१० कात्तिक, काठमाडौँ । हरेक वर्ष विजयादशमीको मध्यराति तलेजुबाट सुरु भई नगरका विभिन्न क्षेत्रमा मनाइने सेतो घोडासहितको खड्ग जात्रा आज दिउँसै सम्पन्न भएको छ । कोरोना भाइरसका कारण मध्यराति गरिने यो जात्रा आज भने अपरान्ह चार बजे सम्पन्न गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “परम्पराअनुसार हरेक वर्ष विजयादशमीको दिन मध्यराति तलेजुबाट बाजागाजासहित सेतो घोडा निकालेर खड्ग जात्रा गरी दरबारस्क्वायर र नगरका अन्य क्षेत्रमा परिक्रमा गरिदैँ आएको थियो, तर यस वर्ष कोरोनाका कारण खड्ग जात्रा तलेजुबाट गोल्डेन गेट भित्र औपचारिक रुपमा मात्रै मनाइएको छ, बाहिर परिक्रमा गर्ने परम्परा यो वर्ष रोकिएको छ ।”
त्यसैगरी आजै नवदुर्गा देवगणहरुले तलेजुको जमदार चोकमा तलेजु भवानीलाई ढोग गरेका छन् । तलेजु भवानीलाई दिदी र नवदुर्गा भवानीलाई बहिनीको रुपमा मानिदँै आएको बताउदै मूलनाइके जोशीले परम्परा अनुसार आज नवदुर्गा देवगणले तलेजु भवानीको ढोग गरेको जानकारी दिनुभयो ।
त्यस्तै तलेजुका ५२८ जना जोशी, राजोपाध्याय र बज्राचार्य थरका रकमी, पुजारीले पूजा गरी आज शुुभसाइतमा टीका ग्रहण गरेका छन् । त्यस्तै जीवित देवी एकान्त कुमारी जीविका बज्राचार्यको हातबाट टीका लगाउन लगाइएको छ । सर्वसाधारणलाई गोल्डेन गेटबाट भित्र जान रोक लगाएपछि तलेजुको दर्शन एवं टीका ग्रहण गर्न रोक लगाएको उहाँले जानकारी दिनुभयो ।
भक्तपुर नगरपालिका–१० क्वाठर्डौँस्थित कुमारी घरमा विगतका वर्षमा कुमारीको हातबाट टीका ग्रहण गर्नेको घुईचो लाग्ने गरेपनि यस वर्ष भने कोरानाका कारण कुमारीको हातबाट टीका लगाउन रोक लगाइएको छ ।
कोरोना भाइरस सङ्क्रमणका कारण यस वर्ष जीवित देवी एकान्त कुमारी यात्रा समेत रोकिएको छ । कुमारी यात्रा रोकिए पछि भक्तपुर तलेजुका रकमी, पुजारीहरु बाजागाजाबिना नै क्वाठडौंँस्थित एकान्त कुमारीको द्योछें पुगेर पूजा गरेका छन् ।
तलेजुको मूलचोकको पश्चिममा रहेको कुमारी चोकस्थित दशैँघर सवारी भएर कुमारीलाई तलेजुका जोशी, राजोपाध्याय र कर्माचार्य पुजारी नाइकेहरुसँगै अरु रकमीले पूजाआजा गर्ने प्रचलन रहेपनि जीवित देवी कुमारी तलेजुस्थित दशैँंघर सवारी नभएपछि सबै कुमारी घर मै गएर विधिवत रुपमा पूजा गरी वेदपाठ, चण्डी पाठ, स्त्रोत्र पाठसमेत गरिएको मूल नाइके जोशीले जानकारी दिनुभयो ।
यस वर्ष भैरव र गणेशसहितका ११ गणकुमारी र एकान्त कुमारीको एकै पटक गरिने पूजासमेत रोकिएको छ । त्यसैगरी प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुर–१० च्यामासिंहस्थित ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रा आज सामान्य रुपमा सम्पन्न भएको छ ।
नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रम्हायणी मन्दिरमा आजको दिन नवदुर्गा भवानी प्रकट हुने जनविश्वासअनुरुप परम्परादेखि नै विजयादशमीको दिन यहाँ भव्य मेला लाग्ने गर्दछ ।
हरेक वर्ष हजारौको भीड लाग्ने ब्रम्हायणी जात्रा यस वर्ष सामान्य रुपमा मनाइएको छ । ब्रम्हायणी मन्दिरमा सर्वसाधारणलाई पूजा गर्न रोक लगाए पछि मन्दिर पुगेका सर्वसाधारणले बाहिरैबाट पूजा एवं दर्शन गरेर फर्किएका छन् ।
यस वर्ष शरीरमा बत्ती बालेर ब्रम्हायणी मन्दिरसम्म यात्रा गर्ने, शरीर नाप्दै घरदेखि मन्दिरसम्म लड्दै आउने परम्परा पनि रोकिएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij