
सृष्टिको प्रारम्भदेखि नै सुर (देवता) र असुर (दानव) बीच द्वन्द चर्कि नै रहन्थ्यो । देवताहरू महर्षि (ऋषि मुनि)हरूलाई यज्ञ, जप, तप गराई सृष्टिकर्ता ब्रम्हा पालनकर्ता बिष्णु र संहारकर्ता शंकर रिझाई शक्ति आर्जन गरी जीवन निर्वाह गर्दथे । देवताका शासक इन्द्र थिए जो आफ्नो दरबारमा अप्सरा, गन्धर्व, किन्नर–किन्नरी थुपारी भोग विलासमा लिप्त भैरहन्थे । उता असुरहरू आपूmलाई बलवान शक्तिशाली बनाउन कठोर तपस्या गर्दथे । जाडोमा हिमालयको न्यूनतम ठण्डामा एउटा गोडा उचाली ब्रम्हर्षि (ब्रम्हाको) आव्हान गर्दथे । गर्मीमा सूर्यको प्रचण्ड रापमा पनि मरुभूमिमा बसी पञ्चाग्नी तापी कठोर तप गर्दथे ।
यही क्रममा असुरका शासक महिषासुर (राँगोमा पनि भेष बदलेर बस्न सक्ने भएकाले) पनि कठोर तपस्या गरे । सृष्टिकर्ता ब्रम्हाको लागि त दानव र देवता बराबर नै थियो । महिषासुरको अघोष तपस्याबाट प्रसन्न भयो र वर माग्न आव्हान गरे । महिषासुरले त आफ्ना गुरु शुक्राचार्यबाट सिकेकै थिए चानचुने वर मागेर उम्कनु हुन्न भनेर । उनले ब्रम्हालाई प्रतीज्ञाबद्ध गराए कि जे मागे पनि दिने भनेर । तर ब्रम्हाले पनि आफ्नो सीमा बताएर सामथ्र्य ननाघी वर दिन तयार भए ।

महिषासुरको माग थियो मृत्यु जित्ने अथवा ब्रम्हाण्डका कुनैपनि पुरुष जातिको हातबाट उनको मृत्यु नहोस् । ब्रम्हाले तथास्तु भन्दै उनलाई बताइ दिए कि स्त्री जातिबाटै हुनेछ । त्यो बेलामा युद्धमा स्त्रीले भाग लिदैनथ्यो । महिषासुरले बुझे कि आफू चुकेछ र सोचेर पासा थापे, तर स्त्री नै देव, मानव कुनैपनि जातिको औरस सन्तान नहोस् । ब्रम्हाले सम्झाए, हरेक प्राणीको लागि मृत्यु अनिवार्य हुन्छ । महिषासुरले बाचा बाँधिसकेको थियो । ब्रम्हाले स्त्रीबाट नै तिम्रो अन्त्य हुनेछ सजग होउ भनी अन्तध्यार्न भए ।
महिषासुर बलिष्ठ थिए, ब्रम्हाको वरदान पाएपछि उनको घमण्ड झन् बढ्यो । स्वर्ग, मत्र्य र पाताल तीनै लोकको रजाइँ सजिलै गरे । ब्रम्हाको वरदान पाएको सुनेकै भरमा इन्द्रादि देवताहरू डराई त्वमशरणम् भए । महिषासुरका अनुचरले स्वर्गका अप्सरालाई आफ्नो दासी बनाए । जे मन लागे त्यही गर्न लाग्यो । अंकुश भएन, उपाय छैन भनी सबै देव देवता निरुपाय भइ भौंतारिन लागे । अन्ततः देवताका गुरु वृहस्पतिले सधैं यसरी लुकी लुकी भागी हुँदैन । सबै एकत्रित भइ सरसल्लाह गरी उपाय निकाल्नु पर्दछ नत्र हाम्रो वंश नष्ट हुन्छ ।


हिमालय पर्वत समिप शंकर, विष्णु इन्द्र कुबेर आदि सब देवगण जम्मा भए । महिषासुरको मरण स्त्री जातिबाट त्यसमाथि गर्भबाट नजन्मेको स्वउत्पति भएको हुनुपर्ने ब्रम्हाको वचनले बिचल्ली भएको कथा व्यथा सनाउँदै गर्दा महिषासुर प्रतिको क्रोध रौद्ररूपमा परिणत भइ सबैको अनुहारबाट आ–आफ्नो क्षमता शक्ति निस्केर एकिकृत पुञ्ज भइ ‘नवदुर्गा’ (भगवती) उत्पन्न भयो । अनि सबै देवदेवीले स्तुति गरी यी महाशक्तिलाई अर्चना गरी महिषासुर र तिनका अनुचरलाई समाप्त गरी रक्षा गर्न अनुनय विनय गरे ।
आफ्नो सामु प्रकट भएकी भगवतीलाई सबै देवगणले आ–आफ्ना हतियार शंख, चक्र, गदा, पद्म शस्त्रअस्त्र पनि तिनै देवीलाई प्रदान गरेर सवारीको लागि वाहन पनि उपलब्ध गराए । मुख्य वाहन चाहिँ सिंह वा बाघ भयो । दुर्गा भगवतीको रुप, सौन्दर्य शक्ति विलक्षण र अद्भूत थियो ।
सम्पूर्ण देवी देवताको आराधनाबाट प्रकट भएकी दुर्गा भवानीले सबैको आशय बुझेर आफ्नो लक्षलाई पुरा गर्न त्यहीँबाट जंगलतर्फ प्रस्थान गरे । उता महिषासुरका सहयोगी अनुचरहरू त्यही जंगलमा घुम्दै जाँदा एकाएक अत्यन्तै राम्री सुन्दर रुपकी स्त्रीलाई देखेपछि आफ्ना असुरराज महिषासुरलाई खबर दिन पुगे, असुरराज ! हिमालय पर्वतको मुनि फेदीमा अत्यन्त सुन्दर कन्या आविर्भाव भएको छ । हजुरको लागि जोडी बनाउन योग्य छ ।” भन्ने खबर महिषासुर कहाँ पुग्यो । महिषासुरले ब्रम्हाले दिएको वरदानको अन्तर्थ ‘कन्याबाट मृत्यु त्यसमाथि प्राणी देहको गर्भबाट होइन’ भन्ने कुराको छानबिन गर्न बिर्सेर सिधै त्यहाँ पुगेर हेर्दा देवी दुर्गाको रूपको मोहमा परी “आफूसंग विवाह गरी तीनैलोकको स्वामिनी हुनेछौ,” भन्ने सन्देश पठाए, यता दुर्गाले ठाडै इन्कार नगरीकन कुनै आपत्ति नजनाइकन महिषासुरलाई भनिन्,– “मैले संकल्प गरेकी छु कि जस्ले मलाई युद्धमा पराजित गर्नसक्छ म उसैलाई स्वामी वरण गर्दछु,”।


महिषासुरले मीठो बोलीमा सम्झाउन खोज्यो, तपस्याको कारण उ अजेय छ, अमर छ, अजर छ । त्यसैले लडाइँमा होमिएर आफू र आफ्ना परिवारजनको नष्ट हुने सम्भावनाको दुष्परिकल्पना नगर भने । अनि जवाफमा दुर्गाले भनिन्,– “ हेर महिषासुर तिम्रो विशाल सेना छ, मेरो मै मात्र छु, आश्विन शुक्ल प्रतिपदादेखि मेरा अलग अलग प्रतीकले युद्ध गर्नेछन् म त आँखिरीमा देखा पर्नेछु ।” देवीको यो भनाइले महिषासुर र युद्ध गर्न तम्सिए ।
अन्ततः देवी र महिषासुरको सेना बीच युद्ध शुरु भयो । दुर्गा क्रमशः अशोज शुक्ल प्रतिपदा देखि नवमीसम्मको युद्धमा आफ्नो भिन्ना भिन्नै रूप दर्शाइन् । अब ती नवदुर्गाको संक्षिप्त विश्लेषण गरौं,
(१) प्रतिपदाको दिनकी देवी शैलपुत्री हुन् । शैलको अर्थ पर्वत (पहाड) हो । अर्थात उनी पर्वतकी छोरी भनेर जानिन्छ । यो शैलपुत्रीको नामसंग जोडिएको शैलेश्वरी मन्दिर नेपालको पश्चिम डोटीको सदरमुकाममा छ । नन्दी वाहन चढेकी यी देवी बाँया हातमा त्रिशुलदायाँ हातमा कमलको फूल लिएकी हुन्छिन् ।


(२) द्वितियाको दिनमा मानिने देवी ब्रम्हचारिणी हुन् । वाहन नभएकी यी देवीले दायाँ हातमा रुद्राक्षको जपमाला बायाँ हातमा कमण्डलु लिएर खाली पाउमै उभिएकी हुन्छिन् । भनिन्छ शिवशंकरकै ध्यानमै रहन पाउँ भनी तपस्या गरेकी यी देवीले ब्रम्हाबाट वरदान पाएकीले यिनलाई ब्रम्हाचारिणी भनिएको हो । स्मरणीय छ सरस्वतीको दशौं रूप पनि ब्रम्हचारिणी नै हो ।
(३) तृतियाको दिनकी देवी चन्द्रघण्टा हुन् । यिनको दायाँतिर पाँच हात र बाँयातिर पाँच हात हुन्छ, दायाँ हातमा कमलको फूल, धनुष, वाण, बायाँ हातमा त्रिशुल, तरवार, कमण्डलु, घण्टा बोकेकी हुन्छिन् । बाघको ढाडमा आसन बाँधेर बसेकी यिनी देवीले शिवलिङ्ग प्रार्थना गरेको प्रतीक स्वरूप अगाडि निराकार शिवलिङ्ग स्थापित छ । यसको घण्टाको ध्वनिले ब्रम्हाण्डमै किटाणु नष्टहुने, साधकलाई प्रेत बाधाबाट रक्षा हुन्छ भन्ने पौराणिक मान्यता छ । निधारमा अर्धचन्द्राकार चन्द्रमा । यिनी सरस्वतीको एघारौं रूप हो ।
(४)चतुर्थी अथाृत् चारौं दिनकी देवी माता कूष्माण्डा हुन् । व्याघ्र वाहिनी ४–४ गरी आठ हात भएका बायाँ हातमा त्रिशुल, चक्र, गदा, तरवार र एउटा हातले कलश च्यापेकी र दायाँ हातमा कमल फूल, कमण्डलु, तीर समाएकी हुन्छिन् । यिनको तेज सूर्य समानको हुन्छ । यिनको आराधना गर्नाले आयु, यश, बल तथा आरोग्यको वृद्धि हुने बताइएको छ । मन्द हल्का हाँसोद्वारा अण्ड (ब्रम्हाण्ड) रचना गरेको हुनाले यस देवीको स्वरूपलाई कूष्माण्डा नाम राखिएको हो भनिएको छ । यिनले दुष्टको संहार गर्ने र भक्तको रक्षा गर्ने बताइएको छ ।


(५) पञ्चमीको दिन अर्थात पाँचौ दिनकी देवी स्कन्दमाता हुन् । स्कन्द नाम ६ मुखे कुमार हुनाले यी माताकै काखमा हरदम रहिरहन्छ । चार हात भएकी सिंह बाहिनी यी पद्मासनमा बसेकी दुई हातमा कमल फूल भएकी एक हातमा धनुको तीर लिएकी यिनी गंगाको अवतारको रूपमा मानिएकै कारणले स्कन्दमाता नाम भएको बताइन्छ । स्वस्थानीमा अगस्त्य मुनिलाई कथा सुनाउने स्कन्द कुमार हुन् । यिनको आराधना गर्नाले परम शान्ति सुख र मोक्ष पाइने भन्ने गरिएको छ ।
(६) षष्ठी अर्थात् दसैंको छैठौं दिनकी देवी हुन् कात्यायनी । महिषासुर वध गर्नका लागि नै यज्ञादि गरी उत्पति गरेको ठानिएको देवी सिंहासनमा आसनबद्ध भएकी हुन्छिन् । दायाँ बायाँ गररे चार हात भएकी बायाँ हातमा तरवार, कमल फूल लिएकी दायाँ हात माथिल्लो अभय मुद्रामा (भक्तजन तथा देवगणलाई त्रसित नहुनु भन्ने भाव) र एउटा हात वर मुद्रामा राखेकी हुन्छिन् । पुराणमा महर्षि कात्यायनले पुत्री प्राप्तिका लागि भगवती पराम्बाको कठीन तपस्या गरेकोले भगवती नै पुत्रीको रूपमा जन्मेको विश्वासमा कात्यायनी नाम रहन गएको भन्ने बताइएको छ ।
(७) सप्तमी तिथिको दिनलाई नेपालमा फूलपातीको दिन पनि भनिन्छ । यो सातौं दिन हो । यो दिनको देवीलाई कालरात्री भनेर पुजिन्छ । यो दिनको देवीको दाहिनेतिरको हात शस्त्रास्त्र रहित र बायाँ हातमा दुष्टहरूलाई छेदन गर्ने खड्ग र पास रूप हेर्दा भयानक महाकालीको अवतार घोडा आरुद गरेकी हुन्छिन् । त्रिनेत्र भएकी नरमुण्ड माला लाएकी लपलपाउने जिब्रो देखिन्छ । कुनै कुनै तस्बिरमा दुष्टको शिर छेदन गरिएको टाउको बोकेको पनि देखिन्छ ।
(८) दसैंको आठौं दिन अष्टमी । अष्टमीको दिनलाई महाअष्टमी पनि भनिन्छ, नवदुर्गा भवानीको यो दिन महागौरीको पूजाआजा गरिन्छ । नन्दीमा आसन आरूद गरेकी महागौरी पुरै श्वेत वर्णकी श्वेत हिमालकी रङ्ग धारण गरेकी छिन् । चार हात मध्ये दाहिने हातमा त्रिशुल र अभय मुद्रा बायाँ हातमा शान्तरस र डमरु हुन्छ । गौरी पार्वतीको पर्याय हो । पहिले गौरीको रूप निकै कालो भएको थियो । गौरीले शिवजी स्वामी पाउँ भनी अति नै कठोर तपस्या गर्ने बेलामा शरीर नै कालो भएको थियो । पछि महादेवले गौरीको शरीरको वर्णलाई आंकलन गरेर र तपस्याको प्रतापदेखि प्रसन्न भएर गंगाजलले धोएपछि कान्तीमय गोरो भएको हो भन्ने बताइएको छ ।
(९) दसैंको नवौं दिनलाई महानवमी भनेर मानिन्छ । यो दिनकी देवी सिद्धिदात्री हुन् । यही दिन सिद्धिदात्री देवीको आराधना गरी बलि पूजा पनि गरिन्छ । सिद्धिदात्री माता भगवती जलबाट उत्पन्न भएको मानिन्छ । यिनको बायाँ तिरको तल्लो हातमा शंख र माथिल्लो हातमा कमलको फूल हुन्छ भने दाहिनेतिरको तल्लो हातमा चक्र र माथिल्लो हातमा गदा हुन्छ । व्याघ्र आसनमा बसेकी यिनै रूपधारी भगवतीको हातबाट नै महिषासुर असुर राजको वध हुन्छ भनी बताइएको छ । यसपछि सबै देवगणले आफ्नो लोकमा राज गर्न पाइएको हो । यसरी जगतकै कल्याण गरेर रक्षक भएकोले भगवतीलाई जगदम्बा भन्ने गरिएको हो ।
दोलखामा आदिदेव भीमेश्वरलाई शक्तिको रूपमा बलिपूजा गरिने भएकोले दसैंंको बेलामा आश्विन शुक्ल प्रतिपदा यो दिन राइती धारामा व्रतवन्ध नगरेको कुमार केटाले चोखो पानी थापेर लानुपर्ने परम्परा (जुन कुरा हेर्नुहोला सन्दर्भ राइतीको जीर्णोद्वार दोलखाका धाराहरूमा लेखक अमरकुमार प्रधान सम्पादन बालकृष्ण पासा बाँपिझ्याला ३१ भदौ २०७९) अनुसार सो कुमार केटालाई टाउकोमा फेटा बाँधी चोखो पानी (निलोखु) थापी आ–आफ्नो कुल देवीघरमा भित्र्याई दीक्षाकर्म गर्नेले जमरा राख्दछन् ।
भीमेश्वर मन्दिरबाट त्रिपुरासुन्दरी (देवीकोट) जाने बाटोमा काली मन्दिर छ । युद्धमा जति थोपा रगत चुही जमीनमा खस्दछ त्यही नै बाट रक्तबीज राक्षस उत्पन्न भई दानव सेना बढ्दै जाने भएकाले भगवतीले रक्तबीजलाई बीचैमा लामलामो जिब्रो निकाली सिँचन गर्न कालरात्री काली उत्पन्न गर्नुभएको मानिन्छ । त्रिपुरासुन्दरी तीनै लोकमा अद्धितिय सुन्दरी हुन् । यता मय नामका दानव राजाले ब्रम्हाजीबाट वरदान पाएर अन्तरिक्षमा तीनलोक बनाइ राज्य गर्न लागे, दिव्य १०,००० वर्षमा ती तीनलोक एक निमेषका लागि एउटै पंक्तिमा जोडिन्छन् । त्यसका लागि महादेवलाई शक्ति प्रदान ( त्रिपुर– तीनपुर नष्ट गर्ने) देवी हुनाले (हेर्नुहोस स्वस्थानी पाँचौ अध्याय, दोलखाको त्रिपुरासुन्दरी भगवती रहस्यको प्रतिमूर्ति अमरकुमार प्रधान, भीमेश्वर जीर्णोद्वार स्मारिका २०, दोलखाको साँस्कृतिक सम्पदा यज्ञकुमार प्रधान) ।
जे होस् हिन्दूधर्ममा नवदुर्गाको प्रतिकात्मक रूप छन् । पलाञ्चोक भगवती, जुन नेपालमै आदि उत्कृष्टतम शिला कुँदिएको मूर्ति जसको अठ्ठार हात छ । त्रिपुरासुन्दरीमा र भीमेश्वर थानमा चैतेदसैं र वडा दसैंमा मात्र राँगोलाई महिषासुरको प्रतीक मानेर बलिपूजा हुन्छ । कालिन्चोक माईलाई (३८४२ मीटर) दिदी मानेर पूजा (राँगो बाहेक) गरिन्छन् ।

भीमेश्वरथानमा अरु बेला (एकादशी बाहेक) पञ्चबलि पूजा आएमा (राँगोलाई दुई दसैंमा बलि दिनेगरी स्थगित गरिन्छ । बडा दसैंको अवसरमा बोका, राँगो, त्रिपुरासुन्दरी मन्दिरको मूल ढोका जाने सिंढी संगै रहेको गणेशको मन्दिरमा विजया दशमीको दिन बलि दिइन्छ । जसको रगत जीउमा छर्केर पिएको अभिनय गर्ने दुईजना थामी हुन्थे, जसलाई स्थानीय भाषामा ‘हिपाथामी’ भनिन्छ । जुन हिपाथामी हुनेको साथमा अन्य उनका गुरुहरू समेत काम्दै आउने गर्दथे ।
यो बेलाको सम्बन्ध परम्परालाई समेटेर साथसाथै मनाउने अटुट गर्व गर्नुपर्ने सम्बन्ध हो । यसमा पौराणिक मान्यताका आधारमा थामी बन्धुहरूलाई नवदुर्गा भवानीको दूत बनेर तीनै लोकका देवता, ऋषिमुनि र मानवहरूलाई दुःख दिने असुरराज महिषासुर राक्षसलाई खोज्दै हिँडेको बेलामा महिषासुरका जासूसीहरूले आफ्नो पिछा गरेर आएको चाल पाएर उनीहरूलाई तर्साउनका लागि सिङ्गै राँगो ढालेर रगत पिएको अभिनय गरेको अनि राजकुलेश्वर तलेजु भवानीको मन्दिरमा पुग्दा त्यहाँको भगवतीकै सन्तानले आफ्नै पक्षका दूतहरू आएको देखेर प्रसन्न हुँदै स्वागत गर्ने क्रममा दीप बालेर पूजाआजा गर्दा ती दूतहरूले महिषासुरका जासूसीहरूलाई शक्ति देखाएर तर्साउन बलेको अग्नीरुपी बत्ती नै निलेको नाटकीय परिदृश्य मात्र थियो ।
जसलाई निरन्तरता दिन दुवै पक्षले उत्तम भूमिका निर्वाह गर्दै आएका पनि हो । जुन कामका लागि दोलखाका त्यसबेलाका राजाधिराजले बस्ने ठाउँ र कमाएर जीविकोपार्जन गर्न जग्गा समेत दिइ राखेको भन्ने कुरा इतिहासमा उल्लेख गरेको देखिन्छ । (Faith Healers of Himalayas: By Father C. G. Miller, Published by CNAS (Center for Nepal and Asian Studies 1976 AD ) भन्ने पुस्तकमा थामी जातिका बारेमा विस्तृत व्याख्या गरिएको पाईन्छ ।

तर पछिल्लो पुस्तामा आएर त्यो परम्परा तुहिन पुग्यो जब देशमा आमूल परिवर्तनको नाममा लोकतन्त्र र गणतन्त्र नामक शासन पद्धतिले नयाँ नयाँ खाकाका घोषणापत्र र संविधानको अक्षरहरू छापे, त्यसमा मानवीय स्वतन्त्र अधिकारको नाममा संस्कृति र परम्परालाई तगारो हालि दियो । धर्मनिरपेक्षको नाममा गलत व्याख्या गरेर एकअर्कामा वीजारोपण गरिदियो जसको फलस्वरूप त्यो परम्परा र संस्कृतिमाथि तालाबन्द भयो । जसले गर्दा संस्कृति, साँस्कृतिक र परम्परालाई अगाडि बढाउन निकै कठीन भयो । गणतन्त्रको अपव्याख्या गरेर थामी जातिलाई दोलखाका गुठियार लगायत केही व्यक्तिहरूले दैत्य, राक्षसको उपनाम दिएर शोषण गरे भन्ने अफवाह फैलाएर परम्पराको धज्जी उडाउँदै जात्रा संस्कृति चल्नलाई रोकावट गर्नेहरूले शायद यो देशको पहिचान कुन कुरा र के तथ्यबाट भैरहेको छ भनेर बुझ्न बाँकी नै छ जस्तो लाग्छ ।

अब दोलखा भित्र रहेका नेवार जाति र थामी जाति बीचको सुमधुर सम्बन्ध किराँतकालीन सभ्यतादेखि रहि आएको थियो भन्नेकुरा दोलखाको प्राचीन इतिहास, धार्मिक तथा साँस्कृतिक तथ्यहरूबाट स्पष्ट देखिएको छ । विशेष गरी दोलखामा मनाइने बडादसैं चैत बैशाखमा मनाइने मच्छिन्द्र नाथको जात्राको सम्बन्धमा यी दुई जाति बीचमा प्रगाढ सँबन्ध रहि आएको कुरालाई नकार्न सकिन्न । प्राचीन इतिहासको कालखण्ड देखि नै दोलखामा मनाइने बडा दसैंको महा नवमीको दिनबाट दोलखाको राङराङ थली, दुम्कोटमा बस्ने थामी दाजुभाइका पूर्खाहरू दोलखा शहरको पुरान्छेँमा आएर आ–आफ्नो रीतिरिवाज अनुसारको कर्म गरेर आफ्नो व्यापार पनि गर्दै आएका थिए । जस्तो कि ती थामी बन्धुहरूले डोको, थुन्से, भकारी, मान्द्रो, नाम्लो लगायत खुर्सानी, काँक्रो पनि बिक्रि गर्न ल्याउँथे । त्यतिबेलाको यो दसैं यति अविस्मरणीय थियो । तर त्यो कुरा मानस्पटलमा मात्र सिमित रहन पुगे ।

देवीकोट त्रिपुरासुन्दरीलाई माता महारानी भनिन्छ । भगवतीका साहनवाहनलाई चित्त बुझाउने अभिप्रायले त्यस मन्दिरमा बेला बखतमा बोका भाकल गरेर वा आपूm खुशी गरी बलि चढाउने कार्य गरेर त्यहीं भित्रै पकाइ प्रसादको रूपमा सामूहिक भोज खाने खुवाउने चलन अद्यवधि छ । नवदुर्गा भगवतीको आ–आफ्नै विशेषता भएपनि शक्ति बिनाको शिव (पुरुष) निस्प्रयोजन हुन्छ भन्ने सन्देश प्रवाह गरी सबैको शक्तिको एकीकरणले महाशक्ति भवानी दुर्गा उत्पन्न भई असुरको अन्त्य गरेको प्रतीकात्मक सन्देश दिएको छ । जसको परम्परागत संस्कृति छँदैछ । जय भीमेश्वर ! जय त्रिपुरासुन्दरी ! जय महा दुर्गा भवानी !! जय द्वाल्खा !!!
लेखन सहयोगी : बालकृष्ण श्रेष्ठ, सह–सम्पादक बाँपीझ्याला डटकम
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij