नेपाल सम्वत् ११४६, यंलागाः १४, चर्तुदशी (२३ असोज २०८३, ९ अक्टोबार, २०२६) शुक्रबार, बाँपिझ्याला । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दै गए पनि नयाँ सङ्क्रमण केन्द्र देखिनु र छिमेकी देशमा समेत सङ्क्रमण पुष्टि हुनुले महामारी नियन्त्रणमा चुनौती थपिएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सङ्क्रमण घटेको तथ्याङ्कलाई सावधानीपूर्वक विश्लेषण गर्न आग्रह गरेका छन्।
कङ्गोका स्वास्थ्य अधिकारीका अनुसार अक्टोबर ६ सम्ममा आठ हजार ७२८ जनामा सङ्क्रमण पुष्टि भएको छ भने चार हजार २०५ जनाको मृत्यु भएको छ। मे महिनाको मध्यमा प्रकोप घोषणा भएयता देशका सात प्रान्तका ६४ स्वास्थ्य क्षेत्रमा सङ्क्रमण फैलिएको छ।
अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अधिकारी वेसम मानकोलाका अनुसार पछिल्ला तीन सातामा इटुरी प्रान्तमा सङ्क्रमण २४ प्रतिशत र उत्तरी किभुमा १९ प्रतिशतले घटेको छ। तर, असुरक्षा र स्थानीय समुदायको असहयोगका कारण सङ्क्रमणको निगरानी तथा तथ्याङ्क सङ्कलनमा समस्या देखिएकाले वास्तविक अवस्था सार्वजनिक तथ्याङ्कभन्दा फरक हुन सक्ने अधिकारीहरूले बताएका छन्।
प्रभावित ६४ स्वास्थ्य क्षेत्रमध्ये ४७ वटामा अझै सक्रिय सङ्क्रमण रहेको छ। इबोलाबाट हुने ६० देखि ७० प्रतिशत मृत्यु स्वास्थ्य संस्थाबाहिर हुने गरेको र सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको पहिचानमा समेत कमजोरी रहेको अधिकारीहरूको भनाइ छ।
कङ्गोमा मात्र सीमित नरही छिमेकी देशमा समेत इबोला फैलिने जोखिम बढेको छ। केन्यामा पहिलो पटक बाहिरबाट भित्रिएको इबोला सङ्क्रमण पुष्टि भएपछि क्षेत्रीय स्वास्थ्य जोखिम बढेको हो।
कङ्गोमा बस्दै आएका ४० वर्षीय केन्याली व्यापारीमा सङ्क्रमण पुष्टि भएको थियो। उनी सेप्टेम्बरमा बिरामी परेका थिए भने अक्टोबर ३ मा युगान्डा हुँदै नैरोबी पुगेका थिए। सोमबार उनको मृत्यु भएको थियो।
केन्याका स्वास्थ्य अधिकारीले कम्पालाबाट नैरोबी गएको उडानका यात्रु तथा चालक दलका सदस्यसहित ५५ जनालाई निगरानीमा राखेका छन्। कङ्गो, युगान्डा र केन्याले सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका मानिसको पहिचान तथा निगरानीका लागि सहकार्य गरिरहेका छन्।
डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले सङ्क्रमणको निगरानी र समुदायसँगको सहकार्यमा सुधार भए पनि सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी पर्याप्त हुन नसकेको बताउनुभएको छ। उहाँले केन्याले सङ्क्रमणबारे तत्काल जानकारी गराएकोमा प्रशंसा गर्दै स्वास्थ्यसम्बन्धी सूचना पारदर्शी रूपमा सार्वजनिक गर्ने कार्यलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभएको छ।
स्वास्थ्य निकायहरूले यात्रा प्रतिबन्ध लगाउनुभन्दा स्वास्थ्य परीक्षण, सङ्क्रमितको शीघ्र पहिचान र देशहरूबीच सूचनाको आदानप्रदानलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
बुन्डिबुग्यो प्रजातिको इबोला भाइरसविरुद्ध हालसम्म विशेष खोप वा उपचार स्वीकृत भएको छैन। यस प्रजातिविरुद्ध प्रभावकारी खोप र उपचारको विकासका लागि विभिन्न अनुसन्धान अघि बढिरहेका छन्।
अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको खोपको प्रारम्भिक परीक्षण अक्टोबर ६ मा युगान्डामा सुरु भएको छ। त्यस्तै, मोडर्नाले विकास गरेको अर्को खोपले परीक्षणका लागि नैतिक स्वीकृति पाएको छ।
कङ्गोले जाइर इबोला भाइरसविरुद्ध स्वीकृत एरभेबो खोपको ७० हजार मात्रा प्राप्त गरेको छ। तर, उक्त खोप बुन्डिबुग्यो प्रजातिको भाइरसविरुद्ध प्रभावकारी प्रमाणित भएको छैन।
अक्टोबर ७ सम्ममा सात हजार ७७५ स्वास्थ्यकर्मी तथा अग्रपङ्क्तिमा खटिएका व्यक्तिलाई खोप दिइएको छ। थप ८४८ जनाले अनुसन्धान कार्यक्रमअन्तर्गत खोप पाए पनि आपूर्तिको अभावमा उक्त कार्यक्रम स्थगित भएको छ। प्रयोगात्मक उपचारको परीक्षणमा ६५४ जना सहभागी रहेको जनाइएको छ।
अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार यो प्रकोप अभिलेखमा सबैभन्दा तीव्र गतिमा फैलिएको इबोला प्रकोप हो। यो विश्वकै दोस्रो ठूलो र कङ्गोमा अहिलेसम्मकै ठूलो इबोला प्रकोप भएको जनाइएको छ।
मानवीय सङ्कट, सुरक्षा चुनौती र सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको पहिचानमा देखिएका समस्याका कारण महामारी नियन्त्रणका प्रयासलाई थप प्रभावकारी बनाउनुपर्नेमा स्वास्थ्य अधिकारीहरूले जोड दिएका छन्।
रासस/सिन्ह्वा
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij