Oct 11 2026 | २०८३, आश्विन २५ गते

Oct 11 2026 | २०८३, आश्विन २५ गते

के अब दोलखा त्रिपुरासुन्दरीको मूर्ति फिर्ति आगमन होला त ?

के अब दोलखा त्रिपुरासुन्दरीको मूर्ति फिर्ति आगमन होला त ?

हराएको र्मूिर्त वटुक भैरव होइन त्रिपुरासुन्दरी भगवतीको हो भ्रममा नपरौँ, वटुक भैरव भनेको खड्गजात्राको दिनमा चार हात देखाएर नाच्ने देउता हो । जसलाई हामीले ‘बटिङ्खाँडा’ भन्ने गर्छौँ । पहिले ‘वटुकखाँडा’ भनेर भन्दाभन्दै वटिङ्खाँडा भएको हुनसक्छ ।

कोशिस गरे असम्भव शब्द खल्तीमा लुकाउँदा पनि फरक नपर्ला । किनकि त्यही कोशिसले नै वैज्ञानिकहरूले चन्द्रमामा पाइलो हाले, मङ्गल ग्रहको परिधि परिक्रमा गरेर मान बस्तीको परिकल्पना समेत गरे । कतिबेला पुछ्रेतारा र पृथ्वी बीचमा टक्कर हुन्छ भनेर पत्ता लगाउन ज्यानको बाजी लगाए । हुँदाहुँदा चीन देशले नक्कली सूर्य समेत बनाएर विश्वलाई चकित बनाए । यो हामीले प्रत्यक्षरूपमा देखि आएका छौँ ।

यो युग विज्ञान प्रविधिको हो । पहिले पहिले मान्छे भूत बनेर प्रकट हुन्थ्यो भने अहिले भूत चाहिँ मान्छे बनेर हेलमेल गरिरहेका छन् । पहिले हाम्रा पूर्खाहरूले शारीरिक तागतले नभ्याउँदा तान्त्रिक शक्तिले बडेमानको पत्थरलाई एक ठाउँबाट अर्को ठाउँमा लग्थे, न त त्यतिबेला कुनै क्रेन थियो, न त स्काइभेटर न त कुनै विमान नै । परिकल्पना गरौँ न, दोलखाको भीमसेन थानको मन्दिर अगाडिको ३४–३६ मिटर अग्लो पत्थरको स्तम्भ कसरी खडा गरियो होला ? त्यसभन्दा अगाडि रहेको एउटै पत्थरमा कुँदिएको सिँहको मूर्तिलाई बिना सीप र प्रयास सम्भव थियो र ?

त्यस्तै चोरी डकैती गर्नेहरूले पनि हर सम्भवले कोशिस गरेर अनेकौँ अध्ययन गरेर समय, मौका वातावरण सबै मिलाउँछन् र अवसरको फाइदा उठाउँछन् । नत्र तीन हात चौडाइ भएको गारो फोडेर मूर्ति चोर्न सहज होला त ?

प्रसङ्ग दोलखाको त्रिपुरा सुन्दरीको मन्दिरको भगवतीलाई हेर्दा त्यो भवनको गारो यति बलियो थियो कि ९० सालको भूकम्पले त्यत्ति धेरै असर पारेको थिएन रे । चारैतिरको मजबूत गारोको कारणले नै युगौंसम्म ज्यूँ का त्यूँ रहेको भवनको अग्रभागको काठको झ्याल फोडेर सो मूर्ति लगेका थिए ।

२०४१ साल ताका दोलखामा दसैँ पर्व भर्खरै सकिएको बेला थियो । परदेशबाट दसैं मान्न आएका विद्यार्थी जागिरेहरू आ–आफ्नो कार्य क्षेत्रतिर लाग्दै थिए । कोही अलि लामो विदा लिएर आएकाहरू केही दिन परिवारसँग रम्ने रमाउने उद्देश्यले बसेका थिए । त्यो मन्दिरमा हरेक बिहान साँझ भजन किर्तन पनि हुने गथ्र्यो । नवरात्रभर दुर्गा भजन मालश्री भजन घन्किन्थ्यो ।

त्यो मन्दिरमा अनेकौं विशेषता भएतापनि चोरको एउटै विशेषताले न त भय रह्यो, न त त्रास न त संकट नै । उनीहरूलाई जसरी नि चोरेर डाँडा कटाउनु थियो काटे कुरा खत्तम । अनाहकमा निर्दोषीले सजायँ भोग्नु पर्यो । स्थानीयबासीको निंदहराम भयो । निर्देशकहरू कुन तारे होटलमा अट्टहास छर्दै विजयोत्सव मनाउदै थिए होलान् उता भने बाजा बजाउने, राग अलाप्ने, बढार्ने, लिप्ने, पोत्ने, पूल टिप्ने, पूजा गर्ने सबैलाई केरकार गरेर एक गाँस खाना पनि कण्ठमै रोकिने गरी पसिना काढेर बस्नुपर्ने अवस्था ।

त्यो मन्दिरको मूल पूजा कोठामा पूजारी बाहेक अन्य कोही पनि प्रवेश निषेध थियो । बिना साधक भित्र प्रवेश गरेमा ठाउँको ठाउँ रगत छादेर परमधाम पुग्छ भनेर पूर्खाहरूले राखेको निषेधाज्ञा चोरहरूले तोडिदिए । न त उनीहरूले रगत छादे, न त बेहोस नै भए । त्यो मूर्ति रातारात बोकेर फलानो ठाउँ पुर्याए, तीनजनाले पालैपालो बोकेर यस्तो ठाउँमा पुर्याए भनेर चर्चा पनि नसुनेको होइन, तर को थिए, कसले देखे त्यो चाहिँ रहस्यको गर्भमै थियो । खालि शंका र उपशंकाले अघोषित इसारा देखाए । वास्तविकता त्यही थियो चोरले चोरेर लगे । दोबाटोमा जतिसुकै बयान, गाली र धिक्कार मान्नु सामाजिक पर्याय मात्र रह्यो ।

ती मूर्ति चोरहरूले दोलखामा मात्र होइन तथ्याङ्क हेर्दा खेरि उपत्यकाका विभिन्न स्थानबाट धातुको मात्र होइन पत्थरको मूर्ति समेत गायब पारेको कुरा सन् १९६० (२०१७), १९६६ (२०२३, १९७२ (२०२९) तिर धेरै मूर्तिहरू हराएको कुरा इतिहासकार लैनसिंह वाङ्देलद्वारा लिखित ‘स्टोलेन इमेजेज् अफ नेपाल’ भन्ने पुस्तकमा देखिन्छ । यही पुस्तकमा देखाए अनुसार सबैभन्दा बढी मूर्ति सन् १९८० (२०३६–३७) ताका चोरिएको देखिन्छ । ती मूर्तिहरू खरीद गर्ने गिरोहहरू महान व्यापारी नै हुन्छन् रे । तर उनीहरूको काम ल्याएको सामान खरीद गर्ने हो चोरेर ल्याओ त पक्कै भन्दैनन् होला ।

अझ एउटा कुरा के पनि खुल्न आएको छ भने ती पुराना मूर्तिहरू राखिने संग्राहलय र ग्यालरी सञ्चालकहरू पनि अप्रत्यक्ष रूपमा केही नेपालीहरू नै हुन्छन् भन्ने जानकारी प्राप्त भैरहेको छ ।

विशेष गरी नेपाली मूर्ति, हस्तकला र शिल्पकलाको खुलेआम निकासी भैरहँदा त्यतिबेलाका सरकारी संयन्त्रका व्यवस्थापकहरू कति बदमासी रहेछन् भनेर आंकलन गर्नु अस्वभाविक नहोला । ती मूर्तिहरू त्यति सहजै समुद्रपारी पुगे होलान् त ?

अब लागौँ त्रिपुरासुन्दरीकै मूर्तिको प्रसङ्गमा
दोलखाको त्रिपुरासुन्दरीको मूर्तिको तस्बिर अलिक स्पष्ट नभए पनि एउटा तस्बिर हातमा आईपुगेको छ । जुन तस्बिरमा देवताको मन्दिरको तत्कालीन पूजारी बाजे स्वर्गीय धनबहादुर जोशीज्यू देखिनु हुन्छ । उहाँ पूजाको ध्यानमा रहेको बेलामा यो तस्बिर कुन नियतले खिँचेको हो त्यो त थाहा भएन । अलिक पर काठको झ्यालमा देखिने मूर्ति नै त्रिपुरासुन्दरीको मूर्ति हो । यसलाई स्थानीय नेपाल भाषामा ‘देक्वार’ भनिन्छ । खासमा यो देवीकोट हो ।

यहाँ भित्र बलिपूजा गर्दा अलौकिक चमत्कार पूर्ण बलिपूजा हुने गर्छ, जुन कल्पना गर्न सकिन्न । त्यो के भने जस्तोसुकै बडेमानको बोका भएपनि त्यस पूजा कोठामा हुलेपछि एक जेष्ठ नागरिकले एक्लैले बिना आवाज बिना छटपटाहट नै बोकालाई बलि दिएर बाहिर कक्ष बाहिर मिल्काई दिने गरेको हुन्छ । जब कि भीमसेन थानमा बलि दिने बेलामा साना पाठादेखि ठूला बोका सम्मलाई बलि दिँदा कम्तिमा दुईजनाले समाउनु पर्ने हुन्छ ।

अब यहाँ मूल कुरातिर प्रवेश गर्दा यही त्रिपुरासुन्दरी सँग लगभग ९०% (प्रतिशत) मिल्ने मूर्ति विदेशमै फेला परेको जानकारीमा आएको छ । जसलाई ‘तारा’ नाम दिएर एउटा ग्यालरीमा राखिएको थाहा हुन आएको छ ।

यदि यो तस्बिरसँग दोलखाको त्रिपुरासुन्दरी भगवतीको तस्बिर मिल्न आयो भने यो पनि पक्कै फिर्ता आउनेछ । यदि यहाँ सम्प्रेषण गरेको तस्बिर भन्दा पनि सफा र स्पष्ट देखिने तस्बिर कोही सँग छ भने हामीसम्म पुर्याई हराएको सम्पदा जोगाउन मद्दत मिल्नेछ भन्ने अभिलाषका साथ आजलाई बिट मार्ने अनुमति चाहन्छौँ । जय त्रिपुरासुन्दरी भगवती माता ! जय दोलखा भीमेश्वर ! जय दोलखाली जनता ! ! !

लेख संयोजन ः बालकृष्ण श्रेष्ठ “पासा”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार