नेपाली भाषा तथा खस सभ्यताको उद्गमस्थल मानिने जुम्लाको हाट सिँजामा नेपाल टेलिकमको फोर–जी सेवा सञ्चालनमा आएको छ। कनकासुन्दरी गाउँपालिका अन्तर्गत गुठीज्युला बजार क्षेत्रमा नयाँ टावर स्थापना गरी आजदेखि सेवा सुरु गरिएको हो।
नेपाल टेलिकम जुम्ला कार्यालय प्रमुख पारस पुजाराका अनुसार नयाँ टावरमार्फत कनकासुन्दरी गाउँपालिकाका वडा नं. ३, ४, ५, ६ र ८ का विभिन्न बस्ती तथा बजार क्षेत्रमा फोर–जी सेवा उपलब्ध हुनेछ। गौरी, ओखरवाडा, हाट सिँजा, सिम्पाती, लुड्कु, गुठीज्युला बजार, बडुवालवाडा, बारकुडीवाडा, सञ्जेलवाडा, जाच र गोडिङ्गालगायतका क्षेत्रमा सेवा विस्तार भएको छ।
टावर सञ्चालनका लागि हाल सोलार ब्याट्री प्रयोग गरिएको छ। दुई महिनाभन्दा बढीअघि टावर निर्माण सम्पन्न भए पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् नपुगेका कारण सेवा सञ्चालनमा ढिलाइ भएको थियो। विद्युत् जडान हुन नसकेपछि तत्कालका लागि सौर्य प्रणालीमार्फत सेवा सुरु गरिएको टेलिकमले जनाएको छ।
सरकारले दुर्गम तथा पर्यटकीय क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राखेको छ। सोही योजनाअनुसार बाजुराको प्रसिद्ध बडीमालिका मन्दिर क्षेत्रमा समेत यसै साताभित्र फोर–जी सेवा सञ्चालनमा आउने तयारी छ। यस्तै, सगरमाथा आधार शिविर क्षेत्रमा फोर–जी सेवा विस्तारका लागि अध्ययन भइरहेको नेपाल टेलिकमले जनाएको छ।
यसअघि डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित ल्हान तथा ठूलीभेरी नगरपालिका–१ दुनै क्षेत्रमा करिब तीन हजार नौ सय मिटर उचाइमा फोर–जी सेवा सञ्चालनमा आइसकेको छ। ताप्लेजुङको ओलाङचुङगोलामा समेत करिब तीन हजार चार सय मिटर उचाइमा फोर–जी सेवा उपलब्ध भइसकेको छ।
डिजिटल विभाजन घटाउँदै सबै नागरिकलाई गुणस्तरीय सञ्चार सेवा उपलब्ध गराउने लक्ष्यसहित सरकारले देशभर दूरसञ्चार पूर्वाधार विस्तारलाई तीव्रता दिएको छ। हाल करिब एक हजार ६ सय नयाँ मोबाइल टावर तथा सम्बन्धित साइट निर्माणको प्रक्रिया अघि बढाइएको छ भने ग्रामीण क्षेत्रमा सेवा विस्तार र गुणस्तर सुधारका लागि नेपाल टेलिकमले चालु आर्थिक वर्षमा छ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने तयारी गरेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij