प्राचीन नगर दोलखाको राइती (राजहिटी) धारा पुनर्निर्माण शतप्रतिशत सकिएकोे छ । यही अशोज १ गते नगरप्रमुख ईश्वरनारायण मानन्धरबाट उद्घाटन हुन गईरहेको थाहा भएको छ । उक्त पुनः निर्मित ढुंगेधारालाई नयाँ रुपमा सम्पन्न भएको तिनवटा फोटो अनिल श्रेष्ठले आफ्नो सामाजिक संञ्जाल फेसवुकबाट सार्वजनिक गरिएको छ । साथै यसको बिस्तृत विवरण उद्घाटन पश्चात सार्वजनिक गरिने समेत थाहा भएको छ ।
दोलखा एक प्राचीन ऐतिहासिक शहर हो भनेर वर्णन गरिरहन जरुरी नहोला । दोलखामा धार्मिक र ऐतिहासिक सम्पदा भित्र अनगिन्ती संरचनाहरू छन् । यहाँ मन्दिर मात्रै होइन, बौद्ध धर्म सम्बन्धका चैत्य, स्तुपा र बुद्धका मूर्तिहरूलाई ठाउँ ठाउँमा अनेक तरिकाले सजाई राखेको पाइन्छ । तथापि भग्नावशेष भैरहेको र हुन लागेका संरचनालाई हाम्रो आफ्नै सम्पत्ति हो यसलाई सम्भार संरक्षण गर्ने दायित्व अनी जिम्मेवरी हामी दोलखावासीहरुकै हो यो जिम्मेवारी र दायित्वबाट भागेर हिड्नु हुदैन ।

यसै गरी कुरा उठ्छ, बैठक हुन्छ, समिति पनि बन्छ तर लगानीमा आएर अड्किन्छ । कतै हामीले श्रमदान गर्ने बानीलाई लत्याएका त छैनौं ? प्रश्न उठ्नु स्वभाव सिद्ध छ । पूर्खाहरूले पनि श्रम गरेरै निर्माण गरेका हुन् ती सम्पदा संरचनालाई । आफूले नसकेको कामलाई बाहिरबाट हस्तकला, शिल्पकलाका ज्यामीहरू ल्याएरै बनाएका हुन् । तर त्यतिबेलाको जस्तो श्रमदान गर्ने मन र अहिलेको मनमा भिन्नता छ र हुनु स्वभाविक पनि हो । किनकि समय बदलिएको छ । खाने मुखहरू बढेको बढ्यै छ, आम्दानी श्रोत छैन, जसले गर्दा पनि श्रमदान दाताहरू पाउन कठिन छ, तथापि दिनभरिको लगानी नभएपनि एक व्यक्तिले एक घण्टा श्रम दिँदा त्यत्ति हानी त नहुनुपर्ने हो । तर एक घण्टाको श्रमदानले यो समस्याको हल हुदैन ।

खैर त्यो कुरा छाडौं । दोलखाको प्राचीन सम्पदा मध्येमा ढुङ्गेधारा पनि एक हो । जुन धाराहरू दोलखा शहरको टोल टोलमा भएको हामीलाई अवगत छ । ती धाराहरू मध्ये ऐतिहासिक एवम् प्राचीन परम्परा संग जोडिएको धारा राइती तीनधारा हो । जुन करीब छैटौँ शताब्दी पहिले देखि नै भएको अनुमान गरिन्छ । जुन धाराले संस्कृति मात्र बोकेको छैन, यसले संदियौं देखि दोलखाली घाँटीलाई प्यास मेटाइ दिएको छ र लाखौं करोडौंको प्राण धानिरहेको छ ।
यो धाराले मानवलाई मात्र होइन, प्राचीन कालमा भूतहरूलाई समेत रसक्रिडा गर्ने थलो पनि बनेको थियो रे, हरेक रातको १२ बजे भूतहरूले पनि लुगा धुन आउँथ्यो रे, तर आधुनिक मान्छेहरूले नपत्याउलान्, केही वर्ष पहिले सम्म हाम्रा हजुरबाहरूले बताउनु हुन्थ्यो ती कुराहरू ।
अहिले जेहोस् केही भग्नावशेष अवस्थामा पुगेको त्यो राइती धाराले पुनर्जन्म पाएर समयसंगै आफ्नो रूप फेर्न पाएको छ । भलै सरकारी ढुकुटीबाट खर्चेको पैसाबाट बनेको किन नहोस्, त्यलाई पुनर ताजगी राख्नको लागि दोलखाली मन नै लागेको हो ।

परिश्रमी हातहरू बाहिरकै परेपनि बनाउका लागि पहल गर्ने साहसी कदम पनि दोलखाली युवाहरूकै छ । यसलाई हामीले फूलको आँखाले हेर्नुपर्छ । योजना ल्याए, आधा बाटोमा आधा माटोमा दबायो आधा चपायो भन्ने नकारात्मक सोचलाई त्यागेर हाम्रा दाजुभाइले राम्रो काम गरेर देखाए भन्नेतिर मन लगाउनुपर्छ ।
अहिले राइती धारा पुनर्निर्मित भैसकेको छ । यसलाई यो अवस्थामा ल्याउनकालागि पहल कदम चलाउने दोलखाको खानेपानी तथा सरसफाइ अभियानका उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठ कोषाध्यक्ष राकेश श्रेष्ठ, सचिव अनिल श्रेष्ठ लगायत सबै सदस्यहरूलाई हार्दिक धन्यवाद हामी दोलखावासीले दिनै पर्छ ।
साथै अब बन्नेवाला बज्रवती, इन्द्रवती र कुना कुनामा रहेको ढुङ्गेधारा बनाउनका लागि पनि रकम निकासा भैसकेको कुरा सुन्न पाउँदा धेरै खुशी जागेको छ । साथै राइती धाराबाट नामकाईमदौ भएर खिङल्चाको झोर हुँदै बगेको खोल्साको पनि सरसफाइ यथाशिघ्र हुनेछ भन्नेमा सबैको चाहना छ । त्यो खोल्सामा पनि दायाँबायाँ पर्खाल उठाएर सङ्लो पानी बगेको देखाउन पाए राइती धाराको सौन्दर्य अझ बढ्नेछ जस्तो लागेको छ । राइती लगायतका तल खिङल्चा सम्मको ढुङ्गे धाराले नयाँ रुप पाएको खण्डमा दोलखाको मौलिकतामा अझ सुन्दरता झल्कीनेछ ।
अब यसैगरि डोकलुङा, छोपती, वतिचा, तुतुरवती, बनारस वती, टसिचा वतीतिर पनि सहृदयी मनहरूको आँखा परोस् भन्ने अभिलाषाका साथ दोलखाको हरेक सम्पदा संरचनाले पुनर्जीवन पावस् अन्तमा दोलखाको सामाजिक विकास निर्माणको क्रियाकलापमा हामी एक जुट भई एकआपसमा सहयोग गर्दै अघि बढौं । यही छ हाम्रो शुभकामना छ । जय द्वाल्खा, जय भीमेश्वर ।।



केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij