
प्राचिन शहर दोलखाको प्रचारमा विगतका पानाहरू पल्टाएर हेर्दा दोलखाको उत्पत्ति र भीमसेन देवताको स्थापना कालको बारेमा धेरै कुरा देखिए । किंवदन्ती र लोकोक्ति तामाकोसीको पानी बहेसरी बहँदै गए । निचोडमा अहिलेसम्म कोही पनि पुग्न सकेको छ जस्तो कतैबाट आएको छैन । यद्यपि दोलखाको बाटो भएर महायान मञ्जुश्रीको पदयात्रा भएको कुरालाई नकार्न सकिन्न । जसको प्रमाण दोलखाको मञ्जुश्री टाकुरालाई मान्न सकिन्छ । जहाँ तिब्बत यात्राको क्रममा दोलखाको बाटो भएर तिब्बत गएका हुन् या तिब्बतबाट फर्केर आउँदा दोलखा भएर उहिलेका नेपाल हालको काठमाडौं उपत्यकामा प्रवेश गरेका हुन् यसबारे अनुसन्धान गर्न आवश्यक नै छ ।

आखिर जे होस् उपत्यकाको काठमाडौं खाल्डोमा जमेको पानीको दहलाई चोभारको डाँडा ताछेर या काटेर पानी बाहिर निकाले पछिमात्र बस्ती बसालिएको हो भन्ने मान्यतालाई मान्ने नै हो भने मञ्जुश्री लुम्बिनीबाट मकवानपुरको बाटो हुँदै मकवानपुर गढीको डाँडाहरू पार गर्दै ललितपुरको लेले भएर धुलिखेलको हालको नमोबुद्ध परिसरबाट काभ्रेपलाञ्चोक भएर दोलखातिर प्रस्थान गरेको हो भन्ने मान्यता रहेको छ । किनकि काठमाडौं उपत्यकाको थालनी हुनुभन्दा पहिले पहिले नै बुद्धका शिलालेख, सानादेखि ठूलासम्मका चैत्य, माने, गुम्बा हिमाली पहाडी इलाकामा नै बढी पाइएको छ ।
अब इतिहासको कुरा गर्नुपर्दा प्राचीन शहर हालको नगर दोलखाको बारेमा पनि धेरै कुराको चर्चा परिचर्चा सुनेका छौँ गरेका छौँ तर दोलखा भीमसेनको स्थापना कालको यथार्थताको कुरालाई किंवदन्तीमै सिमित राखिएको पाइन्छ । हामी साक्षात भीमेश्वरको रुपको अवधारणालाई पुजेका छौँ । जो आदि अनादि देवता हुन् । सबैले आ–आफ्नै तरिकाले पुजेका छन् । जे होस् हाम्रा पुर्खाहरूले मनगढन्ते कुरा त पक्कै गरेका होइनन् । यथार्थ सत्य हो दोलखा भीमसेनमा शक्ति सामथ्र्य छ । यदि त्यो शक्ति नहुँदो हो त भीमसेन देव विराजमान भएको स्थानबाट ठिक पश्चिममा रहेको अग्लो पत्थरको खम्बा ठड्याउन मानवीय शक्तिले सम्भव नहुँदो हो ।
दोलखा भीमसेन दर्शन गर्न दिनहुँ सयौं भक्तजनहरू पुगेका हुन्छन् । मन्दिर परिसरमा पुगेर मूलढोका भन्दा अगाडिको सिंढसिंगै जुत्ता फुकाल्छन् अनि एक फनको परिक्रमा गरेर भित्र प्रवेश गर्छन् र स्वेच्छाले पुजा गर्छन् । कसैले भाकल सिद्धको कामना गर्दा हुन्, कसैलाई आराध्य देव भीमसेनको मूर्तिको प्रतिरुप हेर्ने रहर हुँदो हो । ती कामना र रहर पूर्ण गरेर फर्कन्छन् तर त्यहाँ पुग्ने दर्शनार्थी र भक्तजनहरूमा त्यो खम्बालाई एक दृष्टि दिने मन हुँदैन किन ? यसमा दोषी को त ?

पूजारीको काम पुजा गर्नेको हात हत्केला र थालीमा दृष्टि दिँदैमा भ्याइ नभ्याइ, व्यवस्थापन पक्षलाई दर्शनार्थी कम बढीको आंकलन गर्दै बेफुर्सदी अनि त्यो खम्बाको बारेमा चासो दिने कसले ?
इतिहास लेखन निर्माता स्वर्गीय धनबज्र बज्राचार्य र टेक बहादुर श्रेष्ठको हातबाट अनेकौं खोजतलास गरेर तैयार गरिएको ‘दोलखाको ऐतिहासिक रुपरेखा’ नामक दोलखाको ऐतिहासिक पुस्तकमा भीमेश्वर मन्दिर परिसरमा भएको घण्टा, छप्पर, नन्दी, चुलकाप्सि, तोरण, पर्खाल आदिको बारेमा कसले चढाएको कसले निर्माण गरेको भनेर इतिवृतान्त लेखिएको देखियो तर उक्त सिङ्गो एउटै पत्थरबाट निर्मित अन्दाजी ३८–४० फिट उचाइ र साँढे दुई वर्ग फिटको चौडाइ भएको उक्त स्तम्भको महिमाको बारेमा लेखिएको पाईन्दैन ।
यो पत्थरको खम्बा (स्तम्भ) जमिन माथि जति उचाइ देखिएको छ, त्यति नै तल गहिराइमा गाडेर ठड्याइएको कुरा पुराना पुर्खाहरूले बताएका थिए ।आफैयो पत्थरको खम्बा आफैमा अपत्यारिलो छ । किनकि यो स्तम्भ ठड्याउन कतै एक टुक्रा च्वईटा पनि जोडिएको छैन अर्थात गाँसेर बनाएको स्तम्भ होइन । सिधै माथि टुप्पोमा मात्र सुनौलो सिैहको प्रतिमा जडान गर्ने ठाउँमा मात्र हल्का छिद्र बनाइएको छ ।
सायद, एउटै ढुंगाबाट बनाइएको र यसरी ठड्याइएको स्तम्भ यसो बिचार गर्दा एसियामै एकमात्र जस्तो लाग्छ । बन्न त विशाल विशाल भवन र टावरहरू १०१ तल्ला सम्मको बनाएको हामीले देखि जानेका छौँ तर ती टावरहरूको बनावट अन्य पर्खाल टेवाको आडमा बनाइएका हुन् । जस्तो कि पूर्वी चीनको झेजियाङ प्रान्तमा बनेको विद्युतीय खम्बा जुन विश्वकै सबैभन्दा अग्लो निर्माण भैरहेको छ जसको उचाइ ३८० मिटर छ ।

त्यस्तै लण्डनको विग वेन भयो । सन् २०११ मा आतंककारीहरूले ध्वस्त बनाइएको न्यूयोर्कको ट्वीन टावर जुन ११० तलाको थियो । त्यस्तै फ्रान्सको राजधानी पेरिसमा भएको आइफेल टावर अनि साउदी अरबमा रहेको टावर । यी टावरहरूको प्रसङ्ग किन निकालेको भने यी सबै व्यापारी प्रयोजनको हिसाबले एक देशले अर्को देशसंग शक्ति र दिमागको प्रतिस्पर्धाका लागि निर्माण गरिएको भनेर बुझिन्छ । जुन टावरहरू कुनै व्यापारी प्रयोजनका लागि बनाइएका हुन् भने कुनै प्रविधि विकास प्रयोजनका लागि बनाईएका हो । हुन् त कुनै देशको पहिचानका लागि प्रतीक स्वरुप निर्माण गरिएका पनी छन् ।
ती सबै टावरहरूको आ–आफ्नै तरिकाले विश्लेषण गरेर लोकप्रिय बनाइएका छन् । तर त्यो जमानामा जब कि त्यतिबेला कुनै प्रविधिको विकास भएको थिएन, केवल मानवीय श्रोत र शक्तिले हाते औजार प्रयोग गरेर कलात्मक बुट्टा कुँदेर चारैतिरको सतह बराबर गरेर अन्दाजी ७६–८० फिट लामो पत्थर (जमिनमा गाडिएको भाग समेत गरेर) लाई डोरी, बाँस, काठ र खटको भरमा डेढ किलोमिटर टाढा सिंहबनबाट मन्दिरसम्म कसरी पुर्याइए होलान् त ? आफ्नो पहिचान र प्रख्यातीका लागि भक्तहरूको इच्छा र चाहनालाई परिपूर्ति गर्न साक्षात भीमसेनले नै शक्ति र सामथ्र्य जुटाइदिएको हुनुपर्छ ।
पौराणिक कथनमा सो खम्बा र भीमेश्वर मन्दिरको मूल प्रवेशद्वारमा राखिएका विशाल सिंहका मूर्तिहरू त्यही जङ्गलबाट ल्याइएको हो भनिन्छ । जुन जङ्गल दोलखा शहरबाट पश्चिमी भागमा अद्यावधि छँदैछ । त्यहाँको पत्थरबाट बनाइएको सिंहकै प्रतिस्वरुप जङ्गलको नाम नै सिंहबन राखिएको हो भनिन्छ । यसमा पनि केही महत्व झल्केको पाईन्छ । त्यो जङ्गलमा त्यति अग्लो उचाइका लागि उपयुक्त कडा चट्टानरुपी पत्थरको खोजी गरेर छानेर बनाउनमा कति समय लाग्यो होला, कति कर्मिहरू खटिए होलान्, कति घाइते भए होलान् यी आदि ईत्यादि कुराहरूलाई कसले आंकलन गर्ने त ?


काठमाण्डौंको भीमसेन स्तम्भ (धरहरा) को चर्चा परिचर्चा गर्ने स्थानीय विद्वानहरूले भीमसेन थापाको नामोच्चारण गर्दै त्यो धरहरा मास, गहत, सिस्नु, सल्लाको खोटो, मलागिरीको रुखको बोक्रा, केतुके, चिराइतोको जरा, ठूलो निगालो, बेतलौरी आदि अन्न तथा बनस्पति तत्वहरूलाई समिश्रण गरेर घोलेर पिठो मुछेको जस्तै मलिन गरेर बनाएर अहिलेको सिमेन्टीको काम गर्ने गर्दथे भनेर बखान गर्नेहरूले बिना मिसावट विशुद्ध ढुंगा कडा चट्टानद्वारा बनाइएको दोलाखा भीमसेनको स्तम्भ (पत्थर खम्बा) बारे किन बोल्न नसकेका हुन् त ? यक्ष प्रश्न यही छ ।
आफुलाई स्थानीय संस्कृतिविद्, भाषाविद् साँस्कृतिक सम्पदाको संरक्षक कहलाएर अनेक विभागतिर धाउँदै आफ्नो नाम मूखपृष्ठमा देखाउनका लागि जति हतारो मानिरहेका छन्, त्यत्ति नै चासो यो खम्बाको चर्चा परिचर्चा गरेर लोकप्रिय बनाउन सकेको खण्डमा दोलखाको नाम इतिहासमा स्वर्ण अक्षरले मात्र होइन हिराको झिल्काले लेखिन्थ्यो होला ।
भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिले समितिको मूल उद्देश्यलाई कार्यान्वयन गरेर विभिन्न कार्यक्रम र चाडपर्वलाई मध्यनजर राखेर आफ्नो भूमिका निर्वाह गरिरहेकोमा हार्दिक आभार सहीत धन्यवाद दिनु पर्छ ।
यसका साथै दोलखा भीमसेन स्थान परिसरमा रहेका विभिन्न देव देवताका विराजस्थल त्यससंग सम्बन्धित वाहन घण्टा, त्रिशुल, खम्बा तथा सिंहका प्रतीकहरूबारे दर्शनार्थीहरूलाई परिभाषित गर्नेतिर पनि ध्यान दिन जरुरी छ जस्तो रहेको देखिन्छ ।

अबका दिनमा सो समिति लगायतका गुठियारहरू र स्थानीय वासीन्लाहरुले आ–आफ्नो स्थानबाट दोलखा भीमसेन देवताको मात्र वर्णन नगरेर वाराणसी, त्रिपुरासुन्दरी भगवती, बालकुमारी भैरव, गणेश मन्दिर लगायत दोलखाको सबै धार्मिक स्थलहरूमा भक्तजन तथा दर्शनार्थीहरूको मनलाई डो¥याउन पहल गरोस् भन्ने कामनाका साथ अहिलेलाई यो पंक्तिलाई बिट मार्ने अनुमति चाहन्छौं ।
जय दोलखा भीमसेन ! जय द्वाल्खामि !
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij