आदर्श प्रधान, रेकी ग्राण्ड माष्टर
होलिष्टिक माइण्ड्स एण्ड लाइफ सेलिब्रेसन सेन्टर, धापासी
अध्यात्ममा आभामण्डलको महिमाबारे धेरै कुरा हुन्छन् । शिद्ध–महापुरुषहरुको आभामण्डलको फैलावटका कुराहरु पनि उल्लेख भएको पाइन्छ । यसको उपयोगिताको सम्भावना झन बढेको छ, अहिले । वैज्ञानिकहरुले पनि आभामण्डलबारे थुप्रै अनुसन्धान गरेका छन् । आभामण्डल के हो ? यसको महत्व झन किन बढेको छ ?
‘आभा’ भनेको प्रकाश हो भने ‘मण्डल’ भनेको घेरा हो । आभा मण्डल भनेको प्रकाशहरुको घेरा भन्ने बुझिन्छ । हाम्रो शरीरभित्र प्राणतत्व हुन्छ । प्राणतत्व हामी देख्न सक्दैनौं । उक्त प्राणतत्वको प्रकट रुप नै आभामण्डल हो । आभामण्डललाई अग्रेजीमा औरा भनिन्छ ।
हामीले भगवान, महापुरुषहरुको फोटोमा पनि आभामण्डल देख्न सक्छौं । राम, कृष्णजस्ता भगवानहरुको शिरपछाडि सेतो प्रकाशको घेरा “आभामण्डल” बनाएको हुन्छ । वास्तवमा भगवान, महापुरुषहरुको मात्र होइन प्रत्येक मानिसहरुमा आभामण्डल हुन्छ । फरक यत्तिमात्र छ कि भगवान महापुरुषहरुको आभामण्डल शक्तिशाली हुन्छ । अहिले भगवानहरुको फोटोमा हेर्ने हो भने शिरपछाडि मात्र आभामण्डल बनाएको देख्छौं । तर वास्तवमा शिरमा मात्र नभई पूरा शरीरभरि नै आभामण्डल फैलिएको हुन्छ । यसबाट हामीले के बुझ्नुपर्छ भने आभामण्डल प्रत्येक मानिसहरुमा हुन्छ त्यो पनि पूरा शरीरभरि फैलिएको हुन्छ ।

आभामण्डल अण्डाकार रुपमा शरीरवरीपरि फैलिएको हुन्छ । मानिसको स्थूल शरीरको लगभग ३–४ इञ्च परसम्म आभामण्डल फैलिएको हुन्छ । यो अदृश्य चमकदार उर्जा हाम्रो स्थूल शरीरको आकारमै हुन्छ । यस आभामण्डललाई आकाश शरीर (इथरीक बडी) पनि भनिन्छ ।
जब प्राण शरीर बिमारी हुन्छ, तब उक्त शरीरको प्राणशाक्ति कुनै भागमा वा पूरै भागमा कमी हुन जान्छ । जुन रुपमा शरीरको आभा बराबर हुनुपर्ने नभएर पीडित अंगको आभा तलमाथि हुन जान्छ । प्राण शक्तिको घनापन वा संकुचनले गर्दा नै हामीलाई रोग लाग्छ । उदाहरणको लागि कुनै व्यक्तिको आँखा कमजोर छ भने उक्त व्यक्तिको आँखाको क्षेत्रमा आभा १–२ इञ्चसम्म कम हुन सक्छ । यस्तो अवस्थालाई प्राण शक्तिको संकुचन भनिन्छ । अर्को उदाहरण कुनै व्यक्तिको मुटु असाध्यै चल्छ भने उक्त व्यक्तिको मुटुको क्षेत्रमा आभा ७–८ इञ्चसम्म मोटो हुन सक्छ । यसलाई प्राणशक्तिको घनापन भनिन्छ ।
यसरी हाम्रो शरीरमा आभामण्डल सधै सन्तुलित हुनुपर्छ । स्वास्थ्य व्यक्तिको आभामण्डल चारै तर्फ चमकदार उर्जाको रुपमा फैलिएको हुन्छ । यस्तो व्यक्तिको आभामण्डल स्थूल शरीरभन्दा करिब १ मिटर परसम्म पनि फैलिन सक्छ । अस्वस्थ व्यक्तिको आभामण्डलमा केही प्वाल हुन्छन् साथै प्राणशक्तिको असन्तुलन पनि हुन्छ ।
प्राण शरीरको र स्थूल शरीरको सम्बन्ध एकदम नजिक हुन्छ । यदि प्राण शरीरको कुनै पनि अंग कमजोर भयो भने तुरुन्त स्थूल शरीरको अङ्गमा असर पुग्न जान्छ । यदि नित्य जिवद्रव्य शरीर सफा गर्ने र उक्त अङ्गलाई उर्जा दिने हो भने जस्तोसकै पुरानो रोग पनि ठीक गर्न सकिन्छ । प्राण शरीरले स्थूल शरीरलाई प्राणशक्ति पठाउने र स्थूल शरीरलाई आकार दिने काम गर्छ । यसको साथै स्थूल शरीरलाई सुरक्षित आवरण कवचको रुपमा ढाकी नकारात्मक उर्जालाई शरीरभित्र प्रवेश गर्नबाट रोकदिन्छ ।
आध्यात्मिक उच्चतामा जान पनि हामीले आफ्नो आभामण्डलको अवस्थाबारे थाहा पाउनु आवश्यक छ । जति–जति आभामण्डल बलियो हुन्छ, उतिनै उस व्यक्तिको आध्यात्मिक उर्जा पनि शक्तिशाली हुन्छ । त्यसैले सबभन्दा पहिले त आफ्नो आभामण्डल सन्तुलित छ या छैन भन्ने थाहा पाउनुपर्छ । हामीले जति पनि ध्यान, साधना गर्दछौ उक्त साधनाले पनि आभामण्डललाई सफाइ गर्छ । आध्यात्मिक उच्चताको प्रयासमा रहने साधकहरु प्रायः जसो चोखो–नितो, नित्य स्नान जस्ता कार्यलाई बढी प्राथमिकता दिन्छन् । वास्तवमा यी कार्यले स्थूल शरीरको सफाइ त गर्दछ तर आभामण्डलको सफाइ गर्दैन ।
उनीहरुले गर्ने दैनिक साधनाहरुको प्रभाव त पर्छ । तर आभामण्डलको कमजोरपनले गर्दा उक्त उर्जाहरु धेरै बेरसम्म शरीरमा रहन पाउदैन । धेरै साधकहरुले साधनाहरु धेरै गर्छन्, अनुभूतिहरु पनि पाउँछन् तर केही दिनपछि आफूले प्राप्त गरेको उर्जाहरु घटेको महसुस गर्छन् साथै इच्छित फलको परिणाम चाँडो पाउन सक्दैनन् ।
हालको एक अनुसन्धानअनुसार वास्तविक निर्देशनको अभावमा धेरै ध्यान साधना गर्ने साधकहरु आध्यात्मिक दृष्टिकोणबाट उच्च देखिए पनि शारीरिक दृष्टिकोणबाट उनीहरु अस्वस्थ पाइएको छ । उनीहरु व्रत, उपवास, शारीरिक कार्यहरु वढी गर्ने हुँदा स्थूल शरीरले पाउनु पर्ने उर्जा नपाउनाले केही न केही शारीरिक समस्याहरु पाइएको छ । यस्ता साधकहरुले साधारण उर्जाहरु पनि महसुस गर्न सक्छन् । उनीहरु आफूले साधनाबाट सफलता प्राप्त भएको ठान्दछन् ।
वास्तवमा उनीहरुको शरीरको उर्जा धारण गर्ने शक्ति अत्यन्त कम हुने भएकोले ससाना उर्जा महसुस मात्र भएको हो । अतः सवभन्दा पहिला स्थूल शरीरलाई चाहिने पर्याप्त उर्जालाई बढाउने त्यसपछि स्वतः आभामण्डल बलियो हुन्छ र आध्यात्मिक चेतना विकासको लागि चाहिने उर्जा बन्न थाल्छ ।
हामी नेपाली झारफुकप्रति धेरै विश्वास राख्दछौ । झन गाउँघरमा त अझै पनि डाक्टर भन्दा पनि धामी झाक्री, झारफुक प्रति नै मानिसहरु विश्वास राख्छन् । अब हामी आभामण्डल सफाइ र झारफुकबीचको सम्बन्ध बुझौं । साधारण अर्थमा झारफुक भन्नाले नराम्रो उर्जालाई झारी राम्रो उर्जालाई प्रवेश गराउनु हो । झारफुक गर्नेहरु पनि हिलर यानेकि उपचारक नै हुन् । तर उनीहरुलाई आफ्नो उपचार पध्दतिको रहस्यबारे त्यति थाहा छैन । झारफुक गर्नु भनेको शरीरको आभामण्डल सफा गर्नु नै हो ।
झारफुक गर्दा विरामीको टाउको देखि खुट्टासम्म कुचो, प्वाँख, चामल आदिको प्रयोग गरी झारिन्छ र बाहिर फ्याँकिन्छ । यसो गर्दा विरामीको आभामण्डलमा रहेको नकरात्मक उर्जाहरु तुरुन्त हट्ने भएकोले तुरुन्त राहत महसुस पनि हुन्छ । कति डाक्टरको औषधीले ठीक नभएको रोग पनि झारफुकबाट क्षणभरमा ठिक भएको घटनाहरु पनि धेरै सुन्न पाइन्छ । कति मानिसहरुलाई झारफुकबाट पनि ठिक हुँदैन । यसको कारण उसको आभामण्डलमा धेरै नकारात्मक उर्जाहरु हाबी हुने भएकाले झारफुकबाट धेरै समय लाग्ने हुन्छ ।
अतः झारफुक गर्ने उपचारकहरुले पनि जानी वा नजानी आभामण्डलको सफाइ नै गरिरहेको हुन्छ ।

आभामण्डलको सफाई गर्ने धेरै तरिकाहरु छन् । तीमध्ये हामीले गर्ने मन्त्र जप, ध्यान, साधनाहरुबाट पनि आभामण्डलको सफाइ भइरहेको हुन्छ ।
रसियन बैज्ञानिक क्रिलियनले सन् १९३९ मा क्रिलियन क्यामेराको आविस्कार गरेको हुन् । क्रिलियन इलेक्ट्रोनिक इञ्जिनियर थिए । आफ्नो घरको फ्रिज बनाउने क्रममा हात विजुलीको तारमा छुदाँ एक किसिमको प्रकाशको घेरा देख्दा उक्त प्रकाशको घेराबारे खोज–अनुसन्धान गर्दै जाँदा क्रिलियन क्यामेरा आविस्कार भएको हो । उक्त क्यामेरा बिजुलीबाट चल्छ । यस क्यामेराको सहायताले मानिसको आभामण्डलको फोटो सजिलै खिच्न सकिन्छ । मानिसहरुको उर्जाको स्तर, विभिन्न रोगहरु क्रिलियन फोटोमा सजिलै देख्न सकिन्छ ।
नेपालमा क्रिलियन क्यामेरा वि.सं. २०६३ मा रेकी फाउण्डेशन नामक संस्थाले भित्राएको थियो । उक्त क्यामेरामा साधारण क्यामेराको रिल नै प्रयोग हुन्छ । हाम्रो दायाँ र वायाँ हातको गरी दश वटा औलाको फोटो खिचिन्छ । उक्त औलामा देखिएको आभामण्डलको रङ्ग, आभामण्डलको फैलावट आधारमा मानिसहरुको आभामण्डलको स्थिति पत्ता लगाइन्छ । विशेष गरी औराको रङ्ग सेतो, रातो, निलो, कालो र पहेलो रङ्ग धेरै मात्रामा पाइन्छ ।
यस क्यामेराको मद्धतबाट आध्यात्मिक चेतनाको स्तर, मानसिक तथा शारीरिक रोगहरु सजिलै पत्ता लगाउन सकिन्छ ।
रेकी वेलनेस सेन्टरले सन् २०१४ मा नेपालमा पहिलो पटक क्रोटोकोभले बनाएको बायोवेल जीडीभी क्यामेरा नेपालमा ल्याएको हो । पार्क भिलेज, बुढानिलकण्ठमा क्यामेराको परिचय सहित वर्कसप पनि गरिएको थियो । यो क्यामेरा क्रिलियेन क्यामेरा भन्दा अत्याधुनिक रुपमा तयार गरेको छ । यसमा धेरै प्रकारको सुविधाहरु छन् ।
यस क्यामेराले मानिसको रगत, पानी, बोटबिरुवाहरुको पनि आभामण्डल हेर्न सकिन्छ ।
यसबाट मानिसकाृ प्राण शरिरमा रहेको चक्रको अबस्थाहरु पनि सजिलै हेर्न सकिने रेकी ग्राण्ड माष्टर एवं औरा एक्सपर्ट रन्जन प्रजापती बताउनुहुन्छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij