नेपाल सम्वत् ११४६, कौलाथ्वः ५, पञ्चमी (२९ असोज २०८३, १५ अक्टोबार, २०२६) बिहीबार, बाँपिझ्याला । काठमाडौँ उपत्यकामा बढ्दो जनसङ्ख्या र सवारी चापका कारण उत्पन्न ट्राफिक समस्या समाधान गर्ने उद्देश्यले प्रस्तावित ‘रत्नपार्क–भक्तपुर मेट्रो रेल’ परियोजनाको सम्भाव्यता अध्ययन अघि बढाइएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा तयार गरिएको ‘काठमाडौँ उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना २०५०’ ले पहिलो चरणमा रत्नपार्कदेखि भक्तपुरको जगातीसम्म मेट्रो रेल सञ्चालन गर्न सुझाव दिएको हो।
पूर्वाधार विकास मन्त्रालयका सहसचिव तथा विकास सहायता समन्वय महाशाखा प्रमुख सुशीलबाबु ढकालका अनुसार गुरुयोजनाले भविष्यमा बढ्ने जनसङ्ख्या, सवारी चाप र सहरी विस्तारलाई समेत ध्यानमा राख्दै उपत्यकाको यातायात प्रणाली सुधार गर्न विभिन्न विकल्प सुझाएको छ। सोही योजनाअनुसार मेट्रो रेल परियोजनालाई अघि बढाइएको उहाँले बताउनुभयो।
गुरुयोजनाले प्रस्ताव गरेको रेलमार्ग निर्माण गर्न सम्भव छ वा छैन, यसको सामाजिक तथा वातावरणीय प्रभाव कस्तो पर्छ र वित्तीय रूपमा कत्तिको उपयुक्त हुन्छ भन्ने विषयमा जाइकाको टोलीले अध्ययन गरिरहेको छ। टोलीले आगामी छ महिनाभित्र सरकारलाई प्रतिवेदन बुझाउने अपेक्षा गरिएको छ। सम्भाव्यता अध्ययनको नतिजापछि मात्रै परियोजना कार्यान्वयनको प्रक्रिया अघि बढ्नेछ।
प्रस्तावित मार्गअनुसार भक्तपुरको जगातीदेखि अरनिको राजमार्ग हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छेउसम्म जमिनमाथि, विमानस्थल क्षेत्रमा भूमिगत तथा विमानस्थलदेखि माइतीघर र माइतीघरदेखि रत्नपार्कसम्म जमिनमाथि मेट्रो रेल सञ्चालन गर्ने अवधारणा गुरुयोजनामा समेटिएको छ। यद्यपि, अन्तिम मार्ग, डिजाइन, स्टेशन, डिपो, यात्रु चढ्ने–ओर्लने स्थान र पार्किङ संरचनाको टुङ्गो विस्तृत अध्ययनपछि लाग्नेछ।
काठमाडौँ उपत्यकामा मेट्रो तथा मोनोरेल सञ्चालन गर्ने विषय लामो समयदेखि चर्चामा रहे पनि ठोस प्रगति हुन सकेको छैन। सन् २०१२ मा कोरियन कम्पनी चुङसुङ इन्जिनियरिङले गरेको सम्भाव्यता अध्ययनले उपत्यकाका विभिन्न मार्गमा कुल ७७ किलोमिटर मेट्रो रेल सञ्चालन गर्न सकिने प्रस्ताव गरेको थियो। त्यसमा ५२ किलोमिटर आकाशे र २५ किलोमिटर भूमिगत रेलमार्ग समावेश थिए।
उक्त अध्ययनले सातदोबाटो–रत्नपार्क–नारायणगोपालचोक, कीर्तिपुर–कालीमाटी–नयाँ बानेश्वर–विमानस्थल तथा कोटेश्वर–चाबहिल–स्वयम्भू क्षेत्रमा आकाशे मेट्रो र स्वयम्भू–डिल्लीबजार–बौद्ध तथा धोबीघाट–सिंहदरबार–नक्साल–गोंगबु क्षेत्रमा भूमिगत मेट्रो रेल सञ्चालन गर्न सकिने प्रस्ताव गरेको थियो।
यातायात क्षमताका दृष्टिले मेट्रो रेललाई प्रभावकारी विकल्पका रूपमा हेरिएको छ। उपलब्ध विवरणअनुसार मेट्रो रेलको एक लेनबाट प्रतिघण्टा २५ हजारदेखि ५० हजारसम्म यात्रु ओसारपसार गर्न सकिने बताइएको छ। बढ्दो जनसङ्ख्या र यातायातको दीर्घकालीन माग व्यवस्थापन गर्न मेट्रो रेल आवश्यक रहेको रेल विभागको धारणा छ।
काठमाडौँ उपत्यका भूकम्पीय जोखिममा रहेकाले मेट्रो रेलको संरचना निर्माण गर्दा सुरक्षा, भूगर्भीय अवस्था र वातावरणीय प्रभावको विस्तृत अध्ययन आवश्यक हुने विज्ञहरूको धारणा छ। परियोजना कार्यान्वयनमा आएमा उपत्यकाको सार्वजनिक यातायात प्रणालीलाई व्यवस्थित बनाउनुका साथै सडकको सवारी चाप घटाउन र यात्रालाई छिटो तथा सहज बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij