
उपेन्द्र प्रधान
प्राचिन शहर दोलखामा चैत्र २३ गतेदेखि २०८० बैशाख १ गतेसम्म रातो मच्छिन्द्रनाथको रथजात्रा शुरु हुन गईरहेको छ । जुन दोलखावासीहरुले ठुलो पर्वको रुपमा मनाउने गरेको पाईन्छ । काठमाण्डौंमा सेतो मच्छिन्द्रनाथको रथ जात्रा र ललितपुरमा रातो मच्छिन्द्रनाथको रथजात्रा तानेर मनाउने परम्परा रहेको छ । यसरी प्राचिन शहर दोलखामा मनाईने रथजात्रामा बहुसंख्यक दोलखावासीहरुको सहभागीता हुन्छ । यसै गरी काठमाण्डौं, ललितपुर र भक्तपुरवासी नेवार समूदायहरुको विशेष उपस्थिती रहेको पाईन्छ ।

यही चैत्र २३ गते दुधमा महास्नान, २४ गते भीमेश्वर नगरपालीका वडा नं. २ ड्वाकुलुङाबाट वडा नं.२ स्थित पिङ्गल टोलमा रथमा हाल्ने, २५ गते पिङ्गल टोलबाट नक्छे टोलमा तान्ने, २६ गते नक्छे टोलबाट श्यामसुन्दर टोलमा तान्ने, २७ गते श्यामसुन्दर टोलबाट टँसिचा टोलमा तान्ने, २८ गते टँसिचाटोलबाट रास्नीको ६० डिग्रीको उकालो हुर्दै माथिल्लो टोलमा तान्ने, यसदिनलाई विशेष आकर्षण दिनको रुपमा लिने गरेको पाईन्छ । यसै गरी २९ गते माथिल्लो टोलबाट दुङ्गल टोलमा तान्ने, ३० गते दुङ्गल टोलबाट पिङ्गल टोलमा तान्ने र नयाँ बर्ष २०८० बैशाख १ गते पिङ्गलटोलबाट फेरी डोकलुङ्गा टोलमा रथमा राखी भि¥याईने छ । जसको आफ्नो लोक किम्वदन्ती रहेको छ ।

पाटनको बुङमतिमा बि. सँ. ६३२ मा लामो खडेरीबाट राहत पाउनका लागि बर्षा गराउन मच्छिन्द्रनाथ प्रतिस्थापन गरेको मानिन्छ । उपत्यकामा मच्छिन्द्रनाथले राजा नन्ददेवका पालामा वि.सं. ६३२ मा प्रवेश पाएको भन्ने भाषा वंशावलीको भनाई रहेको पाईन्छ ।

पाटन ललितपुरका राजा विष्णु मल्ल (सिंह) ले दोलखाका राजा नन्ददेव सिंहलाई ललितपुर भ्रमण गर्ने निम्ता दिए अनुसार ललितपुरको भ्रमणमा गएको र राजा महेश नन्ददेवले महाविहारमा सुनको विष्णु भगवान मूर्ति स्थापना गरी घण्ट चढाएको कुरा अभिलेखबाट देखिन्छ । राजा नन्ददेवले पाटनका महागुरुदेव बज्राचार्यको सहयोगमा बुगमतीस्थित रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति बनाउन लगाई ने.सं. ६३९ वि.सं. १५०५ बैशाख सुदी १७ शुक्लपक्ष त्रयोदशी सोमबारका दिन दोलखा ल्याई ड्वाकुलुङ्गा टोलमा मन्दिर बनाई विधिपूर्वक स्थापना गरेको उल्लेख छ ।

त्यसै समयदेखि दोलखामा मच्छिन्द्रनाथको रथजात्रा शुरु भएको हो भन्ने भनाई राख्नुहुन्छ स्थानीय इतिहासवेत्ता यज्ञकुमार प्रधान । दोलखाली नेपाल (नेवारी) भाषामा मच्छिन्द्रनाथलाई बुग्देउ भनिन्छ । दोलखामा मच्छिन्द्रनाथको पुजारी बज्राचार्य थरको हुने गरेको छ । राजा नन्ददेवका छैटौं पुस्ता जन्तरे नाति राजा बासुदेवले वि.सं.१६३० तिर दोलखाको लापिलाङ्ग, लेप्टुङ्ग र कार्तिके गाउँको जग्गा भगवान मच्छिन्द्रनाथको नाममा गुठीमा राखी रथजात्रा सञ्चालन गर्न त्यस गाउँका बासिन्दाहरुले डोरी, काठ, वनमाला ल्याई रथ बनाउन सहयोग गर्नुपर्ने ब्यवस्था गरे ।
यो ब्यवस्था २०४२ सालसम्म कायम थियो । २०४२ सालदेखि उल्लेखित ठाउँबाट आउनुपर्ने सामान, जनश्रम नआएपछि २०४२ देखि २०५४ सालसम्म रथको सट्टा खटमा राखी मच्छिन्द्रनाथ जात्रा सम्पन्न हुने गर्दथ्यो ।
वि.सं. २०५५ सालदेखि कालिञ्चोक युवा क्लब, दोलखा र तत्कालिन अध्यक्ष प्रकाश श्रेष्ठको सक्रियतामा पुनः पहिलेको जस्तै भव्य रथ निर्माण गरी मच्छिन्द्रनाथको रथजात्रा शुरु भयो र त्यसलाई निरन्तरता दिँदै हालसम्म पनि कालिञ्चोक युवा क्लवकै सक्रियतामा प्रत्येक वर्ष मच्छिन्द्रनाथको रथजात्रा सम्पन्न हुँदै आएको छ । यसै गरी स्थानिय निकायको स्थापना पश्चात उक्त कार्यमा स्थानिय निकाय भीमेश्वर नगरपालीका वडा नं. २ र भीमेश्वर नगरपालीकाले बर्षेनी बजेट विनियोजन गरी जात्रा संचालन गर्न थप सहयोग प्रदान गर्दै आईरहेको छ ।

मच्छिन्द्रनाथको पुजारी गुभाजु हुनाले बौद्धमार्गीहरुको जात्रा जस्तो भान परे पनि अधिकांस हिन्दु रहेको दोलखावासीहरुले अत्यन्त उत्साहका साथ यो चाड मनाउने गरेको पाईन्छ । मन्दिरको प्राङ्गणमा पुजारी गुभाजुले बिधिपुर्बक मच्छिन्द्रनाथको पुजा गरेपछि मन्दिर भित्र प्रबेश गराउने क्रममा मन्दिरको द्वारमा बसेर सबैले सुन्ने गरेर ठूलो स्वरमा “यो रथयात्राको प्रभाव सबै जिबजन्तु, सबै सन्सार र तत्कालीन नेपाल् नरेशको उद्धार गरि दिनुस“ भनेर पुकारेर स्लोक पढ्छ र मन्दिर भित्र प्रबेश गराउछ र जात्रा समाप्त हुन्छ । पाटनका गुभाजुले मच्छिन्द्रनाथ प्रतिस्थापन गरेकोले होला स्लोक अहिलेसम्म पनि “नेपाल भाषा” मा नै पढ्ने गरिन्छ ।


वि.सं. २०६५ देखि रथको स्वरुप नै फेरिएको छ । ललितपुर ओकुबहाल निवासी बयोबृद्ध श्री पञ्चराज शाक्यको सक्रियतामा मच्छिन्द्रनाथको ३३ इन्च अग्लो मूर्ति, धातुको गजुर, बार्दली, रथको भैरव मूर्ति, कलश, मकर मूर्ति, चन्द्र, सूर्य, पतार, किर्किपा तोरण, चाँदीको थाली आदि चढाई रथको स्वरुपलाई भव्य बनाइदिने काम भएको छ ।
यस मच्छिन्द्रनाथको रथयात्राको वारेमा दोलखामा यस्तो भनाई पनि सुन्नमा आएको छ–एक पटक रथयात्रा भईरहेको समय नजिक घरका एकजना मानिसले तीनधारा राजहिटीमा राती लुगा धोई रहेको आवाज सुनेछ । यतिबेला राती लुगा धुने को रहेछ भनि हेर्न गए र लुगा लुटेर ल्याए । लुगा धुने भूत रहेछ भन्ने थाहा भयो । किनकी लुगा सुन जडित रहेछ । भोलिपल्ट रथयात्राको बेला लुटेर ल्याएको लुगा सबैलाई देखाए । केही वर्ष त्यो लुटेर ल्याएको लुगा देखाउने चलन भयो । तर पछि लुगा हरायो ।
रथयात्राको वारेमा अर्काे एउटा घटना यस्तो छ । पहिले–पहिलो मत्स्त्यद्रनाथको रथयात्रा ठाडो उकालो हुँदै माथिल्लो टोलमा लैजाने चलन थिएन । टसिचा टोलबाट सोझै दुङ्गल टोलमा पु¥याइन्थ्यो । एक पटक माथिल्लो टोलका बासिन्दाहरुले रथ माथि ल्याउन सक्यो भनेृ सुनको माला चढाउँछौं भनेछन् । तल्लो टोलका बासिन्दाहरू पनि किन कम हुन्थ्यो । ठाडो उकालोमा रथ लैजाने कोशिस गरेछन् । माथिल्लो टोलबासीहरूले पनि उकालोमा रथ तान्न साथ दिएछन् । रथ माथिल्लो टोलको स्वयम्भू स्थानमा पु¥याई छाडेछन् । माथिल्लो टोलबासीहरुले भगवान माथि आएको खुसीयालीमा पूजा गरी सुनको माला चढाएछन् । खुसीयालीमा भोज खाए खुवाएछन् ।
जहाँ भगवानको वास हुन्छ त्यसदिन टोलमा चाडपर्व मनाई भोज खाने खुवाउने चलन अहिले पनि छँदैछ । आजकाल माथिल्लो टोलबासीहरुले सुनको मालाको सट्टा फूलको माला चढाई पूजा गर्दछन् ।

दोलखाको मच्छिन्द्रनाथ रथयात्राको छैठौ दिनलाई विशेष आकर्षक दिनको रुपमा लिने गरेको पाईन्छ । छैठौ दिन टसिचा टोलबाट करीव ६० डिग्रीको सिंढीदार उकालो बाटो हुँदै भौगोलिक जटिलतालाई चिर्दै साहसिक रुपमा रथलाई रोमाञ्चक तरिकाले माथिल्लोे टोलको स्वयम्भू स्तुपा अगाडि पु¥याइन्छ । यसैदिनलाई मध्यनजर गरी विगत एक दशकदेखिदेखि उपत्यकाबाट हजारौ हजारको संस्थामा रथजात्रा हेर्न र तान्नको लागि भक्तजनहरु ओईरी रहेको दृश्यले थप अर्को रोनक दिएको पाईन्छ । यो अर्को महत्वपूर्ण विशेषता रहेको छ । त्यसमा पनि ललितपुर ओकुबहाल निवासी शाक्य परिवारहरुको उल्लेख्य सहभागीता हालसम्म पनि कायम रहेको छ । जसको नेतृत्व जेष्ठ नागरिक पञ्चराज शाक्यको सुपुत्र विन्दुराज शाक्यले गर्दै आउनु भएको छ ।
यसै गरी सीमित मात्रामा भएका होटलहरुले मात्र हजारौ हजारको संस्थामा दोलखा आउनु हुने पाहुना महानुभावहरुलाई बासको ब्यवस्था गर्न नसक्ने हुँदा उक्त दिन दोलखाले चुनौतीको सामाना गर्नु परेका तितो यर्थात रहेको छ । यसको लागि स्थानीय नागरिक, स्थानिय सामाजिक संघसंस्थाको सहयोगमा अस्थायी बासको व्यवस्था गरिदिएको खण्डमा आगन्तुक भक्तजन पाहुनाहरुलाई बासको लागि सजिलो हुने देखिन्छ ।

भगवान प्रति गहिरो आस्था, दीनदुःखी प्रति अगाध स्नेह र ममता, समाज प्रति मानवीय सोचले भरिपूर्ण भएकी एक आदर्श नारी हुन् दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं. २ दोलखा डोक्छें टोल निवासी स्वर्गीय दिल बहादुर श्रेष्ठ र स्वर्गिय नानी कुमारी श्रेष्ठकी आयुष्मान सुपुत्री सकुना श्रेष्ठ ।
बाल्यकालमा दोलखाको घर आँगनमा हुर्केर भरखरै मात्र स्थापना भएको बालमन्दिर स्कुलबाट स्कुल जीवन शुरुआत गरेर राजकुलेश्वर प्राथमिक विद्यालयमा प्रारम्भिक चरणको पठनपाठन सकाएर माध्यमिक स्तरको पठन पाठन भीम माध्यमीक विद्यालयमा अध्ययन गर्दा गर्दै उपत्यका ललितपुर पुल्चोकस्थित मदन स्मारक हाईस्कुलबाट अध्ययन पुरा गर्नुभएको हो ।

समाज सेवामा अति नै लगाव रहेका सकुना श्रेष्ठलाई धर्म, संस्कृती र परम्परा प्रति पनि उत्तिकै आस्था र भरोसा राख्नुहुन्छ । विशेषगरी उहाँलाई दोलखामा रहेका साक्षात भगवान मच्छिन्द्रनाथ करुणामाई दोलखाली नेवारी भाषामा बुग्देउ प्रति गहिरो आस्था, सद्भाव र विश्वास रहेको छ । उनै साक्षात भगवानको कृपाले गर्दा नै वहाँले मनले चिताएको र ईच्छा गरेको हरेक कुराहरु पुरा भएको मान्नु हुन्छ । आज आँखाले देखिएका गरीब दीनदुःखिलाई सहयोग गर्न सकेको अनुभव गर्नुहुन्छ ।
पाटनको ललितपुरमा रहँदा रहँदै स्थानीय साथी र आफन्त नजिकको चिनजान, परिचित व्यक्ति केशवलाल श्रेष्ठ मलेकुसंग परिचय भयो । चिनजानको पारस्परिक सम्बन्ध वैवाहिक रुपमा परिणत भयो । त्यसपछि सकुना श्रेष्ठबाट सकुना श्रेष्ठ मलेकु हुनुभयो ।

पुल्चोकस्थित स्थानीय वासिन्दा केशव लाल मलेकुज्यूको व्यापारिक कारोबार विदेशतिर पनि हुने भएकोले उहाँले अमेरीका, जापान, अष्ट्रेलिया र हङकङ लगायत बिभिन्न देशको यात्रा गर्नु भएकोले वहाँले आन्तरीक तथा बाह्य व्यापार व्यवसायमा अनुभव बटुल्नका साथै धेरै कुरा सिक्न सफल हुनुभएको छ ।
हाल वहाँ ललितपुर स्थित सानेपा निवासमा हुनुहुन्छ, उहाँका २ छोराहरु जेठा कुसल श्रेष्ठ र कान्छा कुनाल श्रेष्ठ यस्तै गरी २ छोरी जेठी सजना श्रेष्ठ र कान्छी सजया श्रेष्ठ छन् ।
आराध्यदेव साक्षात दोलखा भीमेश्वर र मच्छिन्द्रनाथ करुणामाईको आशिर्वाद र कृपाले चारैजना छोराछोरीलाई सही र निर्दिष्ट स्थानमा पु¥याउन सकेकोमा उहाँ आफुले खुसी व्यक्त गर्दै गौरव गर्नु हुन्छ । आफु समाजसेवी र व्यवसायी हुँदा हुर्दै पनी पछिल्लो पटकमा उहाले बाल्यकालदेखि सँगै हुर्केका र खेलका संगीहरुलाई साथ लिएर समकालिन एकता समाज नेपाल नामको सामाजिक संस्था खोलेर दोलखा भित्र र बाहिर सामाजिक कार्यमा सक्रिय हुर्दै आउनु भएको छ । यसै गरी पछिल्लो चरणमा गायन क्षेत्रमा प्रवेश गरी हालसम्ममा २ वटा तिजको गित, २ वटा भजन संग्रह, १ वटा आधुनीक गित र १ वटा नारी सचेतना सम्वन्धीको गित गाउनु भएको छ ।
विश्व जगतमा जैविक प्रकोपले गर्दा भयानक भयावह स्थिति रहेको छ । यसमा कसैले कसैलाई दोष लाउने ठाउँ नै छैन । हिन्दु सनातन धर्मका अनुयायी हौं भन्ने कुरामा विश्वास गर्नु हुने आदरणीय सकुना श्रेष्ठ समाजसेवी मात्र नभएर धर्मकर्ममा विश्वास राखी आस्थाको केन्द्र मान्नु हुन्छ । हिन्दु संस्कारमा हुर्केका सन्तान हौं र हिन्दु धर्म ग्रन्थमा उल्लेखित देवदेवी सबैलाई पूज्ने तरिका भिन्न भएपनी रुप एउटै भएको बताउनु हुन्छ ।
साक्षात मच्छिन्द्रनाथको मुर्ति भेटाएको त्यो क्षण र समाजेवी सकुना श्रेष्ठको सस्मरणमा त्यो दिन सकुना श्रेष्ठ अगाडी भन्नु हुन्छ, यस्तो कुरा भनिराख्नु पर्छ पनि नत्र देवीदेवताको महिमा कसैले जान्दैनन् जस्तो लाग्छ । म त्यतिबेला सानै ८ बर्षको बच्चा थिएँ । हाम्रो घर नजिकैको करेसाबारीमा तरकारी टिप्न जाँदा एक कुनामा रातो कपडाले बेह्रिएको एउटा मूर्तिलाई देखें, यसो उठाएर हेर्दा पूजाआजा गरिएको देवताकै मूर्ति जस्तै लाग्यो, अलिक डर पनि लाग्यो, तैपनि बोकेर घरमा लगेर आमालाई देखाएँ, आमाले एक्कासी यो त बुग्द्येउ (मच्छिन्द्रनाथ) हो त हराएको थियो भन्नु भयो । मलाई अचम्म लाग्यो, देउता पनि हराउँछ र भन्ने कौतुहल लागेको थियो । तर त्यतीबेला म आठ बर्षको मात्र भएको कारणले गर्दा हरेक कुरामा राम्रो विश्लेषण गर्न सक्ने अवस्था र क्षमताको विकास भएको थिएन ।
आमाले नजिकैको भद्र भलाद्मी स्थानीय व्यक्तिहरुलाई देखाउने क्रममा करुणा माई (बुग्द्येउ) कै मूर्ति फिर्ता आएको भन्ने एकिन भईसकेपछी धुई धुई होहल्ला भयो । त्यतीखेर भन्नेहरूले अनेकौं अडकल नकाटे पनी होईन तर अहिले त्यतातिर नजाउँ र यसरी सोही साक्षात भगवानको मूर्ति नै हो भनेर प्रमाणित भएपछि सो भगवानको मुर्तिलाई पुजारी बुद्ध रत्न तुलाधर (बौद्धे बाजे) लाई बोलाएर पूनः स्थापना गरेर पूजाआजा गर्न लगाएको स्मरण मेरो मानस पटलमा त्यो क्षण, त्यो दिन अझै ताजा रहेको छ ।
यसरी मच्छिन्द्रनाथको देवता साक्षात भएको कारणले गर्दा नै आजसम्म प्राचिन शहर दोलखामा मच्छिन्द्रनाथको रथजात्रा पर्वको रुपमा मनाउन पाईरहेको बताउनु हुर्दै खुसी व्यक्त गर्नु हुन्छ । यसको संरक्षणको लागि हामी सवै लाग्नु पर्छ जसको लागि स्थानिय निकाय लगायत दोलखावासीहरुमा आग्रह र अनुरोध गर्नु हुन्छ ।
माइतीघर दोलखा शहर भित्रको साक्षात् भगवान भीमेश्वर भगवान विश्वमा रहनु सवै भक्तजनहरुले आजको दिनमा हृ्दयमा राखेर हिड्नुका साथै आफु पनी आस्था राखी विश्वास राख्नु हुन्छ । यस्तै गरी समाजसेवी श्रेष्ठले आफ्नो मन मस्तिष्कमा करुणामाई मच्छिन्द्र नाथलाई अहोरात्र पूजाआजा गर्नु हुन्छ । जुन करुणामाईको अहिलेसम्म पनी ऋणि बनेकी छु भन्ने उहाँको भनाई रहेको छ । साक्षात् देवीमाको कृपाले आज समाजमा भए रहेका दिनदुःखीहरुको सेवा गर्न सक्षम र सफल भएकोमा गर्भ गर्नु हुन्छ । धर्म र देवता कुनलाई कसरी मान्ने भन्दा पनी हामीले पुजिने तरिका फरक होला तर रुप एउटै छ । त्यही कुरामा उहाँले विश्वास गर्नु हुन्छ ।

आस्था र विश्वासका कारण नै आज आफु र आफ्नो परिवारलाई राम्रो भएकोले नै दिनदुःखीहरुको सहयोग गर्न सक्षम भएकोमा आफुले गौरव गर्नु हुन्छ । यसै गरी यसपाली यही चैत्र २३ गतेदेखि शुरु हुन गईरहेको मच्छिन्द्रनाथको रथजात्रामा सहभागी हुन सम्पूर्ण भक्तजन महानुभावहरुलाई आफु, समकालिन एकता समाज नेपाल परिवार र दोलखावासीको तर्फबाट आग्रह सहीत अनुरोध गर्नु भएको छ ।
सन्दर्भ ग्रन्थ :
धनबज्र बज्रचार्य र टेकबहादुर श्रेष्ठद्वारा लिखित दोलखाको ऐतिहासिक रुपरेखा
यज्ञकुमार प्रधानद्वारा लिखित दोलखाका साँस्कृतीक सम्पदा
कालिञ्चोक युवा क्लव दोलखाको मुखपत्र आखाँ पत्रिका
तिलिञ्चो परिवारको मुखपत्र चिमाल पत्रिका
बाँपीझ्याला लछिपती ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij