बाँपीझ्याला, कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि जिल्ला कारागार तनहुँले कैदीबन्दीलाई आफन्तबाट दशैँको टीका लगाउन रोक लगाएको छ । कोरोनाको जोखिम बढेकाले यस वर्षको दशैँमा कैदीबन्दीलाई आफन्तबाट टीका लगाउन रोक लगाइएको हो । बाहिरबाट अन्य मानिस जाँदा जोखिम हुने भएकाले यस वर्षको दशैँमा कैदीबन्दीलाई आफन्तबाट टीका लगाउन रोक लगाइएको कारागार प्रमुख नारायण अधिकारीले जानकारी दिए। कारागारका कैदीबन्दीले आ–आफँै टीका लगाएर दशैँ मनाउने तयारी गरेका छन् । “कोरोनाका कारण यस वर्ष आफन्तलाई पनि कारागारभित्र प्रवेश दिन सक्ने अवस्था रहेन, कैदीबन्दीले आ–आफै टीका लगाई, शुभकामना आदानप्रदान गरी दशैँ मनाउने तयारी गरेका छन्”, उनले भने ।
कैदीबन्दीले दशैँ मनाउनका लागि आवश्यक पर्ने खसीबोका खरिद गर्नका लागि कोष बनाएका छन् । कोषमा सबै कैदीबन्दीले रकम जम्मा गरेका छन् । सोही कोषमा जम्मा गरिएको रकमले खसी, कुखुरालगायत खरिद गर्ने तयारी छ । “सरकारले दशैँ खर्चबापत प्रत्येक कैदीबन्दीलाई रु तीन सयका दरले रकम उपलब्ध गराउँछ, सोही रकम र मुढा बिक्री गरेर कमाएको पैसा कैदीबन्दीले कोषमा राखेका छन्”, प्रमुख अधिकारीले भने ।
केही कैदीबन्दीले दशैँको पूर्वसन्ध्यामा मुढा बिक्री भएको रकम परिवारलाई पठाएका छन् । “मुढा बिक्री गरेर प्रत्येक वर्ष कैदीबन्दीले दशैँको बेला परिवारमा पठाउने गर्छन्, अहिले पनि केहीले रकम पठाएका छन्”, उनले भने ।
बिहीबारसम्म कारागारमा १५२ कैदीबन्दी र ६४ थुनुवा छन् । कोरोनाको जोखिम बढेदेखि नै कारागारमा उच्च सतर्कता अपनाइएको छ । गत चैतदेखि नै कैदीबन्दी भेटघाट पूर्ण रुपमा बन्द छ । जिल्ला कारागारमा हालै मात्र नयाँ भवन निर्माण सम्पन्न भएको छ । नयाँ भवनको क्षमता ८० जनाको हो । तर उक्त भवनमा पनि क्षमताभन्दा बढी कैदी राखेर बाँकी कैदीबन्दीलाई पुरानो भवनमा व्यवस्थापन गरिएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij