प्राचिन शहर दोलखाको विगतका कुराहरू खोतल्दै जाने क्रममा धेरै संस्कृति, प्रकृति, सम्पदा र परम्पराहरू उजागर गर्न निकै प्रयास गयौ । कतिपय कुरा सही सत्य बताउन खोज्दा कतै केही त्रुटि भएको होला । यसको लागि हाम्रो बाँपीझ्याला डटकम अनलाइनको तर्फबाट क्षमा याचना गर्दै धेरैको मानस्पटलमा हराइसकेको अतीतलाई एकपल्ट ब्यूँताइदिने प्रयास गर्न खोजिरहेका छौँ ।

विक्रम सम्वत् २०७९ सालको साउन महिनाको घण्टाकर्ण त्रियोदशीको दिन बाँपीझ्याला अनलाइनको लागि स्मरणीय दिन जस्तै लाग्यो । दोलखालाई सम्झेर त्यहाँको बारेमा दिनको तीनचार पटक कुरा नगरिकन खाएकै संतोष नमान्ने एकजना ९६ वर्षीय जेष्ठ नागरिक आदरणिय समाजसेवी एवं व्यवसायी पञ्चराज शाक्यज्यूसंग भेट गरेर दोलखाको अतीतलाई पुनरावलोकन गर्ने अवसर आजकै दिन संयोगवश जुर्न पुग्यो ।
बाँपिझ्याला डटकमका सम्पादक उपेन्द्र प्रधानको सल्लाह अनुसार म पनि ललितपुर जिल्ला ललितपुर महानगरपालीका वडा नं. ६ स्थित ओकुबहाल महाबौद्धमा रहेको हस्तकलाको पसलमा बिन्दूराज शाक्यजी संग भेट्न गएको थिएँ । मलाई त खासै थाहा थिएन कि बिन्दूराज शाक्यज्यूको ११औँ पुस्ताले पूर्व नेवारहरूको प्राचीन बस्ती दोलखामा गएर नवौं पुस्तासम्म सूनको गहना बनाएर व्यापार गरेका थिए भनेर । तर उहाँको घरमै गएर उहाँहरूकै मुखबाट दोलखाको भाषा, संस्कृती, परम्परा, जात्रामात्रा, सम्पदा र रीतिरिवाजको साथै ईतिहासको बारेमा ताजा स्मरण गर्न पाउँदा अत्यन्तै हर्षित भएको महशुस भएको छौं ।

छोरा बिन्दू रज शाक्यका पिताजी ९६ वर्ष उमेरका जेष्ठ नागरिक व्यक्तित्व पञ्चराज शाक्यज्यूको शारिरकि अवस्था यो उमेरमा पनि हट्टाकट्टा अनि आफ्नै बलबूताले हिँड्न सक्नुहुने क्षमता देख्दा बडो गर्व लाग्न थालेको छ । तर उहाँ कानले भने स्पष्ट सुन्न सक्नुहुन्न रहेछ । तैपनि दोहर्याएर बोल्दा बुझ्नसक्ने हुनुहुँदोरहेछ । दोलखाको नेवार भाषा पनि केही केही सम्झिरहनु भएको रहेछ । जस्तो :
जि ओनगी – म जान्छु,
जि च्वनगी – म बस्छु,
हुक्न ओन्गी – उता गएँ,
उक्न च्वन्गी – यता बसेँ,
जा नर उइँ – भात खान जान्छु,
जा नयेन् येर्गी – भात खाएर आएँ,
इथि खँ ल्हाइ मल मखेरा ? – यसरी कुरा गर्नुपर्छ हैन र ?
पञ्च राज शाक्यज्यूको जन्म विक्रम सम्वत १९८३ सालको म्हपूजाको दिन पिता हर्षराज शाक्य तथा माता पञ्चमाया शाक्यको कोखबाट जन्मनु भएको हो । हाल उहाँ आफ्नी धर्मपत्नी बसुमाया शाक्य, छोरा विन्दूराज शाक्य, बुहारी विमला शाक्य, नाती सतीशराज शाक्य, बुहारी अनु शाक्य, पनातिनी आनिया शाक्य, नातिनी सलीना शाक्य–ज्वाइँ सनिल शाक्य, छोरी हिरामाया–ज्वाइँ अमीर शाक्य तथा छोरीको तर्फबाट आर्युक्ष शाक्य, अमोध शाक्य र एैरिस शाक्य यी सबैको साथमा ललितपुर ओकुबहालको सुवाल टोलमा बस्दै आउनु भएको छ ।

९६ वर्षीय पञ्चराज शाक्यको जन्म दोलखा शहरको माथिल्लो टोलमा अवस्थित बौद्ध चैत्य नजिकैको ड्वाक पसल भन्ने घरमा भएको हो । ड्वाक् पसल भन्नाले दोलखा नेवार भाषामा ठूलो पसल भएको घर हो । दोलखा शहर भरिमा सबैभन्दा धेरै पसलको लागि बनाइएको झ्याल्टी (पल्टाएर उठाउन मिल्ने झ्याल जस्तो ढोका) कउल भएको ठूलठूला कोठा भएकोले त्यो पसलको नामबाट नै सो घरको नाम ड्वाक् पसल भनिएको हो ।
विक्रम सम्वत् १९९० सालको महा विनाशकारी भूकम्पले नेपाल राज्यको अधिकांश भागमा अपूरणीय क्षति पुर्याउँदा दोलखा शहर पनि अछूतो रहेको थिएन । त्यतिबेला उहाँहरू बस्दै आउनुभएको घर ड्वाक् पसल पनि कोल्टे नै पर्ने गरि क्षति भएको रहेछ । तथापि साढे दुई हात चौडा भएको ढुंगाको अंगल (पर्खाल) भएको कारणले त्यत्ति नराम्रो असर नपरेपनि भीमेश्वर मन्दिर नजिकैको भण्डार घर, डोकलुङा टोलको जोशी परिवारको घर, ड्वाक्छेँ टोलको भैरव बहादुर द्वारेको घर, ड्वाक्छेँकै धन बहादुर (पदम बहादुर) को घर, थातकोर्छेँको नारायण बहादुर, लक्ष्मी बहादुरको घर लगायत अधिकांश घरहरू पूर्ण रूपमा क्षति भएको कुरा उहाँको स्मरणले बताएको थाहा पाइयो ।
बुबा पञ्चराज शाक्यका पूर्खाहरू ९ पुस्ता सम्म दोलखामा रहँदै आएको रहेछ । ती ९ पुस्तामध्ये उहाँको स्मरणमा ४ पुस्ताको पैतृक नातामा बूबा हर्षराज शाक्य, हजूरबा सूर्यधन शाक्य, जिज्यूबा लखपति शाक्यसम्मको नाम मात्रै याद भएको कुरा थाहा हुनआयो ।
उहाँ संगको भेटले दोलखाको नेवारी वर्गमा रहेको व्यापारिक सम्बन्ध, नेवार जातिमा रहेको वैभवता र बुद्ध धर्मबारे केही तथ्यहरू उजागर गर्न सहज भएको आभास मिलेको अनुभूति भयो । मतलब यो हो कि दोलखामा पनि शाक्यहरूले स्थानीय रैथाने नेवारहरूसंगको अद्भूत नाताको विभेदरहित दौत्य सम्बन्ध रहेछ भन्ने कुरा छर्लङ्ग हुन आउँछ ।
अझ यसो भन्नुपर्दा दोलखामा त्यो बेलामा अर्थात् विक्रम सम्वत् १८३५ सालताका देखि नै शाक्य खलकहरू दोलखामा सून र नूनको व्यापार गर्नाका लागि रहेको कुरा आदरणिय पञ्च राज शाक्यको भनाइबाट पुष्टी भएपनि उहाँका पुस्ताहरू व्यापारकै लागि दोलखालाई मूख्य मार्गको हिसाबले हेरिएको देखिन्छ । तर उहाँको शूरुआती पुस्ता ललितपुरबाटै गएको हो या कपिलवस्तुबाट बुद्धधर्मको व्यापक प्रचार पछिको तिब्बतमा बौद्ध धर्मले लोकप्रियता पाएपछि तिब्बत जाने क्रममा दोलखामा बसोबास गरिएको हो यो भने अनुसन्धानको विषय बनेको छ ।
शाक्य पञ्चराजको जन्म हुनुभन्दा पहिलेको तीन पुस्ताले दोलखा शहरमा व्यापार गरेर बसोबास गरेको कुरालाई प्रत्यक्ष देख्ने दोलखाली व्यक्तिहरू कोही पनि जीवित नरहेकोले र कसैले पनि यही शाक्य परिवारको बारेमा कुनै पनि वंश र अंशको कुराहरू प्रमाणित रूपमा नराखि दिँदा दोलखाको अतीत खोतल्न असम्भव देखिनु स्वभाविकै हो ।
कैयन् शताब्दी पहिलेको महा भिक्षू मञ्जुश्रीको पाइला दोलखाको त्रिसुलचा (मञ्जेश्वरी) सरस्वती थानमा रहेकोले मञ्जुश्रीको नाम हरेकको जिब्रोबाट प्रस्फुटन हुँदा ती शाक्य परिवारका अतीतले पनि त केही न केही अनुदान उपदान दिएकै थिए होलान्, उनीहरूको चर्चा किन गरिएन त ? यक्ष प्रश्न यही छ ।
हाल ९६ वर्षीय पञ्च राज शाक्य कानले कमै सुन्नुहुन्छ, हल्का बोल्नुहुन्छ, बिस्तारै हिँड्नुहुन्छ, आपूmले ९ वर्षको उमेरमा दोलखा छोडेर आएको भएपनि हरेक दिन कोही दोलखाली भेट्न पाए हुन्थ्यो भनेर घर परिवारमा उत्सुकता जगाइरहनु हुन्छ भन्ेर उहाँकी धर्मपत्नी बसुमाया शाक्य सुनाउनु हुन्छ । प्राचिन शहर दोलखाको भीमेश्वर मन्दिरमा रहेको जोगी (संन्यासी) लाई स्मरण गर्दै त्यहाँ हर प्रहर रुखको मुढो बालेर धुनी जगाइरहेको याद गर्नुहुन्छ ।
पहिले पहिले दोलखालीवासीहरू नेपाल (उपत्यका) आउने बेलामा बेला बेलामा भीमेश्वरको प्रसाद लिएर आउने गर्थे । अनि २–३ रात त्यहीँ पाटनमै बास बसेर जाँदा आपूm स्वयम् दोलखामै बसेको महशुस गर्नुहुन्थ्यो रे । दोलखा भीमेश्वर मन्दिरमा भीमसेनको तीन रूप र पसिनाको बारेमा हरेक साँझ भजन मण्डलमा जाँदा बताइरहनु हुन्छ रे ।
विक्रम सम्वत् १९९० सालको भूकम्प आउनुभन्दा पहिले सम्म दोलखामा सूनको व्यापार प्रशस्तै हुने गथ्र्यो । भोट जाने र नेपाल जानेहरूको मूल बाटो नै त्यही भएकोले मान्छेहरूको आवागमनमा कुनै कमि नभएको बताउनुहुन्छ ती वृद्ध बा पञ्चराज शाक्यज्यू । दोलखामा बोलिएको नेवारी भाषाको शब्दमा सबैभन्दा मनपर्ने ‘काँकर, म्वार, लोखु’ (मकै, भटमास र पानी) बताउनुहुन्छ ।

दोलखाको भैरवकुमारी र मच्छिन्द्रनाथको रथ यात्रा कहिल्यैपनि बिर्सन सकिने छैन उहाँ बताउनु हुन्छ । दोलखामा उहिले उहिले भएको कुराहरू उहाँको बुबा हर्षराजले सुनाउनुहुँदा मननै आनन्द हुन्न्थ्यो कहिल्यै छोड्ने मन भएको थिएन । तर ९० सालको भूकम्प पछि करीब डेढसय वर्ष पहिले बनाएको घर छाडेर नेपाल फर्कनु पर्दा मलाई साह्रै मन रोएको बताउनु हुन्छ । त्यतिबेलाका साथीहरू भीम नारायण, अम्बर, नाम्दले, धने भन्ने साथीहरूले नजाउ भनेको कुरा उहाँ सम्झनुहुन्छ । र भन्नुहुन्छ …

“हामी र हाम्रो बा भूकम्पले घर बिगारेर नेपाल पाटन फर्केका होइनौं । त्यहाँ धेरै घर भत्क्यो, मान्छेहरूको बिचल्ली भयो । हाम्रो खेतीपाती थिएन खाली त्यही ज्यासः पसः (सून बनाउने बेच्ने) थियो, त्यहाँ किनबेच गर्ने मान्छे नै नभएपछि परिवार धान्न कठिन भयो त्यसैले तल्लो बिहार्छे टोलको मान बहादुर राइटरलाई घर बेचेर आएको हो । पछि उनीहरूको दाजुभाइले बाँडेर लिएछन् । शुरु शुरुमा त्यो ड्वाक पसल बनाउँदा मान्छेहरूले जिब्रो टोकेर हेर्थे रे, कत्रो ठूलो घर बनाउन लागेको भनेर…” यसरी पञ्चराज शाक्य बाले दोलखालाई सम्झनु हुन्छ । आपूm त्यहीँ बसेर केही बाल्यकाल जीवन बिताएर आएको थलोलाई सम्झेर र साक्षात भीमेश्वरलाई मनमा राखेर नै २०६५ सालमा दोलखाको रातो मच्छिन्द्रनाथ अवलोकितेश्वर करुणामाइको रथ तान्ने बेलामा गएर धर्मासीको अगाडि राखिने भैरवको मकुण्डो चढाउन गएको कुरालाई स्मरण गर्नुहुन्छ । यो भन्दा धेरै पहिले भीमेश्वर देवतालाई रास पूजा (संध्याकालीन नित्य पूजा ) गर्नेबेलामा देव शीलालाई श्रृङ्गार गरिने गहनाहरू पनि चढाइएको कुरा उहाँ बताउनुहुन्छ ।
यसरी दोलखालाई हृलयदेखि आत्म सम्मानताका साथ अगाध प्रेम दर्शाउने ९६ वर्षका जेष्ठ नागरिक आदरणीय बा पञ्चराज शाक्यसंगको भलाकुसारीबाट हामी आपूm दोलखावासी हुनुमा गर्व व्यक्त गर्दै आफ्नो केही सत्य तथ्य कुरा राखेर यहाँहरूमाझ सम्प्रेषण गर्दै यो लेखलाई यहीँ बिट मार्ने अनुमति माग्यौँ है । जय बाँपीझ्याला, जय भीमसेन, जय द्वाल्खा !
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij