Oct 09 2026 | २०८३, आश्विन २३ गते

Oct 09 2026 | २०८३, आश्विन २३ गते

कांग्रेस महाधिवेशन : मतदानको समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान

कांग्रेस महाधिवेशन : मतदानको समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान

नेपाल सम्वत् ११४६, यंलागाः १४, चर्तुदशी (२३ असोज २०८३, ९ अक्टोबार, २०२६) शुक्रबार, बाँपिझ्याला । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको समय दुई घण्टा थप गरिएको छ। दिउँसो ३ बजेसम्मका लागि निर्धारण गरिएको मतदानको समय बढाएर साँझ ५ बजेसम्म कायम गरिएको हो।

मतदान गर्न एक जना महाधिवेशन प्रतिनिधिलाई कम्तीमा आधा घण्टा लाग्ने र मतदान केन्द्रमा प्रतिनिधिहरूको लामो लाइन लागेपछि समय थप गरिएको हो।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले सूचना जारी गर्दै यसअघि दिउँसो ३ बजेसम्मका लागि तोकिएको मतदानको समय बढाएर साँझ ५ बजेसम्म कायम गरिएको जनाएको छ। निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले सूचना जारी गरी समय थप गरिएको जानकारी दिएका हुन्।

बिहान ७ बजेदेखि सुरु भएको मतदानमा महाधिवेशन प्रतिनिधिहरू सहभागी भइरहेका छन्। नयाँ नेतृत्व चयनका लागि देशभरबाट आएका प्रतिनिधिहरूले मतदान गरिरहेका छन्।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि कुल सात हजार ३१७ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्दै छन्। महाधिवेशनबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यसहित विभिन्न पदमा नेतृत्व चयन गरिनेछ।

निर्वाचनमा २३ वटा क्लस्टरमा मतदान गर्नुपर्ने भएकाले प्रक्रिया लामो भएको हो। प्रत्येक प्रतिनिधिले विभिन्न पद तथा समूहका उम्मेदवारलाई मत दिनुपर्ने भएकाले मतदान सम्पन्न गर्न निर्धारित समयभन्दा बढी लाग्ने देखिएपछि समय थप गरिएको निर्वाचन समितिले जनाएको छ।

मतदान सम्पन्न भएपछि मतगणना प्रक्रिया अघि बढाइनेछ। यस महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वले आगामी कार्यकालमा पार्टीको संगठन, नीति तथा राजनीतिक गतिविधिको नेतृत्व गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार