नेपाल सम्वत् ११४६, कौलाथ्वः ५, पञ्चमी (२९ असोज २०८३, १५ अक्टोबार, २०२६) बिहीबार, बाँपिझ्याला । दसैं–तिहारलाई लक्षित गर्दै हेटौंडाबाट काठमाडौं जोड्ने छोटो वैकल्पिक सडकमार्गमा टाइमकार्ड लागू गरिएको छ। हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी–सिस्नेरी तथा फाखेल–दक्षिणकाली–फर्पिङ हुँदै आवतजावत गर्ने सवारीसाधनमा बुधबार बेलुकादेखि टाइमकार्ड लागू गरिएको हो।
चाडपर्वका समयमा यात्रु तथा सवारीसाधनको चाप बढ्ने र बढी ट्रिप गर्ने उद्देश्यले चालकले तीव्र गतिमा सवारी चलाउन सक्ने जोखिमलाई मध्यनजर गर्दै टाइमकार्ड लागू गरिएको प्रहरीले जनाएको छ।
टाइमकार्डअनुसार भैंसे, भीमफेदी, कुलेखानी, सिस्नेरी, फाखेल, दक्षिणकाली र फर्पिङलगायतका स्थानमा सवारीचालकले टाइमकार्ड देखाउनुपर्नेछ। निर्धारित समय पालना नगरी सवारी सञ्चालन गर्ने चालकलाई कानुनबमोजिम कारबाही गरिने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले बताउनुभयो।
चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, यात्रुको सुरक्षा तथा राजमार्गमा बढ्ने सवारी चाप व्यवस्थापन गर्न मकवानपुर प्रहरीले जिल्लाभरि ७२९ जना प्रहरी परिचालन गरेको छ। जिल्ला प्रहरी प्रमुखको नेतृत्वमा कमान्ड पोस्ट रहने गरी विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ।
बाढीपहिरोका कारण धादिङ तथा सिन्धुली क्षेत्रका सडक अवरुद्ध हुँदा हेटौंडा हुँदै काठमाडौं आवतजावत गर्ने सवारीसाधनको चाप बढ्न सक्ने अवस्थालाई ध्यानमा राखेर राजमार्ग सुरक्षालाई प्राथमिकता दिइएको प्रहरी उपरीक्षक खत्रीले बताउनुभयो।
यात्रुलाई सहजता प्रदान गर्न जिल्लाका पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएका छन्। सहायता कक्षमार्फत बढी भाडा असुल्ने प्रवृत्ति नियन्त्रण, यातायात व्यवस्थापन तथा महिला, बालबालिका र ज्येष्ठ नागरिकले यात्राका क्रममा भोग्नुपर्ने समस्या समाधानमा सहजीकरण गरिने प्रहरीले जनाएको छ।
राजमार्ग तथा मुख्य सडकखण्डमा आकस्मिक जाँच, नियमित चेकपोस्ट र ट्राफिक प्रहरीसहितको संयुक्त जाँचको व्यवस्था गरिएको छ। लापरबाहीपूर्वक सवारीसाधन चलाउने चालकलाई नियन्त्रणमा लिएर कानुनबमोजिम कारबाही गरिने जनाइएको छ।
विशेष सुरक्षा योजनाअन्तर्गत जिल्लाका विभिन्न स्थानमा १० वटा मोबाइल गस्ती टोली परिचालन गरिएका छन्। आकस्मिक रूपमा प्रहरी सहायता आवश्यक पर्ने स्थानमा तत्काल पुग्न मोटरसाइकलसहितका द्रुत प्रतिकार्य टोली (क्युआरटी), पिकेट टोली तथा पैदल गस्तीसमेत परिचालन गरिएको छ।
चाडपर्वका समयमा बजार क्षेत्रमा हुन सक्ने भीडभाड, चोरी, लुटपाट तथा जुवातासजस्ता गतिविधि नियन्त्रण गर्न सादा पोसाकमा समेत प्रहरी खटाइएको छ। बैंक तथा वित्तीय संस्थामा आर्थिक कारोबार बढ्ने भएकाले सम्भावित चोरी तथा लुटपाटका घटना रोक्न निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता माधवप्रसाद काफ्लेले बताउनुभयो।
त्यसैगरी, कृत्रिम अभाव, कालोबजारी तथा अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी बजार अनुगमनको व्यवस्था मिलाइएको छ। धार्मिक तथा पर्यटकीयस्थल, सरकारी कार्यालय र प्रदेश राजधानीमा रहेका विशिष्ट व्यक्तिहरूको सुरक्षाका लागि पनि प्रहरी परिचालन गरिएको छ।
सवारी दुर्घटना तथा अन्य आकस्मिक घटनामा तत्काल उद्धार र सहायता उपलब्ध गराउन प्रहरी टोली तयारी अवस्थामा राखिएको छ। परिचालित जनशक्ति अपुग हुने अवस्था आएमा थप प्रहरी परिचालन गर्न दुईवटा रिजर्भ टोलीसमेत तयारी अवस्थामा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij