Nov 24 2026 | २०८३, मंसिर ८, गते

Nov 24 2026 | २०८३, मंसिर ८, गते

प्रधानमन्त्री शाहको दशैं शुभकामना : सत्यको विजय, सद्भावको सन्देश

प्रधानमन्त्री शाहको दशैं शुभकामना : सत्यको विजय, सद्भावको सन्देश

नेपाल सम्वत् ११४७, कौलाथ्वः १० दशमी, (४ कार्तिक २०८३, २१ अक्टोबर, २०२६) बुधबार, बाँपिझ्याल । प्रधानमन्त्री बालेन्द्र शाहले असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइने विजया दशमीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै विजया दशमीले सत्य, न्याय र सत्कर्मको महत्त्व स्मरण गराउने उल्लेख गर्नुभएको छ। उहाँले पौराणिक मान्यताअनुसार यसै दिन दुर्गा भवानीले महिषासुरजस्तो आसुरी शक्तिमाथि विजय प्राप्त गरेको र भगवान् रामले असत्यका प्रतीक रावणको अन्त्य गरेको दिनका रूपमा विजया दशमी मनाइने बताउनुभएको छ।

विजया दशमीका अवसरमा मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्ने परम्पराले यस पर्वको धार्मिक र सांस्कृतिक महत्त्वलाई थप उजागर गर्ने उहाँको भनाइ छ। दुर्गा भवानीले विजय प्राप्त गरेजस्तै जीवनका हरेक सत्कर्ममा सफलता र विजय प्राप्त होस् भन्ने कामनासहित मान्यजनबाट आशीर्वाद लिने परम्परा रहेको उल्लेख गर्दै उहाँले टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर आशीर्वाद ग्रहण गर्ने चलनले पारिवारिक आत्मीयता र सामाजिक सम्बन्धलाई बलियो बनाउने बताउनुभएको छ।

प्रधानमन्त्री शाहले विजया दशमीलाई धार्मिक आस्थामा मात्र सीमित नराखी मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक प्रवृत्तिलाई त्याग्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिनुभएको छ। उहाँका अनुसार समाजमा विद्यमान विकृति र विसङ्गति हटाउँदै न्यायपूर्ण, समतामूलक र सुशासनयुक्त समाज निर्माण गर्न यस पर्वले प्रेरणा दिनुपर्छ।

उहाँले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक बेथितिलाई आसुरी प्रवृत्तिका रूपमा चित्रण गर्दै यस्ता विकृति अन्त्य गर्न सबै एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ।

“आजको दिनमा आसुरी प्रवृत्तिको रूपमा रहेको भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक बेथिति हटाउन र हरेक नागरिकलाई हाम्रा लागि सरकार छ भन्ने महसुस गराउन हामी सबै एकजुट हुन आवश्यक छ,” प्रधानमन्त्री शाहले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ।

उहाँले इमानदार प्रयास, दृढ अठोट र सामूहिक मेहनतबाट मात्रै समाजमा रहेका विकृति हटाउन सकिने बताउँदै परिवर्तनका लागि सोचमा सुधार ल्याउनुका साथै व्यवहारमा समेत परिवर्तन गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री शाहले विविधतायुक्त नेपाली समाजमा विजया दशमीले सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एकताको सूत्रमा बाँध्ने विश्वास व्यक्त गर्नुभएको छ। भौगोलिक, सांस्कृतिक तथा भाषिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र सम्मान कायम राख्न यस पर्वले महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ।

वर्षौँदेखि टाढिएका साथीभाइ, आफन्त तथा परिवारका सदस्यसँग भेटघाट गरी आत्मीयता साटासाट गर्ने अवसरसमेत प्रदान गर्ने विजया दशमीलाई सबैले आ–आफ्नो क्षमता र अवस्थाअनुसार मनाउन उहाँले आह्वान गर्नुभएको छ।

प्रधानमन्त्री शाहले विजया दशमीका अवसरमा एकअर्काप्रति माया, सद्भाव, एकता र सम्मानको भावना अभिवृद्धि गर्दै सकारात्मक सोच र व्यवहारका साथ समुन्नत समाज निर्माणमा योगदान पुर्‍याउन सबै नेपालीलाई आग्रह गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार