हरेक वर्षको मार्ग शुक्ल पूर्णिमाको दिनलाई विभिन्न जातीय समुदायले आ–आफ्नै तरिकाले परिभाषा दिएको पाइन्छ । जस्तो कि उपत्यकाको नेवारी समुदायमा यस दिनलाई ‘थिंला पुन्हि’ वा ‘यःमरी पुन्हि’ भन्ने गरिन्छ भने दोलखा जिल्लाको अति नै प्राचीन नगर अभयपुर दोलखामा भने यो दिनलाई ‘द्यउचा मारी पुन्हिस (ठिला पुन्हिस्)’ भनेर नामांकरण गरिएको छ । त्यस्तै किराँत वंशका अनुवंश राई, लिम्बुहरूले ‘उधौंली पर्व’ को नामले मानिन्छ ।
नेपालको पूर्वी भाग तराइदेखि पहाडसम्म छरिएर रहेका किराँत वंशका समुदायका राईहरूले यो पर्वलाई साकेला, सान्केवा भन्दछन् भने याख्खाहरूले चासुवा र सुनुवारहरूले फोलस्याँदर भन्दछन् । त्यस्तै लिम्बु जातिले चासोक तङ्नाम भन्दछन् । किराँत वंशका समुदायमा यो चाडलाई प्राकृतिक र भौगोलिक रुपमा वातावरण अनुकूलित मनाइएको देखिन्छ । यही चाड नै किराँत समुदायको प्रमुख पर्व हो ।
किराँतहरूले वर्षको दुइपटक यस्तै खालका चाड मनाउने गर्छन् । बैशाखमा उभौंली र मंसिरमा उधौंली पर्व । बैशाख महिना पछाडि धर्ती गर्मिदै जान्छ र तराइ मधेसमा बस्ने बासिन्दाहरू लेकतिर अर्थात् उभोँ लाग्ने चलन छ । यो बेलाको मौसम वर्षातको सेरोफेरो भएकोले खेतीपाती पनि पहाड तिर नै गरिन्छ, यतिबेलादेखि धान, मकै, कोदो बालीको शुरुआत हुन्छ र जीवन जिउने प्रवृत्ति पनि माथि उकास्ने हिसाबले खुशीका साथ कर्म गर्ने उद्देश्यले सबै मिलेर मनोरञ्जन र खुशी साटासाटा गर्ने गर्छन् र यहीबेला उभौंली पर्वको रुपमा मान्ने गर्छन् किराँती वंशका समुदायहरू ।

त्यसैगरि यो मंसिरमा मनाउने उधौंली पर्व किराँतहरूले नयाँ अन्न भित्र्याएको खुशियालीमा मनाउने गर्छन् । आपूmले मेहनत गरेर फलाएको अन्न लगायत सबै बाली फस्टाएर जीविकोपार्जन गर्न सहयोग दिएको अर्थमा धर्ती मातालाई स्मरण गरेर मनाइने यो उधौंली पर्वको बेलामा सबै आफन्तजन भेला भएर चेलीबेटीलाई आशिर्वाद प्रदान गर्ने आत्मीय चाडको रुपमा पनि लिइन्छ ।

किराँत वंशका समुदाय भित्र धर्ती मातालाई प्रमुख देवताको रुपमा मनाइने प्रचलन छ । यही धर्तीमातालाई नै इष्ट देवताको रुपमा मानेर आपूmले लगाएको अन्नबालीबाट उब्जनी भएको नयाँ अन्नलाई चढाएर मात्र आपूmले खान शुरु गर्ने चलन रहेको छ । त्यही भएर नै काठमाण्डौ उपत्यकामा आएर बसेका किराँत समुदायले ललितपुरको सानो हात्तीवनमा रहेको किराँतहरूको धार्मिक स्थलमा यो दिन उनीहरू आ–आफ्ना भेषभुषा र बाजागाजामा भेला भएर धुमधामका साथ पूजाआजा गरेर नाचगान गर्ने गर्दछन् ।
उपत्यकामा यःमरि पुन्हि या थिंला पुन्हि !
अब काठमाडौं उपत्यकामा नेपाल भाषा (नेवार) बोल्नेहरूले मनाउने गरेको थिंला पुन्हि अथवा यःमरिको चर्चा गर्नुपर्दा यसलाई नेवार समुदायले अत्यन्तै विशेष महत्वका साथ मनाउने गरेको देखिन्छ । नेवार जातिमा खाद्यको परिकार बनाउनेमा अन्य जातिको सामथ्र्य हुन्न होला, हुनसक्छ ती परिकारलाई आधुनिक तर्फ परिमार्जन गरेर नयाँ नामांकरण गरेर बनाउँदा हुन् त्यो आफ्नै ठाउँमा छ । तर नेपालमा रहेका जनजातिको पहिलो दर्जामा रहेको नेवार जातिले मासुको परिकार मात्र ८४ थरिका बनाउन जानेका हुन्छन् जसको सबैको नाम उपलब्ध गराउन हरेक नेवार समुदायको टोलटोलमा पुग्नुपर्ने हुन्छ । सामान्यतः नेवार समुदायको भोजमा प्रचलित परिकारमा छ्वेला (पकाएको मासु) दायेक्युला (उमालेर पकाएको मासु), तखाला (थलथले बेसरी पकाएर जमाएको मासु), ही कलेयेगु (रगत भुटेको ) त्यस्तै कच्यूला, झँला, च्व्ाँला, भुटन्, सन्याखोँ, न्हिपु आदि ईत्यािद हुन् ।

त्यसैगरि नेवार जातिमा रोटीको कुरा गर्नुपर्दा चटामरी, ग्वारामरि, ओ (बारा), लखामरि, स्वाँमरि, चाकलामरि, यःमरि, छ्रवमरि अािद परिकारका रोटी मध्यमा यो पर्वमा चलाइने रोटीलाई यःमरि भनिन्छ । ये यःमरिको महत्व अलग्गै छ । यसलाई बनाएर खानको लागि मात्र स्वादिष्ट हुने होइन कि यो यःमरि भनिने रोटीले धार्मिक, सामाजिक र प्राकृतिक मान्यता पनि दिइएको पाइन्छ ।
यो यःमरिको अर्थ नेवारी भाषामा ‘यगु’ को अर्थ मनपरेको ‘मरि’ को अर्थ रोटी हो । यसलाई संक्षेपमा ‘यःमरि’ भन्ने चलन निकालिएको हो । उपत्यकाको नेवारहरूले अक्षरहरू घटाएर बोल्ने चलन किन गरेका हुन् यो कुरा सोचनीय छ । अन्य रोटी भन्दा यो रोटीको बनावट फरक हुन्छ, यसलाई बनाउन मेहनत पनि अरु रोटीको तुलनामा बढी नै पर्न आउँछ । यसलाई बनाउनको लागि चामलको पिठो, चाकु, तिल, कतै कतै खुवा, लट्टे, सख्खर पनि मिसाएर बनाइन्छ ।
यसको बनोट मुछिएको चामलको पिठाकोे सानो सानो डल्लोलाई अगाडितिर चुच्चो पारेर शिखर शैलीको घर जस्तै बनाइन्छ, आकारको हिसाबले फेदमा केही ठूलो गोलाकार हुन्छ र त्यसपछि क्रमशः सानो गर्दै अन्तिममा चुच्चो निकालिन्छ , अनि फेदको भागमा औंलाको सहायताले थिच्दै घुमाउँदै खालि ठाउँ बनाइन्छ र त्यसै भित्र इच्छा अनुसारको माथि उल्लेखित सामग्री हालिन्छ र फेरि घुमाउदै सानो बनाउदै बन्द गरिन्छ । यसरी यःमरिको अग्रभाग चुच्चो भएकै कारणले नेपाली भाषाबाट चुच्चे रोटी भनिएको हो । तर अहिले अधिकांशले जानेर नजानेर या जिस्काएकै पाराले योमरी भन्ने गर्दछन् ।
यो यःमरि पुन्हिको दिनमा बिहानै नेवारी समुदायकै एक थरिले नेवारी भाषामै गीतको तालमा या त्यत्तिकै पनि भट्याएर माग्न आउने चलन छ, जस्तो कि ः
त्यःछिं त्यः बकछिं त्यः
लातावाता कुलिचां जुछिं त्यः
यःमरि च्वामु उकी दुने हाकु
ब्यूम्ह ल्यासे मब्यूम्ह तितिकुति बुढी ।
यसको अर्थ हो दान दिनेले कुरुवा जत्रोसुकै होस् आधा चौथाइ, चौथाइ आधा माना या एकमाना अट्ने कुरुवाले दान दिने नै भए पुरा भरेर दिनु जस्तो कि यःमरि देखिंदा जसरी टुप्पो बनाएर चुच्चो बनाएको हुन्छ त्यसैगरी चामल, धान, चिउरा जस्तो अन्न या खाद्यान्न दिंदा झुसे होस् निम्ठो नहोस् । साथै दान दिने महिला जहिले नि तरुनी नै होस् नितीकुटी गर्ने कचकचे बुढी मान्छे नहोस् भन्न खोजिएको छ ।
नेवारी परम्परामा जुनसुकै कार्य भएपनि दान दिने चलन छ । चाहे बुहारी भित्र््याएको बेलामा होस या बुहारी गर्भवती भएकै बेलामा होस्, अनि सन्तान प्राप्ति देखि मरेको वर्षौं सम्म पनि कहिले खुशीमा, कहिले दुःखमा दान दिने प्रचलन अद्यवधि छँदैछ । दानको हिसाबले पण्डित, जोगी (सन्यासी), मगन्ते मात्र नभएर भान्जा भान्जी भदा भदैनीलाई समेत उपहारको रुपमा दान दिने चलन रहेको छ ।
यो यःमरिको आकारको हिसाबले बौद्धमार्गी नेवारहरू यःमरिलाई बौद्धको प्रतीकको रुपमा पनि मान्ने गरेको देखिन्छ । अर्को कुरा यो यःमरि पुन्हिलाई नेवार भाषामा थिंला पुनिह पनि भन्ने गरिन्छ । यसको परिभाषा दिनुपर्दा नेवारी भाषामा ‘थि’ को अर्थ छुनु वा छोएको हुन्छ र ‘ला’को अर्थ महिना । अब छोएको महिना भनेर के भन्न खोजेको होला भन्ने प्रश्न उठ्नु अस्वभाविक होइन ।
तर आजको दिनदेखि भौगोलिक हिसाबले ठण्डीले छुन लागेको मौसम भएको कारणले थिंला भनिएको हो भन्ने नेवारी भाषाविद्को भनाइ रहेको छ । जस्तो कि ‘ख्वाँगु न थिल,’ भनेको चिसोले छोयो भन्न खोजिएको हो । अति नै धेरै मात्राको प्रवेशमा यो ‘थि’ वा ‘ठि’को प्रयोग हुन्छ । दोलखाको नेवार भाषामा चाहिँ ‘ठि’को प्रयोग हुन्छ ।
अब दोलखामा मनाइने ‘द्यउचा मारी पुन्हिस् (ठिला पुन्हिस्) !
नेवारहरूको प्राचीन बस्ती शहर दोलखामा आजको पूर्णिमालाई ‘द्यउचा मारि पुन्हिस्’को रुपमा मानिए तापनि विशेष महत्व चाहिँ ‘ठिला पुन्हिस’ कै नामोच्चारण बढी नै गरिन्छ । यसमा पनि ‘ठि’को अर्थ अत्याधिक ठण्डी वा प्रचण्ड गर्मीले स्पर्श गरेको महशुस भएको अवस्थामा ‘ठिर’ शब्द प्रयोग भएको हो । जस्तो कि ‘चिकौला ठिर’ भन्नुको अर्थ जाडो महिनाले छोयो र ‘ताप्ला ठिर’को अर्थ गर्मी महिनाले छोयो भन्ने जताउँछ । नेपाल सम्वत्को महिनाको हिसाब गर्दा औँसीको भोलिपल्ट परेवादेखि कुनै महिनाको पहिलो दिनको शुरुवात हुन्छ र पूर्णिमा दिनसम्म आधा महिना सकिन्छ । त्यही हिसाबले यो पूर्णिमादेखि पूर्णतया जाडो दिनको गिन्ती शुरु हुन्छ ।
अब दोलखामा यो पूर्णिमा अर्थात् द्यउचामारि पुनिहस कसरी मनाइन्छ त भन्दा मार्ग शुक्ल चतुर्दशीको दिनको बेलुकीपख सबैको घरघरमा द्यउचामारि (चुच्चे रोटी) बनाइन्छ । दोलखामा यो चुचेरोटी बनाउने तरिका र काठमाडौंमा बनाउने तरिका र आकार एउटै भएपनि दोलखामा आफ्नो सीप अनुसार देवी देवता जस्तै, कुबेर, गणेश, कुमार, भगवती, लक्ष्मी, सरस्वती, शिव र पार्वतीका मूर्तिहरू मुछिएको चामलको पिठोबाट नै बनाउने गरिन्छ ।

अनि मात्र चुच्चे रोटी बनाउन थालिन्छ । यो बेला बनाइएको चुच्चेरोटी (देवताका मूर्तिहरू बाहेक) पूर्णिमाको दिन बिहान अनेक परिकारका तरकारी बनाएर कूल देवताहरूकहाँ लगेर चढाउन दिइन्छ, यसरी लाने कार्यलाई स्थानीय भाषामा ‘थापन येङ’ भनिन्छ ।
यो थापन भन्नाले सालको पातको टपरीमा चिउरा, लसुन, भटमास साँधेको, आलु तारेको, अनि रीत अनुसारको रोटी, सानो घैलामा रक्सी राखेर देवदेवीको मन्दिरको अवस्था र स्थान सुहाउँदो मासु पोलेर मोलेको राखेर चढाउन लगिन्छ । जस्तो कि दोलखाका गणेश मन्दिर, भीमसेन मन्दिर, आगममा रहेको कूल देव थान, हरसिद्धि भवानी, त्रिपुरा सुन्दरी माताको मन्दिरमा ‘थापन’ चढाउन लाने प्रचलन छ ।
करीब १२–१४ वर्ष अगाडिसम्म दोलखामा पनि काठमाडौ उपत्यकामा जस्तै यो यःमरि याने कि द्यउचामारि पूर्णिमाको दिन बिहानै देखि नेवार समुदायकै एक थरि कुसुले थरका मान्छेहरूको एक एक समूहमा एकजना जोगी (शिवस्वरुप) भएर दौडा र जामा लगाएर टाउकोमा तुना भएको काने टोपी लाएर डमरु बजाउँदै अगाडि लाग्दै अन्य चाहिँ पछिपछि खाँडी खद्दरको ओढ्ने ओडेर घरघरमा माग्न आउँथे । यसरी माग्न आउने क्रममा.. “जाकी फोन्द यये बजै.. द्यउचामारीङ् बिसिन्ना” (भिक्षा– चामल माग्न आएको बज्यु, चुच्चेरोटी पनि दिनु है..”) भन्दै आउँथे ।
ती चलन लोकतन्त्र पछि विलोप भए । यसो हेर्दा लोक तन्त्र र गणतन्त्रको आगमन पश्चात् धेरै थरिका मान्छेहरू शिक्षित र ज्ञाता बन्न थालेछ क्यारे, त्यही भएर रीतिरिवाजलाई थान्को लगाएर आधुनिकतिर प्रविष्ट भए झैं लाग्छ । यसरी माग्न आउँदा घरमूलीले क्षमाता अनुसारको रोटी चामल दिएर पठाउने गर्दथे ।
त्यसरी जोगी बनेर आउने पात्रलाई ‘कानापुटु’ भन्ने गरिन्थ्यो । यसको अर्थ त्यो जोगीले लाएको टोपीको दुइतिर कान छोप्ने गरि बनाएको फेरोमा दुबैतिर तुना बाँधिएको हुन्थ्यो । दोलखा नेवार भाषामा तुनालाई ‘पुटु’ भनिन्छ । कान छोप्नको लागि बाँध्न प्रयोग गरिएको वस्त्र भएको कारणले जोगी भेषधारी व्यक्तििलाई नै ‘कानापुटु’ भनिएको हुनसक्छ ।
त्यसपछि साँझ परेपछि सबैले आ–आफ्नो घरको धान राख्ने ठाउँ कुठी, भकारी जेमा धान राख्ने गरिन्छ, त्यस ठाउँमा त्यही चामलको पिठोबाट बनाइएको लक्ष्मी, गणेश, कुवेर देवी देवतालाई स्थापना गरेर पूजा गर्ने चलन छ । यसबेला कुठी भकारीमा पूजा गर्न भनेर अलिक फरक खालको ठूलो चुच्चे रोटी बनायएको हुन्छ । जसलाई क्वटुक मारि भन्ने गरिन्थ्यो । त्यो दिन पूजा गरेको सो यःमरि भनौं या द्यउचा मारि चार दिनको दिन समापनको हिसाबले निकालेर प्रसादको रुपमा बाँडेर खाने चलन छ । अझ कसैकसैले त सो रोटी महिनौं दिनसम्म पनि त्यही धान भित्र नै राखि रहन्छ र पछि निकालेर खाने पनि गरेको पाइन्थ्यो ।
यसबेला प्रायशः ठाउँमा धान भित्र्याइसकेको समय भएको कारणले गर्दा कतै कतैका किसान र जग्गा धनीले धान प्रदान गरिदिने जमीनलाई अन्नदाता देवी मानेर पूजा गर्ने भएकोले आजको दिनलाई धान्य पूर्णिमाको रुपमा पनि मान्यता दिइएको पाइन्छ ।
आजको दिनलाई जे जस्तो चाडको रुपमा मनाइए पनि दोलखाको हिसाबले द्यउचामारि ठिला पुनिस दिवसको शुभकामना
लेख संयोजन : बालकृष्ण श्रेष्ठ “पासा”
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij