Oct 15 2026 | २०८३, आश्विन २९ गते

Oct 15 2026 | २०८३, आश्विन २९ गते

शिवशक्ति सहकारीको २०औँ साधारण सभा सम्पन्न, मन्त्री केसीद्वारा उद्घाटन

शिवशक्ति सहकारीको २०औँ साधारण सभा सम्पन्न, मन्त्री केसीद्वारा उद्घाटन

नेपाल सम्वत् ११४६, कौलाथ्वः ५, पञ्चमी (२९ असोज २०८३, १५ अक्टोबार, २०२६) बिहीबार, बाँपिझ्याला । दोलखाको कालिञ्चोक गाउँपालिका–५, लापिलाङमा सञ्चालित शिवशक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। लापिलाङस्थित स्थानीय विद्यालयको प्राङ्गणमा आयोजित साधारण सभाको बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीले उद्घाटन गर्नुभएको हो।

संस्थाका अध्यक्ष सन्तोष खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कालिञ्चोक गाउँपालिकाका विभिन्न वडाबाट सहकारीका सेयर सदस्य, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत नृत्यसहित विभिन्न सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरिएको थियो।

कार्यालय व्यवस्थापन र सुशासनमा जोड

कार्यक्रममा संस्थाका व्यवस्थापक होमबहादुर थामीले स्वागत मन्तव्य राख्दै सहकारीको कार्यालय व्यवस्थापन, सञ्चालन प्रक्रिया तथा सुशासनका विषयमा जानकारी गराउनुभयो। उहाँले सदस्यहरूको हितलाई प्राथमिकतामा राखेर संस्था व्यवस्थित र उत्तरदायी ढंगले सञ्चालन भइरहेको बताउँदै आगामी दिनमा सेवालाई थप प्रभावकारी तथा प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

बाढीपीडितका लागि ६४ हजार रुपैयाँ सहयोग

साधारण सभामा अध्यक्ष सन्तोष खड्काले प्रस्तुत गर्नुभएको प्रतिवेदनअनुसार सहकारीले बाढीपीडितको राहतका लागि ६४ हजार १०४ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।

प्रतिवेदनमा उल्लेख भएअनुसार २०८३ भदौ ३० गते तातोपानी तथा आसपासको भोटेकोशी क्षेत्रमा आएको बाढी र नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति सहानुभूति प्रकट गर्दै सहकारीका सदस्यहरूको खाताबाट प्रतिव्यक्ति २० रुपैयाँका दरले ५२ हजार ४ रुपैयाँ तथा सञ्चालक र कर्मचारीबाट १२ हजार १०० रुपैयाँ संकलन गरी राहत कोषमा जम्मा गरिएको हो।

२६ सयभन्दा बढी सदस्य, १७ लाखभन्दा बढी नाफा

साधारण सभामा सचिव तथा कोषाध्यक्षको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति तथा वित्तीय विवरण प्रस्तुत गरिएको थियो। प्रतिवेदनअनुसार सहकारीमा कुल २ हजार ६०२ सदस्य रहेका छन्। चालु सदस्यताबाहेक उक्त आर्थिक वर्षमा मात्रै १३१ नयाँ सदस्य थपिएका छन्।

संस्थाको वित्तीय विवरणअनुसार कुल कारोबार १५ करोड २० लाख ३२ हजार १८८ रुपैयाँ, कुल बचत १२ करोड ८८ लाख २१ हजार ९२८ रुपैयाँ र कुल ऋण प्रवाह १० करोड ९८ लाख ९२ हजार २२२ रुपैयाँ रहेको छ।

त्यसैगरी, संस्थाको कोषमा ९८ लाख ८५ हजार १४४ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ। सञ्चालन खर्च २६ लाख ३५ हजार ५०७ रुपैयाँ रहेको सहकारीले सो आर्थिक वर्षमा करिब १७ लाख ७८ हजार ४९९ रुपैयाँ नाफा कमाएको जनाएको छ।

सहकारी शिक्षादेखि युवालाई उद्यमशीलता तालिमसम्म

सहकारीले आर्थिक कारोबारसँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि विभिन्न गतिविधि सञ्चालन गरेको प्रतिवेदनमा उल्लेख छ। संस्थाले विद्यालयहरूमा सहकारी शिक्षा कार्यक्रम, बेरोजगार युवायुवतीलाई लक्षित व्यवसाय सञ्चालनसम्बन्धी तालिम, स्थानीय जनप्रतिनिधिसँग अन्तरक्रिया तथा खेलाडीलाई सहयोग गर्ने कार्य गरेको जनाएको छ।

त्यसैगरी, विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जर्सी वितरणलगायत सामाजिक गतिविधि सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख छ।

उत्पादन र उद्यमशीलतामा जोड दिन आग्रह

कार्यक्रमका प्रमुख अतिथि मन्त्री भरतबहादुर केसी, विशिष्ट अतिथि कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कुलबहादुर बुढाथोकी तथा जिल्ला समन्वय समितिका पूर्वप्रमुख डबल पाण्डेलगायतले मन्तव्य राख्दै शिवशक्ति सहकारीले स्थानीय नागरिकको आर्थिक जीवनस्तर सुधार तथा सामाजिक विकासमा पुर्‍याएको योगदानबारे चर्चा गर्नुभयो।

उहाँहरूले सहकारी संस्थाहरू बचत तथा ऋणको कारोबारमा मात्र सीमित नभई उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्दै उद्यमशीलता प्रवर्द्धनमा समेत केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याउनुभयो।

साधारण सभाले सहकारीको आर्थिक तथा सांगठनिक अवस्थाको समीक्षा गर्दै आगामी दिनमा सदस्यको आर्थिक हित, संस्थागत सुशासन र स्थानीय आर्थिक विकासमा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार