नेपाल सम्वत् ११४७, कछलाथ्वः १०, नवमी (३ मंसिर २०८३, १९ नोभेम्वर, २०२६) बिहीबार, बाँपिझ्याला । शंखधर दिवस तथा नेपाल संवत् ११४७ नयाँ वर्षको अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला शाखाले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्नुका साथै नयाँ वर्षको क्यालेण्डर प्रकाशन गरेको छ।
ने.सं. ११४७ कछलाथ्व दशमी (वि.सं. २०८३ मंसिर ३ गते) बिहीबार लखतीर्थस्थित जगतसुन्दर ब्वनेकुथि माध्यमिक विद्यालयको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो।
नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला अध्यक्ष रत्नकाजी महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले नेपाल संवत् ११४७ को क्यालेण्डर विमोचन गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले नेवार पत्रकारहरूको हकहित र अधिकारका विषयमा राज्यको विभेदपूर्ण व्यवहारविरुद्ध आवाज उठाउनुपर्ने बताउनुभयो। उहाँले छापा पत्रकारितामाथि भइरहेको विभेदपूर्ण व्यवहार तथा पत्रकारहरूमा त्रास सिर्जना हुने गरी भइरहेका धरपकडका गतिविधिको विरोध गर्नुपर्नेमा जोड दिनुभयो।
दबूका केन्द्रीय उपाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले नेवाः पत्रकार राष्ट्रिय दबूले नेवार पत्रकारहरूको मुद्दासँगै नेवाः आन्दोलन र समग्र पत्रकारिता आन्दोलनलाई पनि सँगसँगै अघि बढाइरहेको बताउनुभयो। शंखधर दिवसका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमले नेवाः आन्दोलनमा दबूको भूमिका अझ सशक्त बनाउने उहाँको भनाइ थियो। प्रदेश संरचना र विदेश शाखा गठनपछि विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता हुनु सकारात्मक रहेको उहाँले बताउनुभयो।
त्यसैगरी केन्द्रीय सल्लाहकार राजु शाक्यले राष्ट्रिय समाचार समिति (रासस) मा नेपाल संवत्को प्रयोग सुरु गर्दा सकारात्मक प्रतिक्रिया आएको स्मरण गर्दै यसको प्रयोगलाई निरन्तरता दिनुपर्ने बताउनुभयो। राससको मूल बुलेटिनमा अहिले पनि नेपाल संवत् उल्लेख हुने गरेको उहाँले जानकारी दिनुभयो।
बागमती प्रदेश अध्यक्ष विराजकाजी राजोपाध्यायले दबूको संस्थागत विकासका लागि आफ्नै भवन निर्माण गर्न पहल गर्नुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ, सचिव राजु नापित, ज्येष्ठ सदस्य दानदास श्रेष्ठ, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं जिल्ला अध्यक्ष भीमबहादुर लामा, ललितपुर जिल्ला अध्यक्ष मञ्जु बज्राचार्य, गोरखा जिल्ला अध्यक्ष हेरालाल श्रेष्ठ, ज्यापु संस्कृति विकास कोषका उपाध्यक्ष सन्तकुमार महर्जन, नेवाः देय् दबूका उपाध्यक्ष शान्त श्रेष्ठ, सचिव सृजनमान श्रेष्ठ, हरिकुमार श्रेष्ठ, वरिष्ठ कलाकार गणेश साय्मि तथा संस्कृतिविद् जितेन्द्र विलास बज्राचार्यलगायतको उपस्थिति थियो।
दबूका काठमाडौं जिल्ला सदस्य एवं प्रकाशन समितिका संयोजक रवीन्द्र बज्राचार्यले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा जिल्ला अध्यक्ष रत्नकाजी महर्जनले शाखाले सञ्चालन गर्दै आएका गतिविधि तथा नयाँ क्यालेण्डर प्रकाशनबारे जानकारी दिँदै सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो।
नयाँ कार्यसमिति चयन भएपछि काठमाडौं जिल्ला शाखाले पहिलोपटक क्यालेण्डर प्रकाशन गरेको र आगामी दिनमा मुखपत्रका रूपमा म्यागजिनसमेत प्रकाशन गर्ने तयारी भइरहेको संयोजक बज्राचार्यले जानकारी दिनुभयो।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij