नेपाल सम्वत् ११४६, यंलागाः १२, त्रयोदशी (२२ असोज २०८३, ८ अक्टोबार, २०२६) बिहीबार, बाँपिझ्याला । गत भदौ १० गते आएको विनाशकारी भोटेकोशी–त्रिशूली बाढीको कारण, हिमचट्टान खस्ने प्रक्रिया, त्यसबाट उत्पन्न भूकम्पीय कम्पन, पहिरो सुरु भएको समय र बाढीको वेगबारे वैज्ञानिक अध्ययन गरिएको छ। अध्ययनले भविष्यमा यस्ता प्राकृतिक विपद्को पूर्वानुमान तथा पूर्वसूचना प्रणाली विकास गर्न महत्त्वपूर्ण सहयोग पुग्ने वैज्ञानिक तथा अधिकारीहरूले बताएका छन्।
अध्ययनअनुसार बाढी उत्पन्न हुँदा जमिनमा सिर्जना भएको कम्पन नेपाल र चीनका भूकम्पमापक यन्त्रमा मात्र नभई विश्वका विभिन्न स्थानमा रहेका करिब १९ हजार किलोमिटर टाढाका भूकम्पमापक यन्त्रमा समेत रेकर्ड भएको थियो।
वैज्ञानिक जर्नल ‘सिस्मिका’मा हालै प्रकाशित उक्त अध्ययनको नेतृत्व खानी तथा भूगर्भ विभागका भूकम्पविद् लोकविजय अधिकारी र शिव सुवेदीले गरेका हुन्। अध्ययनले हिमचट्टान खस्नुअघिका गतिविधि, त्यसको तौल, उत्पन्न भूकम्पीय तरङ्ग, पहिरो सुरु भएको समय तथा बाढीको गतिलगायतका विषयमा विश्लेषण गरेको छ।
अध्ययनमा नेपालसहित सात देशका १७ जना वैज्ञानिक सहभागी भएका थिए। अध्ययनका क्रममा नेपाल र चीनमा रहेका भूकम्पमापक यन्त्रबाट प्राप्त तथ्याङ्क तथा रसुवामा जडान गरिएको सीसीटीभी क्यामेराको दृश्य सामग्रीको अध्ययन र विश्लेषण गरिएको अध्ययनका नेतृत्वकर्ता अधिकारीले बताएका छन्।
भदौ १० गतेदेखि सुरु गरिएको अध्ययन भदौ २० गते वैज्ञानिक जर्नल ‘सिस्मिका’मा प्रकाशनका लागि पठाइएको थियो। त्यसको पाँच दिनपछि अध्ययन प्रतिवेदन प्रकाशित भएको जनाइएको छ।
वैज्ञानिकहरूका अनुसार यस अध्ययनबाट प्राप्त तथ्याङ्कले भविष्यमा हिमचट्टान खस्ने, पहिरो जाने तथा त्यसबाट बाढी उत्पन्न हुने घटनाको पहिचान र विश्लेषण गर्न सहयोग पुर्याउन सक्छ। विशेषगरी भूकम्पीय तरङ्गको विश्लेषणमा आधारित पूर्वसूचना प्रणाली विकास गर्न अध्ययन उपयोगी हुने अपेक्षा गरिएको छ।
भोटेकोशी–त्रिशूली बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो। उक्त घटनामा एक हजार चार सयभन्दा बढी मानिसको मृत्यु पुष्टि भएको र पाँच हजारभन्दा बढी बेपत्ता भएको विवरण सार्वजनिक भएको छ।
यस घटनाको वैज्ञानिक अध्ययनले विपद्का प्रारम्भिक सङ्केत पहिचान गर्ने, जोखिमको आकलन गर्ने र सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरणका लागि समयमै पूर्वतयारी अपनाउने उपाय विकास गर्न महत्त्वपूर्ण आधार प्रदान गर्ने विश्वास गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij