
‘मैदा मन्द विष हो ।’ यो धारणा सर्वत्र व्याप्त छ । मैदालाई पोषणरहित ‘अस्वस्थ्यकर’ खानाको सूचीमा राखिन्छ । जबकि यस विपरीत हामीले दिनदिनै खपत गर्ने खानामा मैदाको हिस्सा नै बढी छ । रोटी, चाउमिन, म:मदेखि बिस्कुट, चाउचाउ, कुकिज सबै मैदाजन्य परिकार हुन् ।
मैदा वास्तवमै खान अयोग्य छ ?
पोषणविद् अनुश्री आचार्य यो प्रश्नको खण्डन गर्छिन् । उनी भन्छिन्, ‘यो एउटा ठूलो भ्रम हो । यदि मैदा खानै नहुने भए यसलाई अखाद्य भनी बजारमा ल्याउन दिइने थिएन ।’ हामीले सदियौंदेखि प्रयोग गर्दै आएको कुनै पनि खानेकुरालाई ‘विष समान’ भन्न नहुने उनको तर्क छ ।
खानयोग्य मैदा
खाद्य अनुसन्धान अधिकृत उज्ज्वल रायमाझी मैदा ‘अखाद्य’ नभएको बताउँछन् । ‘मैदा खानयोग्य हुन्छ’ उनी भन्छन्, ‘तर यसलाई प्रशोधन गर्ने क्रममा चोकर हटाउने भएकाले कम पोषिलो हुन्छ ।’
सामान्यतया मैदा र आटा गहुँबाट बन्छ । मैदा तयार गर्ने क्रममा गहुँको सम्पूर्ण बोक्रा निकालिन्छ र दुई पटकसम्म मिहिन ढंगले पिसिन्छ । त्यसलाई सेतो र मुलायम बनाउन ब्लिचिङ मिसाउने पनि गरिन्छ । यस्तो मैदा तुलनात्मक रुपमा कम पोषिलो हुने बताइन्छ ।
त्यसो त परम्परागत तरिकाले घरमै पनि मैदा बनाउने गरिएको पोषणविद् आचार्य बताउँछिन् । त्यसरी तयार गरिने मैदामा कुनै हानिकारक रसायन मिश्रण नगरिने भएकाले ढुक्कले खान सकिने उनको भनाइ छ ।

‘मिथको भरमा मैदा खानै नहुने भन्न मिल्दैन,’ पोषणविद् आचार्य भन्छिन्, ‘तर कुनै पनि खानेकुराको गुण र दोषको आधारमा कति खाने, कसले खाने, कसरी खाने भनेर निर्धारण गरिएको हुन्छ । सोही अनुरुप स्वस्थकर ढंगले खानुपर्छ ।’
मैदाको सुख्खा रोटी, पानी रोटी, बफ्याएको म:म, नुडल्स खानु हुने उनी बताउँछिन् । तर त्यही मैदालाई अन्य तत्व मिसाएर, तेलमा तारेर तयार गरिने खानेकुरा भने हानिकारक हुन सक्छ । जस्तो, समोसा, चाउमिन, जेरी, बिस्कुट, चाउचाउ ।
मैदा वा मैदाजन्य खानेकुराले पेट तथा कलेजोमा हानि गर्छ भन्ने बुझाइ पनि व्यापक छ । पेट तथा कलेजोरोग विशेषज्ञ डा. अवशेष भण्डारीलाई हामीले यही प्रश्न गर्दा उनको जवाफ यस्तो थियो, ‘यदि कसैलाई ग्लुटेन सिलिएक रोग छ भने उनीहरुले मैदा खान हुन्न । त्यस अवस्थाबाहेक अरुले मैदा खाँदा ठूलो हानि गर्दैन ।’
मैदाका बारेमा प्रचलित आम धारणाभन्दा फरक तर्क छ, डा. भण्डारीको । ‘मैदा खाएमा ग्यास्ट्रिक वा पेटसम्बन्धी रोग हुन्छ भन्ने कुरा गलत हो,’ डा. भण्डारी भन्छन्, ‘मैदा कसरी, कति मात्रामा खाइन्छ त्यो नै महत्वपूर्ण हो ।’
मैदाले के हानि गर्छ ?
मैदाले के हानि गर्छ भनेर खोजियो भने इन्टरनेटमा त्यस्ता थुप्रै सामग्री फेला पर्छ, जसले मैदालाई ‘खान नहुने’ भनी व्याख्या गरेको पाइन्छ ।
त्यहाँ उल्लेख भएअनुसार मैदामा पोषक तत्व र फाइबरको मात्रा शून्य हुन्छ । मैदामा फाइबर नहुने भएकाले नै यसले पाचनमा समस्या ल्याउँछ । मैदा वा मैदाजन्य परिकार खाँदा आन्द्रामा हानि गर्ने, कब्जियत हुने, अपच र एसिडिटीको समस्या हुने चर्चा पाइन्छ ।

त्यसैगरी मैदामा ग्लाइसेमिक नामक तत्वको मात्रा धेरै हुने भएकाले यसले रगतमा चिनीको मात्रा बढाउँछ । मैदामा उच्च मात्रामा स्टार्च हुने भएकाले खराब कोलेस्टोरेल बढाउँछ भनिन्छ ।
मिलाएर खानुपर्छ मैदा
मैदामा फाइबर नहुने कुरा सत्य भए पनि यो खानयोग्य खाद्यपदार्थमा पर्ने पोषणविद् आचार्य बताउँछिन् । ‘मैदामा फाइबरको मात्रा शून्य बराबर हुन्छ भन्दैमा यसले आन्द्रामा समस्या ल्याउँछ, मोटोपन बढाउँछ भन्ने कुरा गलत हो,’ उनी भन्छिन्, ‘मैदा मात्र होइन जुनसुकै खानेकुरा अनियन्त्रित मात्रामा खाँदा हानि गर्छ ।’
मैदा खाने वा नखाने भन्ने भन्दा पनि कसरी, कति र कसले खाने भन्ने कुरा महत्वपूर्ण भएको उनी बताउँछिन् । ‘मैदा सही मात्रामा, सही ढंगले खानुपर्छ,’ उनी भन्छिन्, ‘यसरी खाँदा कुनै पनि हानि नोक्सानी गर्दैन ।’
बानेश्वरस्थित सिभिल अस्पतालका पेट तथा कलेजो डा. विधाननिधि पौडेलका अनुसार मैदासँगै अरु फाइबरयुक्त वा पोषिलो खानेकुरा मिसाएर खाँदा पेटमा हानि गर्दैन ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij