१६ कात्तिक, बाँपीझ्याला, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी कात्तिक १८ गते परेको लक्ष्मी पूजाका दिनमा १५ सय मेगावाट विद्युत माग हुने प्रक्षेपण गरेको छ । पत्रकार सम्मेलन गर्दै प्राधिकरणले मागअनुसार विद्युत् दिन कुनै समस्या नरेहेको बताएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भदौमा प्रणालीमा १६ सय २० मेगावाटसम्म माग आएको भन्दै तिहारमा प्रणालीमा आउने माग धान्न कुनै समस्या नपर्ने बताए ।
‘अहिले पनि हाम्रो आन्तरिक उत्पादन दिनमा २ सय मेगावाट र रातिमा ५ सय मेगावाटसम्म मागभन्दा बढी छ,’घिसिङले भने,’त्यसैकारण जति विद्युतको माग आएपनि हामी तिहारमा उपभोक्तालाई बिजुली दिन्छौं ।’
उनले ग्राहकलाई ढुक्क भएर झिलिमिली बत्ती र उपकरणहरु प्रयोग गर्न आग्रह गरे । सो दिनमा प्रायः उद्योगहरु बन्द भएकाले घरायसी र व्यापारिक माग मात्रै हुन्छ । यही कारण प्रणालीमा सो दिनमा पनि ‘पिक डिमान्ड’ले रेकर्ड नराख्ने प्राधिकरणको प्रक्षेपण छ ।
‘बाहिर प्राधिकरणले सो दिनमा मागअनुसार बिजुली आपूर्ति गर्न सक्दैन कि भन्ने आंशका छन्,’ घिसिङ भने,’ तर, हामी जति माग आएपनि त्यसको व्यवस्थापनका लागि सक्षम छौं ।’
घिसिङले २०७३ सालको लक्ष्मी पूजाकै दिनमा काठमाडौंमा लोडसेडिङ हटाउने योजनाको परीक्षण गरेका थिए । त्यसअनुसार २०७५ वैशाखदेखि उद्योगहरुबाट समेत लोडसेडिङ हटेको थियो ।
घिसिङले भारतमा चर्किएको ऊर्जा संकटका कारण हिउँदयाममा समस्या पर्ने भन्ने बजारको हल्लामा पनि सत्यता नभएको पनि बताए ।
उनले ४५६ मेगावाटको तामाकोसी जलविद्युत् आयोजनासहित अरु केही नयाँ आयोजना प्रणालीमा थपिएकाले पिक आवरमा माग व्यवस्थापन गर्न समस्या नपर्ने बताए ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij