Oct 08 2026 | २०८३, आश्विन २२ गते

Oct 08 2026 | २०८३, आश्विन २२ गते

शुक्रबारसम्म वर्षा हुने, शनिबारदेखि मौसममा सुधार आउने

शुक्रबारसम्म वर्षा हुने, शनिबारदेखि मौसममा सुधार आउने

नेपाल सम्वत् ११४६, यंलागाः ११, नवमी (२१ असोज २०८३, ७ अक्टोबार, २०२६) बुधबार, बाँपिझ्याला । नेपालमा आगामी शुक्रबारसम्म वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार शनिबारदेखि भने मौसममा क्रमिक सुधार आउनेछ।

विभागका अनुसार बुधबार देशका विभिन्न भूभागमा वर्षा भइरहेको छ। पछिल्लो समय चितवन, काठमाडौं, नवलपुर, तनहुँ र गोरखालगायत क्षेत्रमा पानी परेको छ। सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका सुर्खेत, बर्दिया, बैतडी, डोटी, डडेल्धुरा तथा कैलाली आसपासमा पनि मध्यम वर्षा भएको विभागले जनाएको छ।

चितवनको गोविन्दबस्ती र धनगढी विमानस्थल आसपासमा अन्य क्षेत्रको तुलनामा बढी वर्षा मापन गरिएको छ। पछिल्लो २४ घण्टामा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ भने गण्डकी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा भएको छ।

बुधबार देशका पहाडी तथा हिमाली भूभागमा तुलनात्मक रूपमा बढी वर्षा हुने अनुमान गरिएको छ। मधेस र कोशी प्रदेशसहित तराईका केही क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई भूभाग तथा कोशीका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने र केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।

बिहीबार भने बुधबारको तुलनामा वर्षा केही कम हुने विभागको अनुमान छ। पूर्वी पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भए पनि पश्चिमी तथा तराई क्षेत्रमा वर्षाको मात्रा घट्नेछ। शुक्रबार पूर्वी क्षेत्र र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेको छ भने अन्य क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ।

विभागले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पहेँलो रङको चेतावनी जारी गरेको छ। कोशी र मधेस प्रदेशमा भने वर्षाको सामान्य प्रभाव मात्र पर्ने देखिएको छ।

अहिले धान भित्र्याउने समय भएकाले किसानलाई मौसमको पछिल्लो सूचना लिएर मात्र कृषि कार्य गर्न विभागले आग्रह गरेको छ। मौसमविद् रोजन लामिछानेले आगामी तीन दिनसम्म वर्षाको सम्भावना रहेकाले धान काट्ने तथा भित्र्याउने कार्यमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार