नेपाल सम्वत् ११४७, कछलाथ्वः १०, नवमी (३ मंसिर २०८३, १९ नोभेम्वर, २०२६) बिहीबार, बाँपिझ्याला । जेनजी आन्दोलनपछि राजनीतिक रूपमा धक्का बेहोरेको नेकपा एमालेले पार्टीलाई पुनः सक्रिय र सुदृढ बनाउने रणनीति अघि सारेको छ। तत्काल नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनका विषयलाई प्राथमिकतामा नराखी आन्तरिक एकता, सङ्गठन सुदृढीकरण र जनतासँगको सम्बन्ध पुनःस्थापनामा जोड दिँदै एमालेले आगामी स्थानीय निर्वाचनको तयारी सुरु गर्ने सङ्केत दिएको छ।
काठमाडौंमा मङ्सिर २ र ३ गते सम्पन्न दुईदिने राष्ट्रिय भेलाले पार्टीलाई वैचारिक, साङ्गठनिक र भावनात्मक रूपमा एकताबद्ध बनाउने निष्कर्ष निकालेको छ। देशभरबाट झन्डै ३ हजार ५ सय अगुवा नेता तथा कार्यकर्ता सहभागी भेलाले पार्टीको कमजोर बनेको मनोबल उकास्ने, आन्तरिक असमझदारी हटाउने र सङ्गठनलाई पुनः गतिशील बनाउने सन्देश दिएको एमाले नेताहरूले बताएका छन्।
भेलाको मुख्य जोड स्थानीय तहबाटै पार्टीलाई एकताबद्ध बनाउँदै आगामी निर्वाचनमा केन्द्रित हुने रहेको छ। नेता गुरु बरालका अनुसार स्थानीय पार्टी कमिटीको सिफारिस र योजनाका आधारमा उम्मेदवार छनोट गरी निर्वाचनमा जुट्ने निर्णय भेलाले गरेको छ।
‘पार्टीलाई एकताबद्ध राख्दै स्थानीय पार्टीको सिफारिस र योजनामा उम्मेदवार छनोट गरेर स्थानीय निर्वाचनमा जुट्ने नै हो,’ बरालले भने।
एमाले सचिव महेश बस्नेतले पनि सम्बन्धित पालिकाका कार्यकर्तालाई उम्मेदवार छनोटको जिम्मेवारी दिने सन्देश भेलाले दिएको बताए। उनका अनुसार स्थानीय तहका कार्यकर्ताले नै आपसी सहमतिका आधारमा उम्मेदवार छनोट गर्न सक्नेछन्।
‘सम्बन्धित पालिकाका कार्यकर्ताले उम्मेदवार आफैँ निर्विवाद रूपमा छान्नुहोस् र जिताएर देखाउनुहोस् । माथिबाट कुनै हस्तक्षेप हुँदैन,’ बस्नेतले भने।
एमाले प्रमुख सचेतक ऐन महरले भेलाले स्थानीय निर्वाचनको तयारीसँगै लोकतन्त्र र संविधानको रक्षाका लागि पार्टीलाई सक्रिय बनाउने सन्देश दिएको बताए। उनका अनुसार पार्टीले आन्तरिक एकता कायम गर्दै वर्तमान सरकारका कामकारबाहीको विरोधमा समेत राजनीतिक रूपमा तयार रहनुपर्ने निष्कर्ष निकालेको छ।
‘पार्टीलाई एकताबद्ध बनाउँदै उच्च मनोबलका साथ अघि बढ्ने र वर्तमान सरकारको निरङ्कुश एवं स्वेच्छाचारी शैलीको विरोधका लागि तयार हुनुपर्छ भन्ने सन्देश हो,’ महरले भने।
पार्टी पुनरुत्थान र जनतासँग सम्बन्ध जोड्ने प्रतिबद्धता
राष्ट्रिय भेलाबाट पारित विशेष प्रस्तावमा एमालेले पछिल्लो राजनीतिक घटनाक्रमबाट बेहोर्नुपरेको धक्कालाई चिर्दै पार्टीलाई पुनः निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
पार्टीले आफू एउटा राजनीतिक लडाइँमा पराजित भए पनि समग्र राजनीतिक अभियान समाप्त नभएको उल्लेख गर्दै आगामी निर्वाचनमार्फत आफ्नो राजनीतिक शक्ति पुनः स्थापित गर्ने जनाएको छ।
‘गत वर्ष बेहोर्नुपरेको धक्कालाई चिर्दै धुलो टक्टक्याउँदै उठ्न, आन्दोलनको पुनरुत्थान गर्न र पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न उच्च मनोबलका साथ अगाडि बढ्नेछौँ,’ विशेष प्रस्तावमा भनिएको छ, ‘हामी एउटा लडाइँमा पराजित भएका हौँ, सिङ्गो युद्ध हारेका होइनौँ। आगामी निर्वाचनमार्फत यस सत्यलाई स्थापित गरिछाड्नेछौँ।’
एमालेले विगतमा गरेका कामप्रति गर्व गर्दै पार्टीका कमजोरी र कमीकमजोरीलाई भने निर्ममतापूर्वक समीक्षा गर्ने जनाएको छ। विशेषगरी जनतासँगको सम्बन्ध कमजोर भएको निष्कर्ष निकाल्दै पार्टीले जनताका सुझाव, गुनासा र आलोचना सुन्ने तथा तिनलाई व्यवहारमा आत्मसात् गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
यसका लागि युवा पुस्तासँग संवाद गर्ने, उनीहरूको मनोविज्ञान र सरोकार बुझ्ने तथा पार्टीका गतिविधि र आन्दोलनमा उनीहरूको सहभागिता बढाउने एमालेको योजना छ।
पार्टीले नेता तथा कार्यकर्ताको जीवनशैली र व्यवहारमा समेत सुधार आवश्यक रहेको स्वीकार गरेको छ। विलासी जीवनशैली, औपचारिकता, जनताबाट टाढिने प्रवृत्ति र यान्त्रिक कार्यशैली अन्त्य गर्दै आफूलाई जनताको सेवकका रूपमा स्थापित गर्ने एमालेको प्रतिबद्धता छ।
‘कतिपय नेता–कार्यकर्तामा देखापरेका आर्थिक तथा आचरणगत विचलन, विकृति र भ्रष्टताप्रति निर्मम हुनेछौँ। तिनलाई हटाउनेछौँ। स्वच्छ, जनसेवी र भरोसायोग्य अगुवाका रूपमा नेकपा एमालेको छविलाई थप उज्यालो बनाउनेछौँ,’ विशेष प्रस्तावमा उल्लेख छ।
त्यसैगरी पार्टीका नेता तथा कार्यकर्ताले जिम्मेवारी निर्वाह गर्दा नैतिकता, पारदर्शिता, सादगी, उद्यमशीलता र स्वच्छ आचरणलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्। संविधान, कानुन, पार्टी विधान, नियमावली र आचारसंहिताको पूर्ण पालना गर्ने पनि प्रस्तावमा उल्लेख छ।
गुटबन्दी अन्त्य र जिम्मेवारी बाँडफाँटमा जोड
एमालेले पार्टीभित्र देखिएको गुटबन्दी, अस्वस्थ प्रतिस्पर्धा र नकारात्मक प्रवृत्ति अन्त्य गर्ने नीति पनि अघि सारेको छ। पार्टीभित्रका असहमति र फरक मतलाई सम्मान गर्दै तिनलाई सम्बन्धित कमिटीमा राखेर समाधान खोज्ने जनाएको छ।
नेतृत्व र पार्टीका निर्णयप्रति सार्वजनिक रूपमा एकरूपता कायम गर्ने तथा आन्तरिक छलफलमा आफ्ना धारणा निर्धक्क राख्ने नीति अवलम्बन गर्ने एमालेको भनाइ छ।
‘असहमतिहरूलाई सम्मान गर्नेछौँ। असमझदारी र अस्वस्थता हटाउनेछौँ। सबैलाई उचित ढङ्गले जिम्मेवारी बाँडफाँट गर्नेछौँ। सिङ्गो पार्टीको ऊर्जालाई एकजुट बनाउन हरसम्भव प्रयत्न गर्नेछौँ,’ विशेष प्रस्तावमा भनिएको छ।
निर्वाचनमा उम्मेदवार छनोट गर्दा पार्टीले निर्धारित विधि, स्थानीय जनता र कार्यकर्ताको भावनालाई प्राथमिकता दिने जनाएको छ। यसले स्थानीय तहमा उम्मेदवार छनोटका विषयमा केन्द्रबाट हुने हस्तक्षेप कम गर्ने र स्थानीय कमिटीलाई जिम्मेवार बनाउने सन्देश दिएको नेताहरूको भनाइ छ।
भेलापछि कार्यकर्तामा उत्साह बढेको दाबी
राष्ट्रिय भेलामा सहभागी स्थानीय तहका नेता तथा कार्यकर्ताले दुईदिने छलफलले पार्टीभित्र नयाँ उत्साह र एकताको भावना विकास गरेको बताएका छन्।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले भेलाले पार्टीभित्र देखिएका विभिन्न आशंका र असमझदारी हटाउँदै नयाँ गतिका साथ अघि बढ्ने सन्देश दिएको बताइन्।
‘दुईदिने राष्ट्रिय भेलाले हामीमा उत्साहको सञ्चार गरेको छ,’ उनले भनिन्, ‘पार्टीबारे आएका विभिन्न थरीका कुराहरूलाई खारेज गर्दै नयाँ गति र एकताका साथ अघि बढ्ने निर्णय भेलाले गरेको छ।’
त्यस्तै, नेकपा एमाले अछाम जिल्ला कमिटी सदस्य विन्दु रावलले भेलाबाट प्राप्त ऊर्जा आगामी स्थानीय निर्वाचनमा उपयोग गर्दै जनतासँगको सम्बन्ध थप सुदृढ बनाउने बताइन्।
‘पार्टीको मार्गनिर्देश प्राप्त भएको छ, ऊर्जा थपिएको छ। यो ऊर्जा आगामी निर्वाचनमा प्रयोग गर्दै जनतासँगको सम्बन्ध सुदृढ बनाउँछौँ,’ उनले भनिन्।
अनेरास्ववियुकी महासचिव अञ्जना सिवाकोटीले भेलाले एमाले २०८२ भदौअघिको अवस्थामा फर्किएको सन्देश दिएको बताइन्। उनका अनुसार भेलाले पार्टीभित्रका अस्पष्टता हटाउँदै आगामी राजनीतिक गतिविधि र सङ्गठन विस्तारका विषयमा स्पष्ट दिशा दिएको छ।
‘भेलाले एमाले पुरानै गतिमा फर्केको सन्देश दिएको छ,’ सिवाकोटीले भनिन्, ‘अस्पष्ट कुराहरू स्पष्ट भएका छन् र सबै ढङ्गले अघि बढ्न सकिन्छ भन्ने सन्देश दिएको छ।’
एकता र सङ्गठन सुदृढीकरण मुख्य चुनौती
राष्ट्रिय भेलाबाट एमालेले तत्कालका लागि नेतृत्व परिवर्तनभन्दा पार्टीभित्रको एकता, सङ्गठन विस्तार र जनतासँगको सम्बन्धलाई प्राथमिकता दिएको देखिन्छ। स्थानीय कमिटीलाई उम्मेदवार छनोटको जिम्मेवारी दिने, युवा पुस्तासँग संवाद गर्ने र नेता–कार्यकर्ताको आचरण सुधार गर्ने प्रतिबद्धता यसै रणनीतिका हिस्सा हुन्।
तर भेलाबाट पारित प्रतिबद्धता व्यवहारमा कति कार्यान्वयन हुन्छन् भन्ने विषय भने आगामी दिनमा पार्टीले गर्ने गतिविधिले निर्धारण गर्नेछ। विशेषगरी जनतासँग कमजोर बनेको सम्बन्ध पुनःस्थापित गर्ने, आन्तरिक गुटबन्दी व्यवस्थापन गर्ने र युवा पुस्ताको विश्वास जित्ने चुनौती एमालेसामु छ।
आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै अघि बढेको एमालेका लागि राष्ट्रिय भेलाले तय गरेको एकता र सङ्गठन सुदृढीकरणको कार्यदिशा अब व्यवहारमा उतार्नु नै प्रमुख परीक्षा हुनेछ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij