Oct 10 2026 | २०८३, आश्विन २४ गते

Oct 10 2026 | २०८३, आश्विन २४ गते

प्राचिन शहर दोलखामा यो वर्षको लाखे नाच साउन ३२ पछी प्रदर्शन गर्ने

प्राचिन शहर दोलखामा यो वर्षको लाखे नाच साउन ३२ पछी प्रदर्शन गर्ने

बाँपीझ्याला, दोलखा । दोलखामा घण्टाकर्ण औसीको भोलिपल्टदेखि दिनमा र रात्रीकालीन समय गरेर दुई थरिको लाखे नचाउने परम्परा छ । तर यसपालि ती दिनमा दोलखाको आँगनमा लाखे देखा परेनन् । दिउँसो नचाइने लाखेलाई स्थानीय भाषामा ‘जो डाकस’ (समाउने लाखे) भनिन्छ । यसको अर्थ हो एक लाखेलाई दुईतिर दुई जना ख्याली (स्थानीय भनाइमा दाउरे) ले नाडी या पाखुरामा समाएर बाजाको तालमा नाच्ने गरिन्छ ।

यतिबेला हेर्ने दर्शकले अलि टाढा बसेर ‘ओ है लाखे ओ है’ भनेर पैसा देखाएर जिस्काउने प्रचलन छ र लाखे हुनेले लखेटेरै पैसा हात पार्ने काम गर्ने गर्दछन् । यतिबेला ‘दाउरे’ (ख्याली) इच्छानुसार जो पनि बन्न पाउँछन् र उनीहरूका लागि सहनाई सहितको बाजाले मनोरञ्जन दिलाइन्छ ।

प्राचिन शहर दोलखामा नचाईने ठुलो लाखे, जुन लाखे जनैपूर्णीमाको दिन प्रदर्शन गर्ने चलन रहेको छ ।

बेलुकीपख साँझ परेपछि स्वेच्छाले जो लाखे भएर नाच्न चाहन्छन् उसले कुनै पनि घरबाट लाखे भएर निस्कन्छ । यतिबेला उ एकल रूपमा गुजराती (ठूलो खालको सहनाइ) को सुरीलो धून र मझौला खाले ढोलकको तालमा आकर्षक र्नत्य देखाएँछ । यसमा सो लाखेलाइै समाइँदैन । यतिबेला नेपालमा चलेका कुनैपनि मौलिक लोक गीतको धून बजाएर नाच्ने गर्छन् । यसैले पनि होला यतिबेलाको लाखे नृत्यलाई स्थानीय बोलीमा ‘नेपाल डाकस’ (नेपाली लाखे) भन्ने गरिन्छ ।

नेपालमा हिन्दु धर्म अधिक मात्रामा मान्य छ । यहाँ धर्मका प्रकार अनेकौं भए तापनि नेपाल राज्यमा मात्र नभएर जहाँ जहाँ हिन्दु धर्मालम्बीको बसोबास हुन्छ, त्यहाँ सनातन धर्मको नियम पालना गरिन्छ । ती नियमहरू ज्योतिष शास्त्रले बताएको हुन्छ । शास्त्रमा कुन महिनामा के गतिवधि गर्न मिल्छ या मिल्दैन भन्ने रूपरेखा तयार गरेको हुन्छ । यो गतिविधिलाई मनगढन्ते गफ भन्न मिल्दैन । यो नियम संगतको हुने गर्दछ ।

पृथ्वी, सूर्य र चन्द्रमाको परिक्रमाको आधारमा कुन फलदायी, कुन महिनामा मोक्ष या पुण्य प्राप्ति र कुन महिना हानिकारक हुन्छ भन्ने कुराको ज्योतिषी ज्ञान भएर नै यो पञ्चाङ्ग बनाइएको हुन्छ । यसैलाई आधार मानेर नै स्थानीय पञ्चाङ्ग पात्रोमा मलमासमा के गर्न मिल्छ के गर्न मिल्दैन भन्ने कुरालाई दृष्टिगत गरेकाले नै हिन्दु धर्मको शास्त्रानुसार मलमास अवधीभर स्थानीय देवी देवताको मन्दिरमा पूजाआजा गर्न नहुने, जात्रा संस्कृति सञ्चालन गर्न नहुने भएकोले नै सत्य र तथ्य परम्परालाई सम्मान गर्दै यसवर्ष प्राचीन एवं साँस्कृतिक शहर दोलखामा लाखे नाच ननिकालिएको हो ।

प्राचिन शहर दोलखामा नचाईने जो डाकस (दिउँसो नचाईने लाखे), जुन लाखे दिउँसो प्रदर्शन गर्ने चलन रहेको छ ।

दोलखामा यसपालि देखि लाखे नाच पनि हराएछ भन्ने केही मनगन्ते व्यक्तिहरुले गलत अफवाहको प्रचार गरेकोमा आम दोलखालीलाई आघात परेको छ । दोलखा प्राचीन एवं धार्मिक संस्कार र परम्परागत संस्कृतिको नियममा समाविष्ट छ भन्ने कुरा सबैले बुझ्न जरुरी छ । साउन ३२ गते मलमास समाप्त भएपछि दोलखाको आफ्नो परम्परा नियमित रहनेछ भन्ने कुरालाई मनन गरेर सकारात्मक सन्देश दिने प्रण गरौं । यही सकारात्मक सन्देश दिनको लागि हामीले यस बारेमा विश्लेषण गर्न खोजेका छौं ।

मलमास भनेको के हो त ?
वास्तविक रूपमा मासको अर्थ महिना हो । खासमा यसको नाम मलमास नभएर अधिक मास हो । यसलाई पुरुषोत्तम मास पनि भनिन्छ । पञ्चांङ्गमा देखाइएको समय र बेलाको गणनाको सूर्यको चलायमान गति अनुसार वर्षमा ३६५ दिन, १५ घडी, ३१ पला र ३० विपला हुन्छ जब कि चन्द्रमाको गति अनुसार वर्षमा ३५४ दिन, २२ घडी, १ पला र २३ विपला हुन्छ । सूर्य तथा चन्द्रमान बीच वर्षमा १० दिन ५३ घडी, ३० पला एवं ७ विपलाको अन्तर हुने गर्छ । यसै अन्तरलाई समायोजित गर्नका लागि ‘अधिक मास’ को समय आंकलन गरी कार्यतालिका तय गरिएको पाइन्छ ।

प्राचिन शहर दोलखामा नचाईने नेपाल डाकस (राती नचाईने लाखे), जुन लाखे राती प्रदर्शन गर्ने चलन रहेको छ ।

अधिक मास प्रत्येक तीन वर्षमा एकपटक आउँछ । यो फागुनदेखि कार्तिकको बीचमा पर्ने गर्छ । जुन वर्ष अधिक मास पर्छ त्यो वर्ष १२ को स्थानमा १३ महिना हुन्छ । अधिक मासको निर्णय सूर्य सङ्क्रान्तिको आधारमा गरिन्छ । जुन महिनामा सूर्य सङ्क्रान्ति हुँदैन त्यसलाई अधिक मास भनिन्छ । यसबारेमा धार्मिक एवं पौराणिक कथन हेरौँ,

पौराणिक कथनः
प्रत्येक राशि, नक्षत्र, करण, महिना आदिका स्वामी छन् तर अधिक मास अर्थात् मलमासको स्वामी छैनन् । यसकारण अधिक मासमा सम्पूर्ण शुभ कार्य, देव कार्य एवं पितृ कार्य वर्जित मानिएको छ, यस समयमा गरिने कुनैपनि धार्मिक कार्यले शुभफल मिल्दैन बेकारमा समय र अर्थको नोक्सानी मात्र हुन्छ भनिएको छ । यद्यपि, पुराणमा अधिक मास पुरूषोत्तम मास कसरी बन्न पुग्यो भन्ने रोचक कथा यसरी देखाइएको छ ।

प्राचिन शहर दोलखामा नचाईने माझिपा डाकस, जुन लाखे गाईजात्रा देखि प्रदर्शन गर्ने चलन रहेको छ ।

कथा अनुसार स्वामी अर्थात् मालिक नभएका कारण अधिकमासलाई सबैले मलमास भन्न थाले । यसबाट मलमासको निन्दा हुन थाल्यो । यो कुराबाट दुःखी भएको मलमास भगवान् विष्णुकहाँ पुगेर आफ्नो दुःख व्यक्त गरेछ । भक्तवत्सल श्रीविष्णुले उसलाई गोलोक लिएर गए । गोलोकमा भगवान् श्रीकृष्ण विराजमान थिए । दयासागर श्रीकृष्णले मलमासको व्यथा बुझेर उसलाई सान्त्वना दिँदै भने– “अबदेखि म तिम्रो स्वामी भएँ अर्थात् मालिक ।

यसबाट मेरा सबै दिव्य गुण तिमीमा समाविष्ट हुनेछन् । म ब्रह्माण्डमा पुरुषोत्तमका नामले प्रसिद्ध छु, तसर्थ आजदेखि तिम्रो नाम पनि पुरुषोत्तम हुनेछ । आजदेखि तिमी मलमास नभएर पुरुषोत्तम मासका नामले चिनिनेछौ । यसका साथै तीन तीन वर्षमा हुने तिम्रो आगमनमा जसले श्रद्धा र भक्तिपूर्वक राम्रा काम गर्छन् ती व्यक्तिलाई अन्य समयमा गरेको उति नै अनुपातको कर्मबाट भन्दा बढी पुण्य प्राप्त हुनेछ ।”

यसरी भगवानले अधिक वा मलमासलाई पुरुषोत्तम मास बनाएर धर्मकर्मका लागि उपयोगी बनाइदिए । यो दुर्लभ महिनामा जसले स्नान, पूजा आराधना, यज्ञ अनुष्ठान एवं दान धर्म गर्छ उसले अत्यधिक पुण्य प्राप्त गर्दछ । यसकारण हिन्दू धर्मशास्त्रहरूमा अधिक मासलाई निकै पवित्र मानिएको छ । भगवान् श्रीकृष्ण अर्थात् विष्णुको महिना भएकाले यो महिनामा गरिने व्रत पारायण, पवित्र नदी स्नान एवं तीर्थयात्राबाट साह्रै ठूलो पुण्य प्राप्त हुने कुरा शास्त्रहरूमा बताइएको छ ।

हामीकहाँ लौकिक हितको रूपमा नव विवाहित दम्पतीले मलमास छल्नुपर्ने भएकाले दुलही माइत गएर बस्ने प्रचलन छ । विशेष गरी यो महिनामा यौन सम्पर्क राख्नु वर्जित मानिएकाले यस्तो नियम लगाइएको हुनसक्छ ।

मलमासमा गर्न नहुने भनिएका थुप्रै कुरा छन्, तीमध्ये केही निम्नानुसार छन्, जस्तो कि :

  • अधिकमास लाग्नुअघि नगएका तीर्थमा यस महिनामा पहिलो पटक जान र दर्शन नगरेका देवताको दर्शन गर्नु शुभ मानिँदैन ।
  • मलमासमा मन्दिर निर्माण गर्न तथा कुनै देवीदेवताको प्राणप्रतिष्ठा गर्न पनि शास्त्रीय नियमले निषेध गरिएको छ ।
  • विशेष कामनाले गरिने एकाह, सप्ताह, नवाह, लाखबत्ती बाल्ने, होम लगाउने, कोटिहोम जगाउने जस्तो कर्म अधिकमासमा गर्नु हुँदैन भनिएको छ । यद्यपि पुरुषोत्तम महात्म्य लगाउने भनेकै यही महिनामा हो र यसबाट मोक्षसम्म मिल्नसक्ने बताइएको छ ।
  • गृहारम्भ, गृहप्रवेश, लाखबत्ती प्रज्वलन, पुराण श्रवण लगायत कुनै कामना राखेर गरिने काम गर्नु हुँदैन । यद्यपि निष्काम भावले गरिने यस्ता कर्म गर्न कुनै बाधा छैन । यसबाट झन् ठूलो पुण्य आर्जन हुने कुरा बताइएको छ ।

यसरी ज्योतिष शास्त्रले देखाएको विधि विधान अनुसार दोलखाका स्थानीय नेवार समुदायले सनातन धर्मका परम्परालाई मनन गरेर पञ्चाङ्गको आधारमा रीतिरिवाज, पर्व, परम्परालाई आत्मसात् गरेको देखिन्छ । यो पुरातन नियमलाई बेवास्ता गरेर यदि कुनै ठाउँमा कसैले आपूm खुसी गरेर मनोरञ्जनको हिसाबले जात्रामात्रा चलाएर रमाइलो गर्न चाहन्छन् भने त्यो उनीहरूको अलग स्वतन्त्रता हो भनेर बुझ्दा वेश होला ।

प्राचिन शहर दोलखाको जात्रामात्रा, चाडपर्व र परम्परा यहाँको नेवार जातीको पहिचान संग जोडिएको छ । त्यही कारणले यहाँ हरेका महिनामा मनाईने चाडपर्व, जात्रामात्रा र पराम्परालाई मान्नु भन्दा पहीले पात्रौ हेरी सकेपछीमात्र धर्म, संस्कार र परम्परा अनी चाडपर्व मनाउने गरेको छ । यस सन्दर्भमा भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष संग यसपाली दोलखामा किन लाखे नचाउँदै भन्दा वहाले जवाफ दिनु भयो । अहिले मलमास छ त्यसकारण हाम्रो परम्परा र मान्यता अनुसार अहिले यहाँ लाखे नचाउन नहुने भन्ने स्थानिय मान्यता रहेको छ । श्रावणको ३२ गते पछाडी मात्र लाखे निकाल्ने छ भनी जवाफ दिनु भयो ।

तर सदरमुकाम चारिकोटमा घण्टाकर्ण औशीको भोलीपल्टदेखि लालिगुँरास क्लव चरिकोटको सक्रियतामा दिन दिनै लाखे नाच प्रद्र्धशनमा ल्याएको छ । यो मनोरञ्जन लिनु र दिनुको हिसावले त एकदम राम्रो होला । निति नियम र परम्परा अनुसार यसरी लाखे नचाउन मिल्दैन थियो भन्ने स्थानिय वासिन्दाहरुको गुनासो रहेको छ । त्यसैले यी कुराहरुमा चरिकोटका बसोबास गर्नु हुने नेवार समुदायका अग्रज महानुभावहरुले बुझ्न जरुरी रहेकोले हामीले सामाजिक चासोको लागि स्मरण गराउने प्रयत्न मात्र गर्न खोजेका छौं । जय दोलखा, जय गुन्ला, जय भिमेश्वर ।

फोटो : बाँपीझ्याला डटकम/ सञ्जीप श्रेष्ठ, रेखा शाक्य, शिवजी प्रधान

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार