Oct 09 2026 | २०८३, आश्विन २३ गते

Oct 09 2026 | २०८३, आश्विन २३ गते

जनकवि दुर्गालाल श्रेष्ठको निधन

जनकवि दुर्गालाल श्रेष्ठको निधन

नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः ५ पञ्चमी (१ भाद्र २०८३, १७ अगष्ठ २०२६) सोमबार, बाँपिझ्याला । नेपाल भाषाका जनकवि तथा वरिष्ठ साहित्यकार दुर्गालाल श्रेष्ठको निधन भएको छ। ९३ वर्षीय श्रेष्ठको आइतबार राति बूढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो। उनी पछिल्लो समयदेखि बिरामी थिए।

श्रेष्ठले छ दशकभन्दा लामो समयदेखि नेपाल भाषा र नेपाली भाषामा साहित्य सिर्जना गर्दै आएका थिए। कविता, गीत, बालसाहित्यलगायत विभिन्न विधामा उनको महत्वपूर्ण योगदान रहेको छ। नेपाल भाषा परिषद्ले उनलाई ‘जनकवि’को उपाधिबाट सम्मानित गरेको थियो।

उनका चर्चित कृतिहरूमा पिजा, जी स्वयम्भू त्वथ, याका फलेचा, इन्क्लाब्य पलासा, माछाबखाँचा, सन्ताया कुसा लगायत छन्। नेपाली भाषामा पनि उनले थुप्रै कविता तथा गीत रचना गरेका छन्।

विशेषगरी ‘फूलको आँखामा फूलै संसार’ जस्ता लोकप्रिय गीतमार्फत उनी नयाँ पुस्तामाझ समेत परिचित थिए। उक्त गीतलाई अनी छोइङ डोल्माले गाएकी हुन् भने संगीत न्ह्यू बज्राचार्यको रहेको छ।

साहित्य तथा नेपाल भाषा संरक्षण र प्रवर्द्धनमा पुर्‍याएको योगदानका लागि श्रेष्ठ जगदम्बाश्री पुरस्कार लगायत विभिन्न सम्मानबाट सम्मानित भएका थिए।

जनकवि श्रेष्ठको निधनसँगै नेपाली तथा नेपाल भाषा साहित्यले एउटा महत्वपूर्ण स्रष्टा गुमाएको छ। उनको निधनप्रति साहित्यिक क्षेत्रका व्यक्तित्व तथा शुभेच्छुकहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार