नेपाल सम्वत् ११४६, कौलाथ्वः ३, तृर्तिया (२७ असोज २०८३, १३ अक्टोबार, २०२६) मंगलबार, बाँपिझ्याला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि सञ्चारमाध्यममा सार्वजनिक भएका समाचार, श्रव्य सामग्री तथा गम्भीर आरोपबारे आन्तरिक छानबिन अघि बढाएको छ। पार्टीले छानबिनको निष्कर्ष नआएसम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको जनाएको छ।
रास्वपाले जारी गरेको विज्ञप्तिमा महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शङ्कास्पद आर्थिक लेनदेनजस्ता विषय सञ्चारमाध्यममा आरोपका रूपमा सार्वजनिक भएको उल्लेख गर्दै ती विषयलाई गम्भीर र संवेदनशील रूपमा लिएको जनाएको छ।
विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताको पक्षमा दृढ रहेको पार्टीले आफ्ना कुनै पनि तहका सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता आरोपलाई सामान्य रूपमा लिन नसकिने स्पष्ट पारेको छ। महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन तथा फौजदारी कसुरसँग सम्बन्धित विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको पनि विज्ञप्तिमा उल्लेख छ।
पार्टीका अनुसार यस विषयमा सत्यतथ्य पत्ता लगाउन केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइसकिएको छ। अनुसन्धान प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्ने उद्देश्यले छानबिनको निष्कर्ष नआएसम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुन भनिएको हो।
रास्वपाले सार्वजनिक भएका विषयको गम्भीरतालाई ध्यानमा राख्दै राज्यका सम्बन्धित निकायबाट अविलम्ब स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गरेको छ। साथै, राज्यका निकायले गर्ने अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ।
‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा पार्टी दृढ रहेको उल्लेख गर्दै रास्वपाले राज्यको स्वतन्त्र अनुसन्धान र पार्टीको आन्तरिक छानबिनबाट प्राप्त निष्कर्षका आधारमा कानुन तथा पार्टी विधानबमोजिम थप कदम चाल्ने जनाएको छ।
कानुन उल्लङ्घन गर्ने वा पदीय आचरणविपरीत कार्य गर्ने जोसुकैलाई राजनीतिक संरक्षण नदिने प्रतिबद्धता व्यक्त गर्दै पार्टीले आरोपको निष्पक्ष छानबिन र कानुनसम्मत प्रक्रियालाई प्राथमिकता दिने स्पष्ट पारेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij