास्के थरलाई कसरी प्रयोगमा ल्याइएको भन्ने बारेमा सोधखोज गरिदैंछ ।

समाजसेवी कृष्णप्रसाद मास्केलाई एकदमै नजिकैबाट चिन्नुपर्दा दोलखामा समाजसेवी र विद्धताको हैसियतले चिनिएपनि काठामाडौंमा आएर गलैँचा व्यापारी, बासबारी छालाजुत्ता व्यापारी र दोलखाको सामाजिक संस्थाको हिसाबले स्पष्ट रहेको छ । उहाँको देनलाई दोलखालीले कहिल्यै भुल्न हुन्न । शिक्षामा स्तरीय योग्यता हासिल गरेको भए पनि प्राचीन रुढीवादी र परम्परालाई विश्वास गर्नुभएको कुरा उनीद्वार लिखित कर्मयोग र साधना पुस्तकबाट छर्लङ्ग हुन्छ ।

जस्तो कि कोठामा एक्लै बस्दा मध्य दिनमा पनि गोकुलधुपको बास्ना छरिएको आभास मिल्नु, भर्याङमा मान्छे हिँडे भैँ खुड्किला चलेको आवाज आउनु । यो धु्रवसत्य कुरा हो कि यो पंक्तिकारले पनि प्रत्यक्ष महशुस गरेको छ ।

दोलखाको इतिहासमा राम्ररी केलाएर हेर्दा जो अलिकति धनीमानी जो जागिरेमा अलि जान्नेसुन्ने भएको मान्छेको कथा सुन्दै जाँदा र बुझ्दै जाँदा केहीको एउटा मात्र पत्नी थियो भन्दा पत्यार नलाग्ला सायद । कम्तीमा पनि तीनजना स्वास्नी चाहिँ भएकै देखिन्छ ।

कसैले अभावले कसैले प्रभावले र कसैले स्वभावैले बहु विवाह गरेकै हुन्छन् यो यथार्थ हो । यहाँ कृष्णप्रसाद मास्केको बुबाको पनी यस्तै भएको उनको पुस्तकबाट थाहा हुन्छ ।
अतीतमा सानैमा आमाबाट तोतेबोली नफुट्दै छुट्टिनु परेको बाल्य पीडाको आभास ८५ वर्षपछि भेट्टाइएको आमाको तस्बिरले दर्शाएको देखिन्छ । जे जस्ता कठिनाइको सामना गर्नु परेपनि उहाँले कालान्तरमा धेरै नै मेहनत गरेर आफ्नो जीवनको मार्गदर्शनलाई उद्यमशील बनाएको पाइँदा यो आत्मप्रेरक सन्देशको रूपमा लिन जरुरी छ ।

जीवनलाई सही दिशामा लगाएर पत्नी जाम्बवती सँगको असल मैत्रीभाव र प्रेममय सद्भावबाट उन्नतिशील उद्यमी बन्दै जाँदा उनको त्यो पथयात्रामा जेठी छोरी करुणा मास्के श्रेष्ठ र ज्वाइँ अर्जुन श्रेष्ठ ( नेपाली चलचित्र जगतका अभिनेताकी छोरी) नातिनी आश्मासँगको अकल्पनीय विछोड हुनुपरेको दैवीय पीडालाई पनि सरल मनले सहन गर्न निकै कठिन छ ।

पत्नी जाम्बवती बिरामी भएर उपचारका लागि देश विदेश चहारेर पनि दैवीय लीलाको संस्कार र प्राकृतिक नियमलाई पराजित गर्न नसकेको मानवीय चलनलाई आत्मसात गरेर आज यो दिनमा कृष्णप्रसाद मास्के सबैको मनमा बस्न सक्ने सफल र करुणादायी व्यक्ति बनेको हामीले पाएका छौँ ।

जीवनको शाश्वत लीलालाई पूजापाठ, दानदति, तीर्थयात्रा भागवत पुराण जे जस्तो पुण्य प्राप्तिको मनशायले काम गरेपनि अन्ततः एक अर्कामा विछोड् त हुनैपर्छ । जसलाई रोक्न कसैले सक्दैन । ती दर्शन, यज्ञ, होम, रुद्री भनेको जीवित आत्मालाई संतुष्ट पार्ने एउटा माध्यम मात्र हो । त्यो भन्दा ठूलो पुण्य गरीब, असहाय, अपाङ्गलाई सहयोग गर्नु हो भन्ने कुरा चाहिँ लेख्न छुट्टाएको हो कि जस्तो सो पुस्तक पढ्दा महशुस हुन्छ ।

उनको कार्य क्षमताप्रतिको इच्छाशक्ति कहाँसम्मको रहेछ भन्ने कुरा ८-९ कक्षा पढेकै उमेरमा २०२० सालताका घरेलु इलम सम्बन्धी तालिम लिएर अगाडि बढेर पछि एस.एल.सी. उतीर्ण भएकोबाट थाहा हुन्छ । शुरुमा नै नेपाली कार्पेट प्रा.लि.को प्राविधिज्ञमा जागिरे भएर जीवन उन्नतिको पथमा लागेका कृष्णप्रसाद मास्केको भविष्य कस्तो होला भनेर त भन्न नपर्ला नै, ‘फल्ने बिरुवाको चिल्लो पात’ भन्ने उखान त्यसैत बनाएका होइन रहेछ भनेर बुझ्न सकिन्छ ।

घरेलुमा ८२ रुपैयाँमा जागिरे जीवन शुरुआत गरेको मान्छेले २०२५–२०२६ तिर स्वीस प्रोजेक्ट एकान्तकुनामा पाँचसय रुपैयाँ तलब र घर भाडा समेत पाउने बेलाको क्षण कस्तो भयो होला त्यतिबेला । उनले यही चरणबाटै गलैंचा उद्योगधन्दा र ह्याण्डिक्राफ्ट तिर व्यवसाय गरेको देखिन्छ । २०२४ सालमा स्थापित जावलाखेल बहुमुखी सहकारी संस्थामा पनि पछि संलग्न भएर काम गरेको मास्केको जीवनमा २०३६ सालपछि केन्द्रीय गलैचा उद्योग संघसम्म संलग्न भएको पाइन्छ । यसैबाट केन्द्रीय गलैचा उद्योग संघकै महासचिव भएर तत्कालीन राजा विरेन्द्र शाहबाट नारायणहिटी राजदर्बारमै सम्मान पाएको क्षणलाई अविस्मरणीय क्षण ठानेको पाइन्छ । यसरी गलैचा उद्योग संघसँग आबद्ध भएर धेरै ठाउँबाट अनुभव बटुलेपछि र आफ्नै गलैचा शोरुमबाट पनि धेरै कुरा सिकेर आपैmले गलैचा उद्योग खोलेर सक्रिय र सक्षम व्यक्तिको परिचय दिएको हामी पाउँछौँ ।

कर्मशील जीवन व्यतीत गरेर आम्दानी मात्र जोड्ने र आलिशान महल बनाएर बडप्पन बन्ने सोच कहिल्यै मनमा राखेको देखिंदैन । सामाजिक सेवामा पनि उत्ति नै समय लगानी गरेको छर्लङ्गै छ । जस्तो कि दोलखाकै सबैभन्दा पुरानो र पहिलेको दोलखाको संस्था कालिन्चोक युवा क्लव जुन २०२६ सालमा स्थापना भएको थियो । यस क्लवमा रहेर दोलखालाई मात्र होइन बाहिर रहेका दोलखालीहरूलाई भैपरि आएको जुनसुकै अवस्थाका बिरामी, मर्दा पर्दा आपतकालीन सहयोगका लागी सदैव तत्पर हुने लक्ष्यले खोलिएको यो र्सस्थामा रहेर धेरै कल्याण्कारी कार्य गरेको कुरा सबैले बुझेका छन् ।

कृष्ण प्रसाद मास्के नाती नातीनीको साथमा

भीमेश्वर मन्दिरको पछाडि पूर्वीभागको पर्खाल मजबुत बनाउन उनको ठूलो देन रहेको छ । कालिन्चोक युवा क्लवलाई सबैको सामु सशक्त बनाउन र प्रचारप्रसारमा तीव्र बनाउन चिमाल नाइट कल्चर शो, रातको प्रथम प्रहर नाटक प्रदर्शन गर्दा पनि उनको महत्वपूर्ण देन रहेको छ । त्यसपछि २०३१ साल देखि द्वाल्खा गुठी सामाजिक संस्थामा स्थापनाकाल देखि निकै लामो समयसम्म काम गरेर दोलखाको हितमा तन मन लगाउनेमा उनी अग्रस्थानमा देखिन्छ ।

हाम्रो मतलब अरु कुनै दोलखाली थिएनन् भन्न खोजेको होइन । यो गुठीकै मातहतमा विभिन्न दैवी प्रकोपका घटना, आकस्मिक घटनामा यो गुठीले सराहनीय काम गरेको छ । दोलखाको स्थानीय चाडपर्वलाई निरन्तरता राख्न यस्तै संस्थामा रहेर पनि नरहेर पनि मास्केको योगदान स्मरणयोग्य छ । दोलखाको राम्पामा भूकम्प पीडितहरुकोलागि पुनर्वासका लागि विभिन्न गैह्रसरकारी संघसंस्थाहरूसँग हातेमालो र समन्वय गरेर दोलखाकै देवनारायण श्रेष्ठबाट प्राप्त निःशुल्क जग्गामा घर बनाउन पनि उनले विशेष भूमिका निर्वाह गरेको हामी पाउँछौँ ।

दोलखाको भीमेश्वर भागवत सदन निर्माण, भीमेश्वर प्राङ्गण सतह पुनर्निर्माण, मच्छिन्द्र नाथको रथयात्रा नियमित सञ्चालनमा र कुमारी छेँ निर्माण जस्ता धेरै ठाउँमा कृष्णप्रसाद मास्केको देन र सहभागितालाई हामीले उनी प्रति सच्चा करुणादायी मनको धनीको रूपमा पुज्न जरुरी छ ।

उनकै मातहतमा २०६३ साल फागुन महिनामा श्रीमद् भागवत महापुराण तथा धनधान्याञ्चल ज्ञान महायज्ञ सम्पन्न भएको थियो । यसैबाट प्राप्त रकमबाट भीमेश्वर मन्दिर जीर्णोद्वार, त्रिपुरासुन्दरी जीर्णोंद्वार, भीमेश्वर भागवत सदन आदि निर्माण कार्यमा मास्केको अतुलनीय योगदान रहेको छ । सो भीमेश्वर भागवत सदन २०७३ सालमा तत्कालनि संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री आनन्दप्रसाद पोखरेलबाट उद्घाटन भएको थियो । त्यस्तै दोलखामा द्वाल्खा गुठीमा बस्दा सामुहिक व्रतबन्ध बेलविवाह जस्ता सामाजिक कार्यक्रममा पनि उनी अग्रपंक्तिमा नै देखिन्छ । उनको हृदय नै सामाजिक हृदय भन्दा केही फरक नपर्ला ।

अन्तमा हाम्रा आदरणीय व्यक्तित्वका धनी कृष्ण प्रसाद मास्के दोलखाली मन मस्तिष्कमा तामाकोसी नदिको बहाव झैं सदैव वगिरहनेछ । उनलाई यस लेखमा अत्यन्तै नजिकै मानेर आत्मीय भाव जगाएर ‘ऊ’ र ‘उनी’ सर्वनामले पुजेका छौँ, यसको अर्थ उनलाई अनादरको रूपमा होच्याउन र अपमानित बनाउन खोजेका होइनौँ । जति ‘हजुर’ र ‘उहाँ’मा आदर सत्कार र सम्मानको व्याख्या गरिएको भएपनि ‘तिमी’ र ‘उनी’मा अथाह आत्मीयता झल्किन्छ कि भन्ने हाम्रो अभिप्रायः हो । उहाँको बाँकी जीवन सुखद, सु–स्वास्थ्य र दिर्घायुको लागि दोलखा भीमेश्वरमा प्रार्थना गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार