दोलखामा भैरहेको बडादसैंको महा अष्टमी अर्थात् दोलखा शहरमा मानिने नखत पर्व तर्फ केही चर्चा गरौं । दोलखाको मौलिकतामा दसैंको पाँच दिनलाई आफ्नै तरिकाले परिभाषित गरेको पाइन्छ । जस्तो कि घटस्थापनाको दिनलाई ‘स्वनतये न्हि, यसको अर्थ हो जमरा छर्ने दिन हो । जमरालाई दोलखाली भाषामा ‘नउरात भन्ने गरिन्छ । पूmलपातीको दिनलाई ‘मेस् स्याङ न्हि भन्ने गरिन्छ जसको तात्पर्य हो राँगो काट्ने दिन । त्यसैगरी महाअष्टमीको दिनलाई ‘नखत भनिन्छ । वडा दसैंमा दोलखामा यो दिनलाई विशेष खालले मनाउने गरिन्छ । यो दिन रातको तेस्रो प्रहरमा नै पुरुष वर्गहरू दोलखाको ऐतिहासिक धारा राइती (प्राचीन नाम राजहिटी) मा जम्मा हुन्छन् ।

यो दिन व्रतबन्ध नगरिएको कुमार केटालाई पनि लगिन्छ । सो कुमार केटोलाई विशेक्ष् सृङ्गार गरेर टाउकोमा फेटा (पगडी) बाँधेर सो धारामा लगिन्छ र पण्डितले मन्त्र पढेर विधि पूर्वक दुइटै हातमा तामाको करुवा या अंखोरामा चोखो पानी (निलोखु) थाप्न लगाएर स्थानीय मौलिक बाजागाजा सहित लाने प्रचलन छ । यसबेला कुनैपनि चराचुरुंगी विशेष गरेर काग उडेर नाघ्न नहुने परम्परा छ । सो कन्ये (कुमार) केटाले पानीको घडा थापि सकेपछि मात्र अन्य पूजारी र सर्वसाधारणले चोखोपानी थापिने चलन अद्यपि रहिआएको छ ।
अब यो दिन यो अबोध बालक कुमार केटालाई त्यो चोखोपानी थाप्न लगाउनुको मूल रहस्य के हो त ? यसबारेमा शायद अहिलेसम्म दोलखाका कुनै गुठियार पण्डितले पनि यो कुरा खुलस्त पारेर भनेको बताइएको थाहा थिएन, शायद थाहा हुनेहरूले नबताएको पो हो कि ! यो पालि यसकुरालाई निकै समय लगाएर धेरै व्यक्तिसंग सोधपुछ गर्दै जाने क्रममा भीनपा– २ का नक्छेँमि तर गुर्कोट टोल र कोर्छेँ टोलको सिमानामा बस्नुुहुने स्वर्गीय अमृत बहादुर श्रेष्ठ (नवराज प्रधान, परशुराम प्रधानका पिता)को पारिवारिक श्रेतबाट के बुझिन आयो भने यस बारेको लोकोक्ति यस प्रकारको छ ।
संदियौं पहिले जब महिषासुर दैत्यराजलाई नाश गर्नको लागि स्वर्गका राजा इन्द्र र देवलोकका देवता लगायत मत्र्यलोकका ऋषिमुनि सहितको मानवजनलाई रक्षा गर्ने वचन दिइसकेको अवस्थामा दुर्गारुपी माता त्रिपुरा सुन्दरीले युुद्धको तैयारी गर्ने क्रममा हात हतियार चलाउन अभ्यास गर्दै गरेकी थिइन्, मन्दिरकै कोत भण्डारमा अभ्यास गरिरहँदा तरवार जुधेको आवाज जब बालसुलभ राजकुमारले सो कुरा थाहा पायो र माताले के गर्न लाग्नुभएछ भनेर सुस्तरी चाल मारेर हेर्न जाँदाखेरि आफ्नी आमाले भैरवरुपी डरलाग्दो आकृतिसंग खड्ग, तरवार, त्रिशुल, नागपास जस्तो हतियार चलाउन सिकिरहेको देखेर बालक बटुकले आमाले बिसाएको खड्ग सुुटुक्क लिएर आमाले जसो जसो सिक्दै थिइन् त्यसै त्यसै चलाउँदै गर्दाखेरि सो कृयाकलाप भैरवले देखेछ ।
अनि भैरवले देवीलाई ईशारा गर्दै भनेछ कि आमाले भन्दा पनि छोरोले कलाको अभ्यास राम्रोसंग गरेको प्रशंसा गर्दै यो युद्धमा भगवती अघिअघि मृदङ्गको तालमा नाच्दे जाने र पछि पछि सेनापति र मूल खड्गधारीसंग दैत्यका सेनालाई खोज्दै संहार गर्ने काम छोरा वटुकले गर्नेछ भन्ने कुरा भैरवले सनाउँदा देवीले वटुुक त सानै भएको उसमा त्यस्तो क्षमता नभएको र महिषासुरको अन्त्य नारी जातिबाट हुने भन्ने ब्रम्हाजीको आज्ञा अनुसार यो बालकलाई त्यो युद्धमा सामेल नगर्ने कुरा बताइन् । तर भैरवले तिनको कुरालाई मनन गरेर देवीलाई सम्झाएर महिषासुरको अन्त्य देवीबाटै हुुने हो तर युद्धमा जाँदा अनेक शस्त्रअस्त्र मात्र भएर पुग्दैन, धेरै तरिकाले बुद्धि पनि लगाउनु पर्ने हुँदा ती दैत्यका सेनाहरूलाई खेलाउँदै खेलाउँदै शहरको पश्चिम भागमा रहेको एउटा दोबाटोमा पुर्याएर त्यहाँ उनीहरूलाई अल्मल्याउने काम वटुकले गर्नेछ र पछि देवी त्यहाँ पुगेर ती असुरराजको अन्त्य गर्ने भन्ने सल्लाह दिएपछि भैरव स्वयंले वटुकलाई शस्त्रअस्त्र चलाउन सिकाउछु भनेर संगै लिएर गएछ ।
भैरवको धेरै कुरा सुनिसकेपछि वटुक आपूm बालक होइन कि एकदमै तन्दुरुस्त नौजवान जस्तो ठानेर यो नौरात्री भरमा युद्धको लागि सक्षम भएर तैयारी हुने आँट निकाल्दै शहरको हरेक गौंडा गौंडालाई राम्ररी अवलोकन गर्दै खाली एउटै खड्गको भरमा सबैको संहार गर्ने प्रतिबद्ध गर्दै भैरवले जहाँ जहाँ लगेर हतियार चलाउने उपाय सिकायो त्यहीं पुगेर सम्पूर्ण कला जानिसकेपछि त्यही ठाउँ जहाँ अन्तिम पटक महिषासुरलाई बध गरिएको ठाउँ भनिन्छ, त्यहाँ असुर गणलाई प्रहार गर्ने अन्तिम तरिका सिकाउने बेलामा वटुकले चलाउने गरेको खड्ग अकश्मात् तीन टुक्रा भएर जमीनमा दुई टुक्रा र हातमा एक टुुक्रा हातमै रहन पुगेछ । त्यो देखेर भैरवदेव पनि एकपटक झस्किन पुग्यो र अब देवीलाई के जवाफ दिने सोचमा पुगेछ । बटुकलाई पनि चिन्ता नलागेको त कहाँ हो र तैपनि भर्खरैको ताजा जवान उमेर हुन लागेको झोंकमा आमाले अर्को दिइ हाल्छिन् भन्ने सोचेर त्यो एक टुक्रा पनि त्यहीँ छोडेर भैरवलाई फर्किन आग्रह गरेछ । तैपनि भैरवले मनमनै यसका लागि कुनै न कुनै उपाय निकाल्ने मनशाय राखेर बटुकलाई आमाकहाँ पुर्याएर भैरवले देवीलाई छोरा हरेक कलामा निपुण भैसकेकोले कुनै चिन्ता नलिनु भनेर आफ्नो बाटो लागेछ ।

भैरवले बटुक सम्पूर्ण विद्या सिकाएर निपुण बनाएकै कारणले नै उनको नाम बटुक भैरव रहेको भन्ने प्रसङ्ग यहाँ देखिन्छ । यता देवी त्रिपुरासुन्दरीले छोरो बटुक भैरव बनेर आफ्नो युद्धमा साथ दिनका लागि तैयार भएको प्रसन्न भएर सुत्न थालिछ । तर राती सपनामा दोलखा शहरको पश्चिममा रहेको बहालमा (हाल बाहार भनिन्छ त्यो ठाउँलाई) रहेको रानीको कुलदेवीले देवी त्रिपुरासुन्दरीलाई माताकालीले युद्धका लागि दिइएको खड्ग छोराले अभ्यास गर्दा भाँचियो भनेर म हिँड्ने बाटोमा अलपत्र छाडेर गएको रहेछ, त्यो खड्ग एकदमै शक्तिशाली हो, त्यसलाई त्यत्तिकै छाड्न हुन्न, अब छोरालाई नै विश्वासी पूजारीलाई साथ लगाएर अष्टमीको तेस्रो प्रहरमा कुनै चराचुरुंगी नब्यँुझेको बेलामा स्नान गरेर हामीले स्नान गर्ने राजहिटीमा शुद्ध जल लिन पठाउनु र यो खड्ग लगेर तीनै टुक्रा उम्रेको जमरा संगै राखेर सो पानी छर्कन लाउनु अनि दशमीको दिनमा यो खड्ग जस्ताको तस्तै हुनेछ भन्ने सपना देखेपछि देवी त्रिपुरासुन्दरीले सो कुरा छोरालाई यथार्थ बताए सोही राजहिटी (राइती) धारामा चोखो पानी ल्याउन लगाइ बाहार टोलको कुलदेवी समक्ष गएर क्षमा माग्दै सो खड्ग उनकै आज्ञा अनुसार देवीकोट मन्दिरमै स्थापना गरिएको हो भनिन्छ । यसैबेलादेखि नै अष्टमीको दिनमा व्रतबन्ध नगरिएको कुमारकेटाले चोखो पानी थापेर लग्ने चलन भएको र जुन अद्यपि चलिरहेको छ ।
यही रीतलाई डोकुलुङाका गुठियार जोशी खलकबाट सुरेन्द्रमान जोशी (भक्ति) ले ९ वर्षसम्म सो चोखोपानीे (निलोखु) थापेर लाने गरेको र पछि २०२१ सालमा उनको व्रतबन्ध गरेकोले त्यसपछि माथिल्लो टोलको डोक्छँेबाट भुवनलाल श्रेष्ठले सो अभिभारा लिएको हो । यसरी कन्ये कुमार केटाले चोखो पानी थाप्नुको रहस्य खुल्न आएको छ ।
दोलखाको संस्कृति र परम्परालाई हामीले यो शताब्दीमा आएर अभैm केही कुरा खोतल्न पाएका छैनँै ंकि जस्तो लाग्छ, कतै हामीले पथ भूलेर गलत मार्गमा त हिँडेका छैनौं ? मनमा यी कुराहरू खेल्नु पनि अस्वभाविक नहोला, किनकि हामीले सामान्य सुखसयल र सुविधाको पछि दौडेर गाउँ ठाउँका रीतिरिवाज र परम्परालाई चटक्कै भूलेर केन्द्रीय राजधानीको माहौलमा रहेर पार्टी प्यालेस, बैंक्युट्, क्याफे, क्याफ्टेरिया, रुफटपमा मज्जा लिन अग्रसर भैरहेका छौं ।
हामीले हाम्रो मझेरीमा रहेको अस्तित्व र इतिहासका प्रतिबिम्ब माथि जालो लगाउन माकुरालाई जिम्मा लगाइदिएका छौं, यी मानस्पटलमा दोलखाका प्रतिबिम्ब भित्र सुन्दर र शान्त पवन चलेको घटसीको चौतारो, फोप्सतको घुम्ती, मञ्जेश्वरीको हरियाली, सिंहबनको शितलतालाई कुत्सित संकीर्ण सोचमा राखेर मेरै राज्य हो यहाँ मेरै आदेश, मेरै हैकम चल्नुपर्छ भन्ने दम्भभावले गर्दा सेवा गर्न चाहने मनहरूको भवानामा ठेस लाग्न पुगेको छ कि जस्तो लाग्छ ।
दोलखा आएर के के न गरेजस्तो भनेर । तर यो पात्रलाई नचिन्ने र नबुझ्ने व्यक्ति शायदै कमै होलान् । वस्तुतः दोलखामा भएको कतिपय तथ्यकुरा किंवदन्ती बनेर माकुराको जालोमा अल्झिरहेका होलान्, कतिपय यथार्थताहरू स्वार्थको लालपूर्जामा पैतृक सम्पत्ति बनेर लुकिरहेका होलान् ।
बाहिरी नजरले देखिएका भेड्पुबाट आउनुपर्ने गुठीका आयस्ता, हिपाथामी बनेर आउनुपर्ने तर नआएका तर्कहरू पाखलती भित्रका चिया चौतारीमा तिहारमा भैंm भट्याउँदा हुन् । तर आपूmले बुझाउनु पर्ने दस्तुरलार्ई किर्ते रसिद भित्र कान्छी औंलाको ल्याप्चेमा थन्क्याएर राखेका होलान्, ती तथ्यको खोजी गर्ने साहस कसको छ र खै ? त्यति महान् शक्तिशाली बलवान भीमसेनको छत्रछायाँमा बसेर दोलखा भित्रै हराएका अस्तित्वलाई खोज्ने आँट किन आएन त ? त्रिपुरासुन्दरी देवीमाको शक्तिसंग परिचित भक्तहरू पनि पाएको शक्ति र बललाई सही समयमा सदुपयोग गरिनुपर्ने हो तर त्यो नदेखिनुमा कमजोरी कसको हो त ?
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij