
प्राचीन एवम् पौराणिक शहर दोलखालाई तपोभूमिको रूपमा हेरिन्छ । यहाँ ऋषिमुनीहरूले तपस्थल बनाइएको मात्र नभएर महाभारत कालीन सभ्यतासँग पनि जोडिएको पाइन्छ । यस अर्थमा दोलखाको त्यो प्रारम्भिक चरणको अनुमान लगाउँदा ५०० शताब्दी पहिलेको इतिहास झुल्किन आउँछ ।
यहाँको बनारसी तीर्थ, ताम्रकोसी नदी, गौरीशंकर हिमाल, हनुमन्ते पहाड, चरणावती तीर्थस्थल, कालिन्चोक भगवती थान, मञ्जेश्वरी टाकुरा, लप्ची गुम्बा, टासी स्तुपा (टासी गुम्बा) चरीघ्याङ गुम्बा आदि इत्यादि देव देवस्थल, गुम्बा, चैत्य र स्तुपा मात्र नभएर ताल तलैया पोखरी कुण्डले भरिएको छ । भौगालिक विषमताको आधारमा विचित्र मौलिकता पाइन्छ । यहाँ हरेक पशुपंक्षीको बास छ, हरेकको भाकामा मौलिकता झल्केको छ ।

कोइली, काग, तित्रा, च्याखुरा, ढुकुर, सारौँ, जुरेली, भभ्गेरा, गौँथली, भ्याकुर, पाङ्ग्रे, काठफोरुवा, धनेश जस्ता चराले आफ्नो मौलिक भाका कहिल्यै फेर्दैन र निरन्तरता दिइरहन्छ । त्यस्तै घरेलु जनावर होस् या जङ्गली जन्तु तिनीहरूको पनि आफ्नै मोलिक भाषामै बोल्ने, कुर्लने, ढुकुराउने, चिर्बिराउने, भुक्ने, घुर्ने र च्याँठ्ठिने गर्छन् ।
हामी त मानिस हौँ । हामीलाई मौलिक, भौगोलिक र भौतिक ज्ञान छ । मानव जाति त्यो प्राणी हो जसले भाका र भाषालाई अनेकौँ तरिकाले बदल्न सक्छौँ । तर पनि आफ्नो मौलिकतालाई भूल्न चाहँदैनौँ । कसैले हाम्रो मौलिकतामा खलल पुर्यायो भने प्रतिकार गर्छाैँ तर भजनमा विविधता किन ? अन्य स्थलमा दोलखा नेपाल (नेवार) भाषाको गीत अन्य स्थलमा या अन्य जातिय समुदायले गाएका सुनेका छौँ त ? छैनौँ भने हामीले हाम्रो मातृभाषामा किन भजन बनाएनौ त ? यसबारे के छ त धारणा ?
केही वर्ष पहिले दोलखाको भजनको गाथा सुन्दा मनमा उत्साह बढ्थ्यो । यही कर्णकुञ्जमा गुञ्जन्थ्यो राग केदार, विवास, माधव, मालश्री, गोला, मंगलका भजन गीतहरू शुरु हुनुभन्दा पहिले शास्त्रीय भाकामा अलापिने तीखो स्वरहरू । त्यो भन्दा पहिले एकै समूहमा भएपनि दुई भागमा विभाजन गरेर भजन गाउने परम्परा छ । पहिले शुरुआत गर्नेलाई ‘जउला’ भनिन्छ भने त्यही पंक्ति दोहर्याउनेलाई ‘खउला’ भनिन्छ । यसको सरल रुप हो दायाँ बस्ने खलक र बायाँ बस्ने खलक ।
अन्य भजन गाइनु भन्दा अगाडि गीतगोविन्द गाउन अनिवार्य छ । हुन त गीत गोविन्द १०८ थरिका हुन्छन् तर दोलखाको भजनमा १२ देखि १६ थरिका मात्र देखिएका छन् । गीतगोविन्द जुन संस्कृत भाषामा लेखिएको हुन्छ । जस्तो कि ‘श्रीत कमला कुच मण्डला यारे धृत कुण्डल हे, कलितल हे लाला….’ भनेर प्रारम्भ गरिन्छ । निकै वर्ष पहिले ‘खिं मुचा’ (मृदंग वादक) श्यामसुन्दर टोलका आदरणीय गुरु स्वर्गीय तिर्थ बहादुर श्रेष्ठ (परिचित नाम सुगर) र कोर्छेँ गुर्कोट टोलका पूजनीय अन्न बहादुर श्रेष्ठ जीवित होउन्जेल ती सै गीत गोविन्द नियमित पाठ हुन्थ्यो, अहिले उहाँहरू अस्ताएपछि यो गीत गोविन्दमा पूर्णविराम लागेको छ । त्यसपछि नियम पालनाको हिसाबले त्यही ‘श्रीत कमला’ मात्र चलिरह्यो ।
त्यसपछि गण्ेश चरण जहाँ गणेश र कुमारको स्तुति स्वरुपमा गाइन्थ्यो यसरी..“प्रथमशः सिद्धि बिल गणेश कुमारं.. गणेश हे हरे गण्ेश कुमार पर्वत हिलावया…” भनेर । त्यसपछि अन्य भजनको क्रम अगाडि बढाइन्थ्यो । जस्तो कि दोश्रो शुरुआत.. “न्हिन्हि छिया स्वेता वने अति न सुन्दरी ख्वाल..जवनस चक्र ज्वसे खवनस शंखपुसे.. हरे नारायणजु गुंयाशिष्ये रसनावज्यिाक…”। यसलाई स्थानीय लोकोक्तिको हिसाब अनुसार ‘नारायण ज्व’ भनिन्छ ।

यसपछि क्रमशः माधव, विवास, गोला, मंगल, नमस्कार र अन्तमा आरती भजन गाईन्छ । हरेक भजनमा आ–आफ्नै खालको नियम हुन्छ । राग अलाप्दा दिखा लिएको व्यक्ति जसले चाहिँ नित्यकर्ममा नाट्श्वर गुरुमन्त्र प्राप्त गरेको हुन्छ, उनीहरूले मात्र राग अलाप्ने प्रचलन थियो पहिले । यो राग शास्त्रीय संगीतको तालमा अलापिन्छ । यसबाट एउटा कुरा चाहिँ स्पष्ट हुन्छ कि दोलखामा पनि शास्त्रीय विधा रहेको थियो भनेर ।
यसमा राग लिने तरिका मंगल भजनमा अलि फरक हुन्छ । मंगल भजनमा जउला र खउलाले पालैपालो गरेर तीनतीन पटक लिने चलन छ भने अन्य भजनमा एककैपटक शुरुमा र अन्तमा लिने गरिन्छ । प्राचिन शहर दोलखाको तल्लो टोलको माहाता (महागीता) पाटी भजन मण्डल खलकले हरेक साल आरम्भ दिनमा भजन समापन गर्ने गरिन्छ । स्थानीय हिसाबले यस कार्यलाई भजनको ‘आरम्भ’ शब्दले दोलखाको मौलिक परिचय दिएको पाइन्छ । त्यही दिनलाई अतिततिर हेर्दा हामीले देखि आएको कुरा भन्नुपर्दा ।
हाम्रा आदरणीय जेष्ठ व्यक्तित्वको रुपमा पहिलो पुस्तामा पिङ्गल टोलको स्वर्गीय गौरीमान श्रेष्ठ, गुर्कोट टोलका अन्न बहादुर श्रेष्ठ, चक्र बहादुर श्रेष्ठ राजकुल बहिर टोल, नर बहादुर प्रधान नक्छेँमि, भक्त बहादुर श्रेष्ठ कोर्छेमि, त्यसपछि कोर्छेँ टोलका चक्र बहादुर (माइला), बाबु लाल प्रधान नक्छेँ, बुद्धरत्न तुलाधर (सिंभु थान), तिर्थ बहादुर श्रेष्ठ श्यामसुन्दर खिंमुचा (मृदंग वादक), अमृत बहादुर प्रधान कोर्छेँ सेङ टोल, ज्ञान बहादुर प्रधान नक्छेँ मि, नर बहादुर श्रेष्ठ वतिछेँ राइतीमार्ग, भैरव प्रसाद प्रधान नक्छेँ, जुक्त बहादुर जोशी श्यामसुन्दर, गणेश बहादुर श्रेष्ठ बहिर, टिका नारयण श्रेष्ठ (ड्वाक्बाबु) आदि हुन् ती पूर्वजहरूमा वति टोलका नर बहादुर श्रेष्ठ र टिका नारायण श्रेष्ठ (डक्बाबु) बाहेक सबैले संसार त्यागि सकेका छन् ।
यिनै व्यक्तिहरूको जमघटमा महागीता पाटी संगैको श्यामसुन्दर नारायण मन्दिरको प्राङ्गणमा भव्य तरिकाले भजनको आरम्भ उल्लासमय उत्सवको रुपमा मनाइन्थ्यो । आज ती अग्रजहरू यस धर्तीमा नरहे पनि दोश्रो पुस्तका रुपमा आएका मध्यम उमेरका भद्रजनहरूले त्यसलाई निरन्तरता त दिँदै आएका छन् तर अहिले आएर झण्डै लोपको संघारमा पुग्न थालेको छ । जस्तो कि तल्लो टोलमा मात्र हेर्दा पछिल्लो पुस्ताको हिसाबमा राजकुलेश्वर आधारभूत विद्यालयका पूर्व शिक्षक भगवान दास श्रेष्ठ, कोर्छेँ टोलका जुहारी लाल श्रेष्ठ (कृष्ण मृदंग वादक), त्यस्तै यज्ञ बहादुर प्रधान, नवराज प्रधान कोर्छें सेङ, वीर बहादुर शिवभक्ति दुङ्गल, प्रेमकृष्ण श्रेष्ठ श्यामसुन्दरले जसोतसो भजनलाई निरन्तरता दिइरहेको पाईन्छ ।
दोलखाको तल्लो टोलमा रहेको महागीता पाटीको भजनमा वाद्यवादनको तर्फमा खिं (मृदङ्ग) र तबलामा कृष्ण श्रेष्ठ (जुहारीलाल) ले साथ सहयोग दिइरहेको भएपनि जागीरको सिलसिलामा रामेछापमा जानुपरेकोले निरन्तरता पाइएको छैन । तथापि पहिले पहिले भजन मण्डलमा पुरुषले मात्र गाउनु हुने भन्ने नियमलाई तोडेर समावेशीको हिसाबले हिजोआज नारी वर्गले पनि भजनमा सहभाग िभएको पाइन्छ यो समयको माग पनिm हो र यसमा जागरुक बनाउने श्रेय भगवान दास श्रेष्ठमा जान्छ ।

यसरी तल्लो टोलको श्यामसुन्दर टोल र महागीता भजन पाटीमा यति रमाइलो उल्लास हुन्थ्यो त्यतिबेला । जुन कार्यको लागि सबै भजनप्रेमीहरूले बिहानै देखि आँगन सफा गरेर माला टाँगेर साँझ परेपछि एक जुट भएर भजनमा तल्लिन हुन्थे । बुढाहरूको एक समूह हुन्थ्यो बुढा भजन गाउने । यसमा मृदङ्ग (खिँ दुईतिर खरी भएको ठूलो खालको मादल), झ्याली आकारको सानो खालको दुई हातले समाएर बजाउने बाजा, जसलाई स्थानीय भाषामा छिलिमिलि भनिन्छ । अर्को सानो ढलवटको डल्लो परेको यसलाई पनि दुइ हातले नै बजाइन्छ । यसलाई ताल भनिन्छ । बुढा भजनमा माथि उल्लेख गरेजस्तै बुढापाकाहरूको समूह भएपनि युवाहरूको पनि सहभागी हुन्छ । यसमा भजन शुरु हुनुभन्दा पहिले राग लिने परम्परा छ । यो राग पनि भजनको ताल र लय अनुसार फरक फरक हुन्छ ।
यसरी नै युवाहरूको समूहले तबला, हारमोनियम, छिलिमिलि, ताल खैंजडीको साथ अलि फरक ढंगले लोक मिश्रित गीत गाइने प्रक्रियालाई टफ्फा भजन भन्ने गरिन्छ । यसमा पनि देवी देवताकै नाम लिएर गाए पनि संयोगान्त र वियोगान्त दुवै थरिको गीत गाउने चलन छ । जस्तो कि अलि संयोगान्त रमाइलो हुने..‘हरिबोल हरिबोल दुःख माया जानी, दुई दिनको जिन्दगानी कर्कलोको पानी..’ त्यसैगरि ‘नारायण नारदस्व कहियो, श्री सत्य नारायण कि ध्यान करो..’ त्यस्तै रामायणको वर्णनमा..‘ हुकुम मानेर माताको खुशीले अहिले जान्छु बन, भरतले राज गरुन् देशको मलाई केही छैन मन…’, त्यसैगरि मानवीय जीवन दर्शन व्यक्त गरेका भजन..‘भूला भूला फिरे जगत मे कैसा हे नाता, कैसा हे नातां. इस कलियुग मे जनम लिया है खानापिनाके आशा.. साँचा बोले झूटा माने, झूटा बोले साँचा जगत मे कैसा हे नाता..’ यस्तो खालका भजन प्रचलित छ ।
दोलखामा टोलको हिसाबले चार ठाउँमा भजन टोली रहेको छ । भीमेश्वर मन्दिर भजन खलक, ड्वाल्ङा भजन खलक, महागीता पाटी भजन खलक र दुङ्गल पिङ्गल भजन खलक । कुनै जात्रा पर्वमा भजन गाउनको लागि माथिल्लो टोल र तल्लो टोल दुवै खलकले छुट्टाछुट्टै समूह बनाएर जाने चलन छ । तर हिजो आज माथिल्लो टोलको भजन खलक र ड्वाल्ङामिको भजनमा प्रायः शून्य नै भैसकेको छ । कारण हो जन सहभागिताको लागि जनश्रोतको अभाव ।
माथिल्लो टोलका अग्रजहरूको स्मरण गर्नुपर्दा विंगत भैसकेकाहरु भजनको प्रखर विद्वानकै रुपमा परिचित भवानी शंकर (माइला बाजे पुरान्छेँ) यसपछिका भजनप्रेमि वृद्ध पुरुषहरू पुरान्छेँबाटै जनकलाल श्रेष्ठ, डबल बहादुर श्रेष्ठ, अम्बर बहादुर श्रेष्ठ (थरी), भीम बहादुर श्रेष्ठ, डोक्छेँ टोलबाट कृष्ण बहादुर श्रेष्ठ (खरिप्याखनका नायक राजा), रामकाजी श्रेष्ठ, तिर्थ बहादुर श्रेष्ठ, पालचुटीबाट कृष्ण मुरारी मास्के, ईश्वर बहादुर मास्के, माथिल्लो बिहार्छेँ टोलबाट चेत बहादुर श्रेष्ठ, पद्म जंग श्रेष्ठ, दान बहादुर श्रेष्ठ डाँडा थोक, भरत बहादुर श्रेष्ठ डाँडाथोक, भक्त बहादुर श्रेष्ठ डाँडाथोक, रामकृष्ण प्रधान तल्लो बिहार्छेँ र यज्ञ बहादुर प्रधान ड्वाकपसल, कञ्चन बहादुर श्रेष्ठ खिं मुचा र कृष्ण बहादुर श्रेष्ठ खिंमुचा (मृदंग वादक दुवैजना दाजुभाइ हुनुहुन्थ्यो) आदि हुन् । अझ कतिपय नाम सम्झन सकिएको छैन ।
त्यसैगरी टफ्फा भजनमा दिलो ज्यान दिनुहुने दिवंगत भएका व्यक्तिहरूमा मोहनकृष्ण श्रेष्ठ पुरान्छेँ, इला बहादुर श्रेष्ठ डोक्छेँ, लक्ष्मण श्रेष्ठ लिस्टोल, प्रमोद श्रेष्ठ (बलदेव) डोक्छेँ, इश्वरी लाल श्रेष्ठ (तल्लो बिहार्छेँ) आदि व्यक्तित्वहरूको अल्पायु मै विंगत भएकोमा मािथल्ला टोलको भजन लगभग समाप्त जस्तै भएको छ उहाँहरू प्रति हाम्रो श्रद्धासुमन । अब जीवीत रहेर पनि भजनमा उपस्थिति जनाउन नसक्नेहरूमा तबला वादक नारायणकृष्ण गिरी, धर्मलाल श्रेष्ठ र तबला वादक शंकर श्रेष्ठ शारिरीक अवस्थाले साथ नदिएकोले कहिलेकाहीँ बजेको भजनको धूनमै संतुष्ट मान्न विवश भएको हामीले पाएका छौँ ।
धर्मलाल दाजु र शंकर दाजु त केही हदसम्म हिँड्डुल सक्नहुन्छ तर नारायणकृष्ण गिरीको अवस्था भने नाजूक देखिएको छ यसका लागि स्थानीय सरकार, भजन मण्डल खलक र भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिले पनि उपचारको लागि साथ सहयोग दिन जरुरी देखिन्छ ।
अब निस्क्रिय हुन लागेका भजनको उत्थान कसले ब्युँताउने त ?
हिजोआज जुनसुकै कुरामा कमिशनतन्त्र चलेको देखिन्छ । प्रत्यक्ष अप्रत्यक्ष रुपमा मन्दिर, पार्क, बाटो, पुल, प्रवेशद्वार बनाउनेतिर पनि कमिशन नपाए कोही अग्रसर नहुने परिपाटीले गाँजिएको छ । पत्रपत्रिका र सामाजिक सञ्जालमा या कहिलेकाहीँ राष्ट्रिय स्तरका मिडिया आए भने मेरो पालामा मैले गरेको मेरै मार्फत भएको भनेर अनुहार देखाउन आतुर हुने व्यक्ति र समितिको कमी छैन । यस्तो व्यक्तिहरूले ती लोप हुन लागेका भजनलाई कसरी उजागर गर्ने भनेर लागिपरेको नदेखिँदा परम्पराका द्योतक भन्न शिर निहुँर्याउनु पर्ने अवस्था आएको छ ।
संस्कृति र सम्पदाको संरक्षण गर्ने नाममा प्राचीन सम्पदालाई आधुनिकीकरणको परिभाषा दिएर दोलखाको प्राचीनता माथि प्रश्नचिन्ह तेर्साएको छ । भजन मण्डलकै प्रसङ्गमा तल्लो टोलको महागीता भजन मण्डलका लागि भनेर कालिन्चोक युवा क्लवले काठमाडौंमा रहेका दाताहरूसंग हारगुहार गरेर संकलन गरेको वाद्यवादनका सामग्रीहरू व्यक्ति विशेषको घरघरमा लगेर थन्क्याएर मैले नै मगाएको भनेर फिर्ता नदिनुले हाम्रो समाजलाई कुन दिशातिर मोड्ला त ? हामीले सो गुनासो सुनेर सम्बन्धित व्यक्तिसंग जिज्ञासा पनि राखेका थियौँ तर एकले अर्कालाई दोष थुपारेर पन्छिने कुरामात्र गरे ।
हाम्रो भजन मण्डललाई पुरानै अवस्थामा फर्काउनका लागि हामी सबै एक तर्क एक मत भएर कुनै राजनीतिक पूर्वाग्रह नराखीकन हामी दोलखावासी नै भएर लाग्न जरुरी छ । पूर्खाहरूले धेरै राम्रा संस्कृति र सभ्यताका पाठ सिकाएर गए । तर बीचमा आएर यो शहरको संस्कृति, रीतिरिवाज, पर्व, जात्रा र भजन किर्तनमा टाँचा लाग्न जाँदैछ, त्यसैले अब पनि पुस्तान्तरणको हिसाबले प्रशिक्षण प्रक्रियालाई अगाडि बढाएनौं भने प्राचिन शहर दोलखा किंवदन्तिमा सिमित नरह्ला भन्न सकिन्न ।
त्यसैले अहिलेको परिवर्तित समयलाई बुझेर हाम्रै दोलखको नेपाल (नेवार) भाषामै गोला, मंगल, नमस्कारी, माधव, केदार, विवासको राग अलापेर गाउने गीत लेख्ने अभ्यास गरौँ ताकि भावी पुस्ताले हाम्रो भजनमा द्वाल्खा नेवारी भाषामा लेखेकै छैन नभनोस् । जय नाट््यश्वर ! जय भीमेश्वर ! जय दोलखावासी ।
लेख संयोजन : बालकृष्ण श्रेष्ठ “पासा”
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij